अध्यक्ष दाहालद्वारा नेताहरुसँग परामर्श

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र पेश भएको विधेयकहरुमा पार्टीका सांसदहरुको एकमत बनाउनका लागि नेताहरुसँग छलफल सुरु गरेका छन् । पछिल्लो समय  समितिमा आएका विधेयकहरुमा नेकपाकै सांसदहरुका मत बाझिने र कतिपय विधेयक निश्कर्षमै नपुगी प्रतिवेदन बनाउने अवस्था आएपछि नेकपा नेताहरुले त्यसको समिक्षा गर्न थालेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहालले बुधबार संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसँग खुमलटारमा भेटेका थिए ।

‘विधेयकको औपचारिक छलफल त संसदभित्र नै हुन्छ तर पार्टीभित्र साईड बाई साइड अनौचपारिक छलफल पनि हुन्छ, त्यसकै लागि अनौपचारिक कुराकानी भएको हो’ प्रमुख सचेतक देव गुरुङले भने । अहिले संसदभित्र भूमिसम्बन्धि विधेयक आएको छ । यो विधेयकमा कतिपय प्रावधानमा सांसदहरुले आ–आफ्नो तरिकाले बोलेका छन् । यसअघि गुठी विधेयक आउँदा पनि नेकपाका सांसदहरुको मत बाझिएको थियो ।

संघीय निजामति विधेयकमा पनि सांसदहरुको धारणा समितिमा फरक फरक थियो । त्यसैले संसदभित्रका गतिविधिलाई अझै प्रभावकारी बनाउने र सबैलाई पार्टीको एकैप्रकारको गाइडलाइनअनुसार चलाउनका लागि दाहालले नेताहरुसँग परामर्श गरेका हुन्।

प्रकाशित : भाद्र ११, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

पाँच दिपङ्कर बुद्धको नगर परिक्रमा [तस्बिरहरु]

लीला श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व पञ्जरां पर्व (पञ्चदान)को अवसरमा पाँच दिपङ्कर बुद्धलाई नगरपरिक्रममा गराइएको छ । भाद्र कृष्ण त्रयोदशीका दिन बुधबार भक्तपुरका बौद्ध धर्मावलम्बीले पाँच दिपङ्कर बुद्धको नगरपरिक्रमा गराई भव्यताका साथ पञ्जरां पर्व मनाए ।

पञ्जरां पर्वमा भक्तपुरका पाँच बिहारबाट निकालिएको दिपङ्करलाई दिनभर नगरको करिब ६४ स्थानका साथै बौद्ध बिहारहरूमा परिक्रमा गराई मनाउने प्रचलन छ ।

दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुर नगरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोठाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कथुबही महाविहारबाट निकाली बुधबार बिहानैदेखि नगरको परिक्रमा गराएको स्थानीय देवचन्द्र बज्राचार्यले बताए ।

पञ्जरां पर्वमा पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएको काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, सुन, कपडा, सुपारी, पैसा आदि गच्छे अनुसार दान गर्ने परम्परा छ । पञ्जरां मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यसदिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गर्ने प्रचलन रहेको स्थानीयबासिन्दा बताउँछन् ।

पूजामा धुप, दीप, गन्ध, र रस, भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाटि, केराउ, मास, पिंडालु, मुला, पेय पदार्थमा सख्खर पानी (सखत), सिसाफल, (फलफूल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक, दतिवन आदी दान गर्ने परम्परा रहेको बज्राचार्य बताउँछन् ।

बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिका, वृद्धवृद्धाले पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरि भिक्षा ग्रहण गर्ने परम्परा छ ।परम्परागत गुंला धां: बाजा, दाफा भजन, श्रृङ्गभेरी बाजा बजाएर नगर परिक्रमा गर्ने बौद्ध विद्धान पुष्परत्न शाक्यले बताए । बौद्ध धर्मावलम्बीले यसदिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने उनी बताउँछन् । पञ्जरां पर्व विशेषगरी शाक्य र बज्राचार्यहरूले मनाउने गरिन्छ ।

भाद्र कृष्ण त्रयोदशीका दिन यो पञ्जरां पर्व काठमाडौं, साँखु, भक्तपुर, मध्यपुर थिमि, बनेपा, पनौतीलगायत स्थानहरूमा मनाइन्छ । पाटनमा भने पञ्जरां पर्व प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन मनाइने बौद्वविद्वान शाक्यले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्