बलात्कारपीडितलाई घर छाड्न दबाब

पर्वत पोर्तेल

धुलाबारी, झापा — झापा मेचीनगर–९ को वडा कार्यालयले घर छाड्न दबाबसहितको पत्र पठाएपछि बलात्कारमा परेकी किशोरी र उनका परिवार चिन्तामा छन् । किशोरीकी आमाले भनिन्, ‘घर मात्रै हैन, गाउँबाटै लखेट्ने योजना बनिरहेको छ ।’

ZenTravel

भूमिहीन डोम परिवार मजदुरी गरेर जीविका चलाउँछन् । गाउँबाटै विस्थापित हुनुपर्ने डरले उनीहरू त्रस्त छन् । आमाले भनिन्, ‘घर छैन, हामीलाई डेरा पाउनै मुस्किल हुन्छ ।’ वडाध्यक्ष गोपाल खड्काले किशोरीका पिताको नाममा भदौ ४ मा चिठी काटेका थिए । घरधनी स्थानीय पुष्पा खडकाको निवेदनका आधारमा उनीहरूलाई चिठी काटिएको वडाध्यक्ष खड्काको भनाइ छ । घरधनीले लामो समयदेखि घरभाडा नबुझाएको जनाउँदै वडा कार्यालयमा निवेदन दिएकी थिइन् । ‘घरधनीकै निवेदनका आधारमा सत्यतथ्य बुझ्न चिठी काटेका हौं,’वडाध्यक्ष खडकाले भने ।

पीडित परिवारका अनुसार भाडा नतिरेर डेराबाट निकाल्न लागिएको भने होइन । करिब तीन महिनाअघि एउटा बलात्कारको घटना सार्वजनिक भयो । १७ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौकामा पुष्पाका पति विष्णुले ब्ल्याकमेलिङ गर्दै बलात्कार गर्दै आएका रहेछन् । पहिला खड्काले किशोरीको परिवार बस्ने घरको भुइँतलामा भट्टी पसलसमेत सञ्चालन गरेका थिए । त्यही समयमा उनीमाथि उनले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको थियो ।

गत असार २ मा धुलाबारीका स्थानीयले आपत्तिजनक अवस्थामा फेला पारेपछि घटना बाहिर आएको थियो । आरोपी विष्णु खड्का त्यही बेलादेखि फरार छन् । किशोरीमाथिको बलात्कार घटना बाहिर आएपछि स्थानीय अगुवाहरू नै पैसा दिएर मिलाउने पक्षमा अग्रसर देखिएका थिए । तर पीडितकी आमाले छोरीमाथिको जघन्य अपराधविरुद्ध आफू अदालतसम्म पुग्ने बताइन् । ‘पैसा लिएर मिल्नु भन्ने धेरै आइसके तर म कुनै हालतमा मिल्ने पक्षमा छैन । मेरी छोरीले न्याय पाउनुपर्छ ।’

केही दिनअघि स्थानीय महिला जुटाएर विष्णुकी पत्नी पुष्पा पीडित परिवारलाई घरबाट निकाल्न तयार भएकी थिइन् । तर किशोरीकी आमाले आफूले २ वर्षसम्मको भाडा तिरिसकेका कारण निकाल्ने अधिकार कसैलाई नभएको बताएपछि आएको भीड त्यसै फिरेको थियो ।

बारम्बार धम्क्याउँदा पनि डोम परिवारले घरबाट जान नमानेपछि पुष्पाले वडा कार्यालयको सहारा लिएकी हुन् । दलित अधिकारकर्मी तथा मेचीनगरका कार्यपालिका सदस्य टीकाराम मंग्रातीले आरोपी विष्णु खड्कालाई पुनःस्थापित गर्न समाज मिलेर डोम परिवारलाई विस्थापित गर्न लागेको बताए । उनले भने, ‘घर भाडा नतिरेको विषय मूल होइन । मूल कुरा त बलात्कार घटनाका कारण उनीलाई लखेट्न लागिएको हो ।’

केही समययता छिमेकीहरूबाट समेत दुर्व्यवहार सहनुपरेको किशोरीकी आमाले बताइन् । ‘नजिकैका पसलमा किनमेल गर्न पनि दिँदैनन्,’ उनले भनिन्, ‘नजिकैको होटलमा चिया खान माग्दा दिएनन् ।’

वडाध्यक्षले पीडितलाई न्याय दिनुको साटो नातेदार भएकाले पीडकलाई सजाय हुन नदिन भगाएको आरोप पीडित परिवारको छ । पीडितकी आमाका अनुसार घटनाको भोलिपल्ट बिहान वडाध्यक्ष खड्का विष्णुको घरमा आएका थिए । त्यही दिन उनलाई भगाइएको अनुमान छ । किशोरीका अनुसार पीडकले घटनाबारे हल्ला नगर्न परिवारलाई बारम्बार धम्की दिइरहेका छन् । उनले भनिन्, ‘बाहिर हल्लाखल्ला गरे घरबाट निकालिदिने, परिवारै सखाप पारिदिने भन्दै बारम्बार धम्की आइरहेको छ ।’

किशोरीले आफूलाई बलात्कार गरेको भन्दै गत असार ३ मा इलाका प्रहरी कार्यालय धुलाबारीमा घरधनी खडकाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । घटना पुष्टि भइसक्दा पनिखड्कालाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाएको छैन । प्रहरी निरीक्षक टीकाबहादुर कार्की भने फरार अभियुक्तको खोजी तीव्र पारिएको दाबी गर्छन् । अभियुक्त खड्का भारतको असमतिर गएर बसेको प्रहरीकोअनुमान छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०८:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रहेनन् ‘फलामको मान्छे’

पर्वत पोर्तेल

काँकडभिट्टा — चालीसको दशकमा झापामा भोक कविता आन्दोलन उत्कर्षमा थियो । आन्दोलनको नेतृत्व भवानी घिमिरेले गरेका थिए । त्यही पंक्तिमा उभिएका थिए, सशक्त कवि दुर्गा दाहाल । दाहालको ६२ वर्षको उमेरमा मंगलबार हृदयाघातबाट राजधानीमा निधन भयो । 


भोक कविता आन्दोलनका एक जना अभियन्ता साहित्यकार कृष्ण धरावासीका अनुसार तिनताका भोक कविता आन्दोलनको प्रभाव पूर्वमा मात्रै सीमित थिएन, सिमाना पारि दार्जिलिङसम्म थियो ।

यो आन्दोलनले अभाव, गरिबी, अन्याय, अत्याचार र राजनीतिक चेतना मुखर गरेको थियो । कवि दुर्गा दाहाल भोक कविता आन्दोलनकै उत्पादन थिए । उनी सशक्त कविता लेख्थे । ‘उनी आगो ओकल्ने खालका कविता लेख्थे,’ धरावासीले भने, ‘उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ ।’

दकमका कवि दाहाल विगत दुई दशकदेखि राजधानीवासी थिए । साहित्यसँगै उनी शिक्षण पेसामा सक्रिय थिए । २०४४ सालमा प्रकाशित उनको पहिलो कृति ‘टाँगिँदै गरेको आकाश’ चर्चित मानिन्छ । त्यही साल उनले मेची अञ्चलकै प्रतिष्ठित महानन्द पुरस्कार पाएका थिए । त्यहीकविताले उनलाई पुरस्कार मात्रै दिलाएन, नेपाली साहित्यमा राष्ट्रिय चिनारीसमेत दिलायो ।

‘कवितालाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्नु उनको विशेषता थियो,’ समकालीन कवि केशव आचार्यले भने, ‘खासमा दुर्गा कविता लेख्नै जन्मिएको जस्तो लाग्थ्यो मलाई ।’

दाहालले पहिलो कृति प्रकाशित भएको धेरै वर्षपछि ‘शब्दहरू जब माथिमाथि उड्छन्’ र ‘दुर्गा दाहालका कविता’ शीर्षकमा कविता संग्रह प्रकाशनमा ल्याइसकेका थिए । दुर्गा दाहालका कविता श्रुतिकाव्यको रूपमा सीडीमा संग्रहित गरिएको थियो । ‘खासमा कृष्ण धरावासीले मलाई सीडीको नाम फलामको मान्छे राख्न सुझाएका थिए,’ एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘तर अन्तिममा मैले दुर्गा दाहालका कविताहरू नै राखें । किनभने काठमाडौंलाई म पनि कवि हुँ भनेर चिनाउनु थियो ।’

साहित्य वटवृक्ष हो । यसका धेरै हाँगाबिँगा हुन्छन् । उनले कविताको हाँगो मात्रै पक्रिए । अरू हाँगोसमाउने आँटै गरेनन् सायद उनले । उनले भनेका थिए, ‘कवितामा रुचि बढी छ, आनन्द पनि यसैमा आउँछ । त्यही भएर कवितालाई नै मुख्यविधा बनाएँ ।’

कवि दाहाल महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित भए कुनै समय । पछि आयामेली कविहरूसहित हरिभक्त कटुवाल, भूपी शेरचन, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, श्रवण मुकारुङका कविताले उनलाई आकर्षित गरेको थियो ।

दाहालको ‘फलामको मान्छे’ शीर्षकको कविता अहिले पनि चर्चित मानिन्छ । उनले तत्कालीन सत्तालाई व्यंग्य गर्दै त्यो कविता लेखेका थिए :
‘म अब जन्मँदा
मात्र फलामको मान्छे भएर जन्मनेछु
मेरो कुनै घाउ हुने छैन
मेरो कुनै दाउ हुने छैन ।’

प्रकाशित : भाद्र ६, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×