कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा रोजगारीसँगै असुरक्षा बढ्दो

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नयाँदिल्लीको शखरपुरमा नौ वर्षीया नेपाली बालिका लक्ष्मी (लछु) चँदराको बलात्कार प्रयासपछि हत्या भयो । प्रहरीले हत्या आरोपमा ती बालिका बस्दै आएको पेइङ गेस्ट हाउस (पीजी) का सञ्चालक वसिम अहमद (सोनु) लाई पक्राउ गरेको छ ।

दिल्लीमा रोजगारीसँगै असुरक्षा बढ्दो

नौ महिनादेखि भने चँदरा परिवार लक्ष्मीनगर छेउको शकरपुरको एउटा पेइङ गेस्ट हाउस (पीजी) को भुइँतलाको कोठामा बस्दै आएको थियो । लछुका बुबा देव त्यही गेस्ट हाउसको सरसफाइदेखि चौकीदारी गर्दै आएका थिए । श्रीमती डल्ली पनि होस्टलमा बस्ने विद्यार्थीका लागि खाना पकाउने काम गर्ने गर्थिन् ।

घरमा कोही नभएको मौका छोपेर सोनुले बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको प्रहरीले जनाएको छ । बाजुरा, वाणगंगा–१ का देव चँदरा रोजगारीका लागि पहिलो पटक सन् १९९६ मा भारत छिरेका थिए । त्यसयता भारतका उत्तरप्रदेश, हिमाचलदेखि विभिन्न ठाउँ पुगे । विगत चार वर्षदेखि भने उनी परिवारसहित दिल्लीमा बस्दै आएका थिए ।

त्यसैगरी, ३० जुनमा बाबुआमासँग दिल्लीको छतरपुरमा बस्दै आएकी सुदूरपश्चिमको डोटीकी १४ वर्षीया रिता (नाम परिवर्तन) घरधनी पंकजबाटै बलात्कृत भइन् । घटनाको दिन किशोरीकी आमा बिरामी थिइन् । उनले आफ्नो साटो छोरीलाई घरधनीकामा सरसफाइ गर्न पठाएकी थिइन ।

अरू दिन भने आमाछोरी सँगै जाने गर्थे । बुबा भने सधैंजसो गाडी सरसफाइ गर्न गएका थिए । काम सकेर फर्कंदै गर्दा दिउँसो करिब एक बजे पंकजले रितालाई केही काम पर्‍यो भनेर बोलाएर बलात्कार गरे । पीडक पंकज अहिले प्रहरी हिरासतमा छन् ।

यी घटनाले दिल्लीलगायत ठाउँमा रोजगारीका लागि बस्दै आएका नेपाली परिवारका चेलीबेटी असुरक्षित बन्दै गएको देखाउँछ । गाउँघरमा रोजगारी नहुँदा अभिभावकहरू भारतका विभिन्न सहरमा आउने गर्छन् । उनीहरूकै पछि लागेर साना बालिका तथा किशोरी आउने गरेका छन् । पछि उनीहरूलाई पनि घरायसी काममा लगाउने गरिएको छ ।

यसरी काममा लगाउँदा उनीहरूमााथि हुन सक्ने सम्भावित हिंसाको ख्याल गरिएको हुँदैन । यसले शुकरपुर र छतरपुरका घटना निम्तिने गरेका छन् । गाउँघरमा रोजगारी नहुँदा बाध्यताले भारत छिरेको चँदरा परिवारले यस्तो अकल्पनीय पीडा बेहोरेको हो तर आफ्ना छोराछोरीलाई आफूसँगै ल्याउनुपर्ने बाध्यता रहेको पीडित अभिभावकको भनाइ छ । ‘पहाडमा खाना पनि कम । लुगाफाटो पनि महँगो छ । पढेलेखेका छैनौं अनि विदेश आएर भए पनि रोटी त खानै पर्‍यो । घर, जमिन भएर मात्र के गर्नु,’ उनले कान्तिपुरसँग भने ।

रिताको परिवारको गाथा पनि यस्तै छ । उता गाउँमा दैनिक गर्जो टार्न पनि हम्मे परेपछि रिताका बुबाले पनि एक वर्षअघि पूरै परिवारलाई दिल्ली ल्याए । बुबा त १५ वर्षदेखि नै भारतका विभिन्न सहरमा काम गर्दै आएका थिए । उक्त घटनापछि आफूले असुरक्षित महसुस गरेको भन्दै परिवारलाई चाँडै गाउँमै पुर्‍याउने रिताका बुबाले भने, ‘नसोचेको आपत् आइपर्‍यो । बरु जेनतेन टारुँला । सबैलाई घर छाडेर आउँछु, गाउँमा गरिखान नभएपछि यता लागेँ, परिवारलाई त्यत्तिकै छाड्नुभन्दा यता ल्याए सजिलो हुन्छ भन्ने ठानेको थिएँ तर यहाँ त झनै विपद् आइपुग्यो ।’

पूर्व अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्का पनि एउटा घटनाको कारबाही पूरा नहुँदै अर्को घटना हुनु दुःखद् भएको बताए । आर्थिक स्थिति कमजोर भएका कारण नेपाली पैसा जोगाउन सस्तो ठाउँ खोज्दै असुरक्षित ठाउँमा बस्न बाध्य भएका कारण पनि समस्या निम्तिने गरेको उनको भनाइ छ । ‘भाडा कम तिर्न वा सित्तैमा बस्नका लागि असुरक्षित ठाउँमा पुग्दा चेलीबेटीमाथि अपराधीको नजर पर्ने जोखिम रहन्छ, त्यसतर्फ पनि सचेत हुनु आवश्यक छ,’ खड्काले भने ।

रोजगारीका लागि भारत आएका नेपालीको सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने उनले बताए । यस्ता घटना दोहोरिन नदिन दिल्ली र अन्य सहरमा घरेलु कामदारका रूपमा कार्यरत नेपालीको अभिलेख राख्न प्रवासमा रहेका नेपालीले विगत लामो समयदेखि माग गर्दै आएका छन् तर त्यसतर्फ दूतावासले अहिलेसम्म पनि कुनै पहल गरेको पाइँदैन ।

दूतावासले घटना भएपछि मात्र सामान्य चासो देखाउने गरेको उनीहरूको भनाइ छ । ‘नेपाली समुदायको संख्या कति छ ? उनीहरू कस्तो अवस्थामा छन् भन्ने कुनै खबर छैन दूतावासलाई,’ खड्काले गुनासो गरे । दूतावासका प्रवक्ता हरि ओडारीले भने नेपालीको संख्याका बारेमा जानकार नभए पनि कुनै घटना हुनासाथ तत्काल आवश्यक सहयोगका लागि पहल हुँदै आएको बताए । उनले भने, ‘कुनै पनि घटना हुनासाथ स्थानीय प्रहरीसँगको समन्वयमा आवश्यक सहयोग गर्दै आएका छौं ।’

त्यसो त बालिका, किशोरी तथा महिलाका लागि भारतका अन्य सहरको तुलनामा दिल्ली बढी नै असुरक्षित मानिन्छ । केही महिनाअघि मात्र दिल्लीमा दैनिक औसतमा पाँच जना महिला बलात्कारको सिकार हुने गरेको तथ्यांक सार्वजनिक भएको थियो । दिल्लीमा रोजगारीका लागि मात्र होइन, घुम्न आएका नेपाली युवतीसमेत यौनजन्य हिंसाको सिकार भएको पाइन्छ ।

गत १२ मेमा भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको थियो । ती महिला मुम्बईमा रहेका आफ्ना दाजुलाई भेटन भन्दै ९ मेमा चितवनबाट नयाँदिल्ली आइपुगेकी थिइन् । दिल्ली पुगेपछि उनले मुम्बई जाने बस सोधपुछ गर्न थालिन् । त्यही क्रममा एक जनाले दिल्लीको द्वारकाबाट जान्छ भनेर उनलाई त्यहाा पुर्‍याएका थिए । त्यसपछि नजिकैको कोठामा लगेर उनीमाथि सामूहिक बलात्कार गरिएको थियो ।

त्यसको दुई दिनपछि मुम्बई पुगेकी ती महिलाले आफ्ना दाजुसँग सबै कुरा बताएपछि सामूहिक बलात्कारको घटना बाहिर आएको हो । यसअघि सन् २०१३ मा पनि दिल्लीमै अर्की एक नेपाली महिलाको सामूहिक बलात्कार भएको थियो । दिल्लीको साउथ एक्सटेन्सन नजिकबाट अपहरित ती महिलालाई तीन जना व्यक्तिले सामूहिक बलात्कारपछि नजिकैको फ्लाइओभरमा छाडेका थिए ।

प्रकाशित : भाद्र १२, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?