कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढाइ शिविरले विद्यार्थी मेधावी

राजकुमार कार्की

सिन्धुली — गोलन्जोर गाउँपालिका ६ देउरालीटारकी लक्ष्मी श्रेष्ठ साँवा अक्षर पढ्न नजान्ने ९ वर्षीय नाति मिलनमा आएको परिवर्तन देखेर फुरुङ्ग छिन् । कक्षा ३ मा अध्ययनरत नाति यतिखेर नेपाली अक्षर फरर पढ्छन र लेख्छन् ।

पढाइ शिविरले विद्यार्थी मेधावी

‘पहिला पढ्नै जान्दैनथ्यो,’ लक्ष्मीले भनिन् । अर्की अभिभावक केशरीमाया श्रेष्ठ समेत आफ्नी छोरी मनीषाले गरेको प्रगति देखेर मख्ख छिन् । भन्छिन्, ‘क देखि ज्ञ सम्म भन्न पनि आउँदैनथ्यो, अहिले लेख्न, पढ्न जान्ने भएकी छ ।’

शैक्षिक गुणस्तर सुधार्न सामुदायिक विद्यालयमा पढाइ शिविर सञ्चालन भएपछि आधारभूत तहका विद्यार्थीको लेखपढमा सुधार आएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएपछि शिक्षा सुधार गर्न कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि पढाइ शिविर सञ्चालनमा ल्याएको गाउँपालिकाहरूले जनाएका छन् ।

पढाइ शिविरले बालबालिकामा पढ्ने, लेख्ने बानीको विकास भएपछि गोलन्जोर गाउँपालिकाले निरन्तरता दिन १० लाख भन्दा बढी रकम विनियोजन गरेको छ । ‘पहिले गैरसरकारी संस्थाहरूको सहयोगमा विद्यालयहरूमा पढाइ शिविर हुन्थ्यो, उनीहरूले हात झिकेपछि कार्यक्रम राम्रो लागेर हामीले निरन्तरता दिएका हौं,’ गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले भने, ‘राम्रो कामको अनुशरण गर्दा परिणाम राम्रै हुन्छ ।’ गोलन्जोरमा ३२ वटा विद्यालयमा पढाइ शिविर सञ्चालनमा छन् । तीनपाटन गाउँपालिकामा ३६ ओटा पढाइ शिविर सञ्चालनमा छन् । २० ओटा गाउँपालिका आफैंले र १६ ओटा गैरसरकारी संघसंस्थाको सहयोगमा सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।

पढाइ शिविरअन्तर्गत आधारभूत तहका विद्यार्थीलाई शनिबार पनि कक्षा सञ्चालन गर्ने गरिएको विद्यालयहरूले जनाएका छन् । अभिभावकलाई पनि बालबच्चाले दुःख नदिने र विद्यालयमा आएर केही सिक्ने अवसर बालबालिकाले पाउने भएकाले पढाइ शिविर सञ्चालन गरिएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले सुनाए । ‘हामी शिक्षा क्षेत्रको सुधार गर्न लागिपरेका छौं, त्यही शिक्षा क्षेत्रको सुधार गर्ने क्रममा बालबालिकाहरूका लागि पढाइ शिविर भएको हो,’ उनले भने ।

मगरका अनुसार सामुदायिक विद्यालयलाई निजी जत्तिकै अब्बल बनाउन सबै जुटेका छन् । सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीलाई नेपाली अक्षर चिनाउन र लेखाउन शनिबार दुई घण्टा पढाइ शिविर हुन्छ । विभिन्न प्ले कार्ड, चित्र बनाएर अक्षर चिनाउने र लेखाउने गरिन्छ । बालबालिकालाई पढाइ शिविरमा खाजा समेत दिने गरिएको छ । त्यसका लागि स्वयंसेविका राखिएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?