कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमा पनि डेंगु व्यापक

नयाँबजार, खुसिबु, स्वयम्भू, डल्लु, सानेपा, सुकेधारा, असन, टेकु, सूर्यविनायक, भोटेबहाल, बानेश्वर, त्रिपुरेश्वर, ताहाचललगायत स्थानमा बढी संक्रमण
अतुल मिश्र

काठमाडौँ — देशव्यापी हुँदै गएको डेंगु संक्रमण राजधानी उपत्यकामा पनि तीव्र देखिएको छ । यसपटकको संक्रमण विगत वर्षको भन्दा कडा रहेको चिकित्सकले औंल्याएका छन् । 

राजधानीमा पनि डेंगु व्यापक

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार दिउँसो २२ जना संक्रमित भर्ना थिए । त्यस्तै बहिरंग विभागमा शंकास्पद ८५ बिरामी परीक्षणका लागि पालो पर्खेर बसिरहेका थिए । भर्ना हुनेहरू २० देखि ५० वर्ष उमेरका छन् । संक्रमितमा पुरुषभन्दा महिला बढी छन् ।

अस्पतालका अनुसार बुधबार सबैभन्दा बढी खुसिबु क्षेत्रबाट बिरामी आएका थिए । केही घरका परिवारै संक्रमित पाइएका छन् भने ती घरमा काम गर्न आएकाहरूमा समेत डेंगु देखिएको छ । ‘इतिहासमा डेंगुको यस्तो प्रकोप राजधानीमा कहिल्यै देखिएको थिएन, यो वर्ष अत्यन्त कडा रूपमा आएको छ, हामीले करिब ८५ जना शंकास्पद बिरामी हेरिसकेका छौं,’ डा. शेरबहादुर पुनले भने ।

बिरामीमा टाउको, आँखाको गेडी, जोर्नी, जीउ दुख्ने, चिलाएपछि शरीरमा हल्का स–साना रातो बिमिरा देखिने, वाकवाकी, पेट दुखाइजस्ता लक्षण देखिएका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल अस्पताल, नेपाल मेडिसिटी, नर्भिक इन्टरनेसनल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा पनि डेंगुका बिरामी उपचार गराइरहेका छन् ।

टेकु अस्पताल पुगेका खुसिबु क्षेत्रका एक बिरामीले भने, ‘हाम्रो घर छेउछाउ पोहर त्यति लामखुट्टे थिएन, यसपटक एक्कासि धेरै, दिउँसै टोक्ने लामखुट्टे देखिएको छ ।’ डेंगु भाइरस मुख्य रूपमा पोथी एडिस एजिप्टाई लामखुट्टे र केही हदसम्म एल्बोपिक्टसले फैलाउँछ ।

महाशाखाको डिजिज कन्ट्रोल सेक्सनका प्रमुख घनश्याम पोखरेलका अनुसार यी लामखुट्टे अहिले राजधानीमा व्यापक छन् । दिउँसो टोक्ने यही लामखुट्टेले चिकनगुनिया, यलो फिभर, जिका संक्रमणसमेत फैलाउँछ । साउनयता राजधानीमा डेंगुका प्रयोगशाला प्रमाणित १७ वटा केस देखिएको सरकारी तथ्यांक छ । तर वास्तविकता अझै बढी रहेको विज्ञहरू दाबी गर्छन् ।

‘टेस्ट किट कम भएकाले ज्वरो आएका सबैको परीक्षण गरिँदैन, प्लेटलेट्स १ लाखभन्दा तल आए मात्र परीक्षण गरिन्छ, एउटा परिवारमा सबैलाई ज्वरो आए एक जनाको मात्र डेंगु परीक्षण गरिन्छ,’ टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने । देशव्यापी रूपमै डेंगु संक्रमण सरकारी तथ्यांकभन्दा धेरै गुणा बढी हुन सक्ने उनको भनाइ छ ।

पाण्डेका अनुसार मुलुकमा डेंगुका चार प्रकार अर्थात् ‘डेन–१’, ‘डेन–२’, ‘डेन–३’ र ‘डेन–४’ मध्ये कडा मानिने ‘डेन–२’ बढी देखिएको छ । ‘राजधानीमा देखिएको डेंगुको सेरो टाइपिङ नगरिएकाले यो डेन–२ नै हो भनी किटान गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘हाल यसका लागि नमुना छुट्याएर राखिएको छ ।’

महाशाखाको तथ्यांकमा यस वर्ष उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा डेगु संक्रमण देखिएको छ । उपत्यकामा नयाँबजार खुसिबु, स्वयम्भू, डल्लु, सानेपा, सुकेधारा, असन, टेकु, सूर्यविनायक, लोकन्थली, भोटेबहाल, बानेश्वर, तीनकुने, त्रिपुरेश्वर, ग्रान्डी इन्टरनेसनल हस्पिटलछेउछाउ, न्युरोड, ताहाचललगायत ठाउँबाट संक्रमित आएका छन् ।

शुक्रराज अस्पतालका २ जना हेल्थ असिस्टेन्ट र बहिरंग विभागका १ कर्मचारीलाई समेत डेंगु देखिएकामा हाल थप एक स्वास्थ्यकर्मी संक्रमित भेटिएका छन् । ‘छेउछाउको व्यक्तिलाई संक्रमणबाट जोगाउन डेंगु बिरामीलाई अस्पतालमा समेत झुलभित्र राखेर उपचार गर्न आवश्यक छ,’ डा. पुनले भने । उपचार प्रक्रियाकै क्रममा अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण भएको हुन सक्ने उनले बताए ।

पुनका अनुसार राजधानीमा डेंगु नियन्त्रण गर्न बाहिरजस्तो सजिलो छैन । यहाँ गमला, फ्रिज, खाल्टाखुल्टी, टायर, प्लास्टिकका बोतल–बट्टा बाहिरको दाँजोमा धेरै बढी छन् । पानी संकट हुने भएकाले भाँडोमा जम्मा गरेर राख्नुपर्ने समस्या छ । यिनै ठाउँमा यो लामखुट्टे बस्ने र फुल पार्ने गर्छ ।

ललितपुरमा नियन्त्रण अभियान

देशभर डेंगुका बिरामी बढेसँगै ललितपुर महानगरपालिकाले नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संक्रमणको बढदो दरले जनस्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गर्ने निर्णय महानगरको कार्यपालिका बैठकले गरेको हो ।

प्रकाशित : भाद्र १२, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?