समाजवादी–राजपा एकता : आन्तरिक किचलोले ढिलाइ

कुलचन्द्र न्यौपाने

काठमाडौँ — वैचारिक र सांगठनिक मुद्दाबारे टुंगो लागे पनि राजपाले निर्णय लिन नसक्दा एकतामा ढिलाइ भएको निष्कर्ष समाजवादी पार्टीले निकालेको छ । बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।


राजपाले भने निरन्तर छलफल जारी रहेको र कुनै पनि विषय टुंगो नलागेको दाबी गरेको छ । समाजवादीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक र सांगठिनक सवालमा टुंगो लगाउनुपर्ने विषय बाँकी नरहेको धारणा बैठकमा राखेका थिए । ‘सबै कुरामा धेरै अघिदेखि निरन्तर छलफल चल्दै आएको हो, टुंगो लगाउनुपर्ने विषय बाँकी छैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘राजपाले निर्णय लिनासाथ एकीकरण हुन्छ ।’

राजपा नेतृत्वमा ६ जना रहेकाले पनि निर्णय लिन समस्या परेको बुझाइ समाजवादीका नेताहरूको छ । महाधिवेशनअघि एकीकरण गर्ने/नगर्ने भन्ने विषयमा राजपाभित्र विवाद छ । अध्यक्षमण्डलका ६ नेतामा वर्तमान संयोजक राजकिशोर यादव र अनिल झा महाधिवेशनपछि मात्रै एकीकरण गर्ने पक्षमा छन् । महाधिवेशन आगामी कात्तिक अन्तिम साताका लागि तोकिएको छ ।

एकताको विषयमा छलफल गराउन संयोजक यादवले अध्यक्षमण्डलसँग परामर्श नगरी शुक्रबारका लागि राजनीतिक समितिको बैठक बोलाएपछि राजपाभित्र विवाद चुलिएको छ । तत्काल एकीकरणको पक्षमा नरहेका यादव र झालाई वार्ता प्रक्रियामा समेत सहभागी गराइएको छैन । गत शुक्रबार समाजवादी अध्यक्ष यादवको निवासमा भएको वार्तामा पनि उनीहरूलाई बोलाइन ।

एकीकरणका लागि राजपाले १५ बुँदे आधार प्रस्ताव राख्दासमेत उनीहरूलाई जानकारी दिइएको छैन । राजपाको आधार प्रस्तावमा सांगठनिक संरचनामा समान हैसियत हुनुपर्ने र केन्द्रीय समितिको पहिलो मर्यादामा महन्थ ठाकुरलाई राख्नुपर्ने उल्लेछ । संरचनामा बराबरी हैसियत दिन समाजवादी तयार देखिएको छ । नेतृत्वको सवाल भने टुंगो लगाउन बाँकी रहेको स्रोतले बतायो ।

ठाकुरलाई वरिष्ठ नेता मान्न तयार भए पनि कार्यकारिणी नेतृत्व दिन समाजवादीले मानिसकेको छैन । राजनीतिक मुद्दाको टुंगो महाधिवेशनबाट लगाउन दुवै पार्टी सहमत देखिएका छन् । समाजवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको राजनीतिक एजेन्डामा अडान लिएको छ ।

राजपा अहिलेकै संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणालीको पक्षमा छ । संघीयताका सवालमा दुवैको समान धारणा छ । राजनीतिक मुद्दालाई कार्यकारिणी तहको बैठकबाट समेत टुंगो लगाउन सकिने विकल्प समाजवादीले दिएको छ ।

राजपाले पार्टीको नाम राष्ट्रिय समाजवादी जनता पार्टी या समाजवादी जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव गरेको थियो । समाजवादीले ‘समाजवादी पार्टी’ मै सहमति खोज्ने नभए ‘राष्ट्रिय समाजवादी पार्टी’ मा लचिलो बन्ने संकेत दिएको छ । राजपाको चुनाव चिह्न र समाजवादीको झन्डामा सहमतिजस्तै छ ।

सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा पेचिलो छ । राजपाले एकीकरणअघि समाजवादीले सरकार छाड्नुपर्ने सर्त राखेको छ । सरकारको विषयमा समाजवादीभित्रै पनि दुई धार छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारबाट बाहिरिन जोड दिँदै आएका छन्, अध्यक्ष यादव तत्काल बाहिरिने पक्षमा छैनन् । समाजवादी सरकारमा रहँदा दुई तिहाइ पुग्ने र संविधान संशोधनमा सहज हुने बुझाइ उनको छ ।

राजपा अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले महाधिवेशनअघि एकीकरण गर्नुपर्छ भन्नेमा दुवै पक्ष तयार भए पनि राजनीतिक र सांगठनिक विषय टुंगो नलागेको बताए । ‘अहिले कुनै पनि डकुमेन्ट आदानप्रदान र मुद्दाहरूमा औपचारिक छलफल भएको छैन,’ उनले भने, ‘एकता गर्नुपर्छ र वैकल्पिक शक्ति बनाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छौं ।’

प्रकाशित : भाद्र १२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

कजरी तीज

पहाडी समुदायमा माइत जाने पर्वका रूपमा लिइने तीज मधेसमा भने गौनापछि पतिको घर जाने आशा र विश्वाससहित व्रत बस्ने गरिन्छ 
मधु शाही

बाँके — तीजको चहलपहल बढदो छ । यस्तो रमझमका बेला जानकी गाउँपालिका ६ की पल्लु लौनियारलाई बिहेको पहिलो वर्ष याद आइरहेको छ । त्यतिबेला उनले पतिको मुखै देखिनन् । घुम्टो ओढेर बिहे गरिन् । पतिले माइतीमा छोडिदिए ।

‘गौना’ परम्परा पूरा गरेपछि लिन आउने आशमा उनले प्रतीक्षाका धेरै पल बिताइन् । त्यस वर्ष कजरी तीज पर्‍यो । श्रीमान् आएर माइतीबाट घरमा लैजाने विश्वासमा उनी कजरी तीजमा निर्जल व्रत बसिन् । ‘पतिका रस्ता देखते देखते आँख भर गइथी,’ उनले विगत सम्झिँदै भनिन्, ‘व्रत बेठी पर, दो साल वाद लेने आए ।’

अहिलेहिन्दु महिलाले मनाउँदै आएको हरितालिका होस् या कजरी तीज । दुवै पर्वसित नारीका वेदना जोडिन्छ । मनाउने शैली, परम्परा र संस्कृति भने भूगोल र समुदायअनुसार फरक पाइन्छ । पहाडिया समुदायका महिलाले माइत जान रुचि राख्ने पर्वका रूपमा लिइने तीज मधेसमा भने पतिको घर बस्न जाने आशा र विश्वाससहित व्रत बस्ने गरेको लौनियारले सुनाइन् । तीजमा माइत जानुपर्छ भन्ने मान्यता उनीहरू राख्दैनन् । बरू घरमै श्रीमान्का साथमै राखेर पूजा गर्नेचाहना राख्छन् ।

फुलटेक्रा ७ की ६० वर्षीया आरती प्रजापतीले कजरी महिलाले विरह पोख्ने पर्व भएको बताइन् । १३ वर्षको उमेरमा बिहे गरेकी उनलाई माइतमा बस्नुपर्दा गहिरो पीडा थियो । पतिको घरबाट लिन आउँछु भन्दाभन्दै पाँच वर्ष लगाए । घरमा काम गर्न सक्दिन भनेर लिन नआएको उनले बताइन् । उनका अनुसार त्यसबेला आमाले तीजमा भोकै राखेकी थिइन् । बिहेको दिन लुगामा सिन्दुर परेको थियो । त्यही लुगा लगाएर व्रत बस्ने गरेको उनले सुनाइन् । ‘अचेल देखासिकी गर्न थाले,’ उनले भनिन् । उमेरले पाको बनेपछि उनी अब व्रत बस्न नसकेपछि तिनै पुराना साडी हेरेर विगत सम्झिने गरेकी छन् ।

पिप्रहवा ६ की ३० वर्षीया लाजमती लौनियारको तीजमा व्रत बस्ने तरिका बेग्लै छ । दर खाने दिन उनी दही र केरा खान्छिन् । भोलिपल्ट दिनभरि व्रत बस्छिन् । मधेसी समुदायमा तीजका बेला नाचगान गर्न सजिलो छैन । खुला समाज नहुँदा नाच्न नपाइने उनले बताइन् ।

पछिल्लो समय भने पहाडिया दिदीबहिनीले तीज गीतमा सामूहिक नाच्ने संस्कृतिको प्रभाव बढदै गएपछि नाच हेर्न जाने आँट पलाउन थालेको उनले सुनाइन् । ‘नाच्न पाइँदैन, हेर्न भने लुकेर जान्छौं,’ उनी भन्छिन्, ‘व्रत बसेको दिन सुत्नु हुँदैन भन्ने परम्परागत मान्यता छ ।’ उनका अनुसार पनि कजरी तीजमा मधेसका महिला माइत जानैपर्ने ठान्दैनन् ।

घरमै बसेर व्रत बस्ने गर्छन् । धेरै विवाहित महिला श्रीमान् लिन आउने गौनाको पर्खाइमा हुने गरेको लाजमतीले सुनाइन् । ‘मधेसी समुदायमा गौना नहुँदा विवाहित छोरी माइतीमै बस्नुपर्ने पुर्ख्यौर्ली चलन थियो,’ उनले भनिन्, ‘आमाले त्यसैको वेदना भुलाउन कजरी तीज बसेको भन्नुहुन्थ्यो ।’

संस्कृतिविद् एवं अवधी संस्कृति प्रतिष्ठानका अध्यक्ष विष्णु कुमालका अनुसार तीज पर्व नारी चेतना, संवेदना, संस्कृति र अध्यात्मसँग जोडिएको छ । मधेसी समुदायमा परम्परादेखि कजरी तीज मनाउँदै आए पनि यसको चर्चा धेरै भएको पाइँदैन । उनका अनुसार हल्ला गरेर पर्व मनाउँदैनन् । एकै दिन तीज मनाउँछन् । नजिकैको शिव मन्दिरमा पुग्छन् र पूजाआजा गर्छन् ।

तडकभडकदेखि टाढा हुने भएकाले कजरी तीज ओझेलमा पर्दै गएको उनले सुनाए । ‘व्रतले मान्छेलाई आध्यात्मिक बनाउँछ,’ उनले भने, ‘तर, अहिले तीज पर्व आध्यात्मिकभन्दा फेसनतिर बढी ढल्किँदै गएको छ ।’ भारतको राजस्थान कजरीको उद्गम थलो भएको कुमालले बताए । उनका अनुसार राजस्थानमा यो तीज धुमधामका साथ मनाउने गरिन्छ । त्यहाँबाट महारानी, रानीहरू नेपाल आए । उनीहरूले यहाँ पनि त्यही संस्कृति भित्र्याए । कुमालका अनुसार मधेसी समाजमा भदौ महिनालाई विरहको महिनासमेत भन्ने गरिन्छ । गीत नै गाइन्छ–
‘अरी बेहना अखिया हे प्यारी प्यासी
मन वा मा पुरण मासि
अज हु ना आए
मेरे वालमा...।

वियोगमा परेका महिलाले यस्तै गीत गाएर पीडा पोख्ने परम्परागत पर्व कजरी तीज भएको उनले बताए ।

फेरिँदै शैली
नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य रमा रानी वैश्यले मधेसी समुदायमा तीजको अर्थ कम खर्चमा बढी आध्यात्मिक बन्ने रहेको बताइन् । पछिल्लो समय टिकट काटेर तीज मनाउने प्रवृत्तिप्रति उनी खिन्न छन् । ‘कतिपय तीजे कार्यक्रममा जाँदै जान्नँ,’ उनले भनिन्, ‘भडकलो र खर्चिलो पर्व दीर्घायु हुँदैन ।’

गरहगना र शृंगारका सामानमा मात्रै लगानी गर्ने सोचले महिलाको आर्थिक उन्नति नहुने उनले बताइन् । ‘मेरी आमाले तीज भनेर कहिल्यै साडी किन्नुभएन, न त गहना,’ उनले भनिन्, ‘त्यो संस्कारबाट आएकी मलाई अहिले नयाँ लुगाबिना तीज मनाउन लाज लाग्ने भइसक्यो ।’

त्यस्तै, उद्यमी सरिता गुप्ता पहाडिया मूलकी हुन् । उनले मधेसी समुदायमा बिहे गरेर आएपछि कजरी तीजको अर्थ र मर्म बुझेको बताइन् । ‘मधेसका महिला व्रतमा एकचित्त भएर लाग्छन्,’ उनले भनिन्, ‘महिनौं तीज मनाउने विकृतिबाट उनीहरू टाढै छन् ।’

प्रकाशित : भाद्र १२, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्