कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मातृत्वसँग खेलबाड

जनकराज सापकोटा

काठमाडौँ — सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पतीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए ।  

मातृत्वसँग खेलबाड

विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भाके । यो दौडधुप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरूले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरू आउँछन् र तिनलाई प्रक्रिया पुर्‍याएर लैजान पाइन्छ ।

गत वर्ष माघमा उनीहरू केन्द्रमा पुगे र आफूहरूलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरूलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाइदिने बताएपछि ती दम्पती खुसीले भावविभोर भए ।

उनीहरूले विवाह दर्ता प्रमाणपत्र, नागरिकताको फोटोकपीका अलावा गाउँपालिकाबाट सन्तान नभएको सिफारिस, अस्पतालबाट सन्तान हुन नसक्ने रिपोर्ट बालमन्दिरमा बुझाए । गत वर्ष माघ ४ गते बालमन्दिरमा कागजपत्र बुझाउँदा निर्देशक डंगोलले केही महिनापछि शिशु मिलाइदिने बचन दिएका थिए ।

डंगोलले भनेअनुसार माघ २९ गते उनीहरूले डेढ लाख रुपैयाँ बुझाए । बालमन्दिरले रकम बुझेको रसिद पनि थमायो ।

धर्मसन्तान स्विकारेको कुरा थाहा पाउँदा समाजमा अप्ठ्यारो पर्ने भएकाले उनीहरूले काठमाडौंमा डेरा खोजेर केही महिना बस्ने र आफैंले सन्तान जन्माएको भनेर गाउँ फर्किने योजना बनाए र माघमै काठमाडौं आए । मासिक ३५ सय तिर्ने गरी एउटा कोठा भाडामा लिए र नयाँ दिनचर्या सुरु गरे ।

६ महिनापछि एक दिन डंगोलले फोन गरेर शिशु भेटिएको खबर सुनाए । असार २५ गते ललितपुरको बुङमतीस्थित विनायक कोलनी नजिकै सालनालसहितको एकदिने शिशु भेटिएपछि प्रहरीले उद्धार गरी उपचारका निम्ति पाटन अस्पताल पुर्‍याएको थियो । डंगोलले यही शिशुको कुरा गर्दै दम्पतीलाई भनेका थिए, ‘सालनालसहितको बिरामी शिशु भेटिएको छ । उपचार खर्च बेहोर्ने हो भने मिलाइदिन्छु ।’ सन्तानका निम्ति काठमाडौंमा डेरा गरी अधैर्यपूर्वक बसिरहेका दम्पतीले डंगोलको कुरा स्विकारिहाले । तर डंगोलले एउटा सर्त राखे, ‘शिशुको उपचारमा अस्पतालमा आफैं खटिनुपर्छ ।’ स्वस्थ शिशुभन्दा कम तौलको र बिमारी रहे पनि उपचार गरेर निको पार्न सकिन्छ भन्ने आसमा उनीहरूले बच्चा स्विकार्ने निर्णय गरे ।

ती महिलाले बच्चाको उपचारका निम्ति आफूहरू झन्डै ३० दिन अस्पतालमै बसेको बताइन् । उनले भनिन्, ‘हामी दिनभर अस्पतालबाहिर बस्थ्यौं । उपचारका क्रममा केही सहयोग चाहियो भने दौडेर अस्पताल छिर्थ्यौं ।’ एक दिन डंगोलले बच्चाको उपचारमा तुरुन्तै चार लाख चाहिएको बताए ।

सन्तानको आसमा बसेकी ती महिलाले आफ्नो गरगहना बेचिन् र केही पैसा सापट खोजिन् । बल्लतल्ल असार २७ गते तीन लाख जम्मा भएपछि उनका श्रीमान्ले पाटन अस्पताल बाहिरको एउटा रेस्टुरेन्टमा डंगोललाई रकम थमाए । उनले बाँकी पैसा भने केही दिनमा खोजेर दिने वाचा गरे । ‘सन्तानका लागि हामी सडकमा आउन तयार मान्छे । त्यति पैसा त जसरी पनि खोजौंला । ऋण लागे जसरी पनि तिरौंला भनेर डंगोलले भनेअनुसार गर्‍यौं,’ ती महिलाले कान्तिपुरसित भनिन् ।

अस्पतालले शिशुको स्वास्थ्यमा सुधार भएको भन्दै साउन २३ गते डिस्चार्ज गर्‍यो । त्यसपछि डंगोलले दम्पतीलाई भने, ‘बच्चालाई बाहिरबाटै घर लाने कि अफिसबाट ?’ बाहिरबाटै बच्चा लैजाँदा कानुनी झमेलामा परिने डरले उनीहरूले संस्थागत प्रक्रिया पुर्‍याएर बच्चा लैजाने बताए । उनले भनिन्, ‘हामीले ६ महिना पहिल्यै कागज बुझाइसकेका थियौं । त्यही भएर पनि संस्थागत प्रक्रिया पूरा गर्ने बाटो रोज्यौं ।’

डिस्चार्ज गरेर शिशु लैजाने बेला डंगोलले नै महानगरीय प्रहरी परिसर ललितपुर र पाटन अस्पतालको सिफारिस पत्र पनि तयार पारेर राखेका थिए । अस्पताल र परिसरले आवश्यक संरक्षणका लागि सिफारिस भन्ने बेहोराको पत्र साउन २३ मा बालमन्दिरका लागि बनाइदिएको थियो ।

डंगोलले उनीहरूलाई बच्चासहित बालमन्दिर पुर्‍याए । उनीहरूले बालमन्दिरको गृह व्यवस्थापन शाखामा बच्चा आफूले लैजान लागेको बताए । तर शाखा प्रमुख सविता लम्सालले त्यत्तिकै बच्चा लैजान नमिल्ने बताइन् । लम्सालका अनुसार त्यसपछि उनीहरूले निर्देशक डंगोलसँग कुराकानी भइसकेको जानकारी गराए । लम्सालले निर्देशकलाई सोधिन् ।

‘निर्देशकले शिशु स्याहारका लागि उपलब्ध गराउने भन्ने तोकसहितको पत्र थमाइदिएपछि मैले बच्चा दिएँ,’ लम्सालले कान्तिपुरसित भनिन् । महिनौंको काठमाडौं बसाइ, लाखौं रुपैयाँ खर्च र अनेकन हैरानीपछि शिशु आफ्नो हातमा पाएको दिन ती महिला औधी खुसी भएकी थिइन् । उनले भनिन्, ‘त्यति धेरै खुसी त म जीवनमा कहिल्यै भएको थिइनँ ।’ उनीहरूले डेराका सबै सामान सारे र गाडी रिजर्भ गरेर गाउँ पुगे । वर्षौंदेखिका निःसन्तान दम्पतीले सन्तान जन्माएछन् भन्ने खबर एकैछिनमा गाउँमा फैलिहाल्यो । बच्चाको हाँसो, रोदन, चकचकले घर गुल्जार भयो । सन्तान हुर्काउँदाको खुसीले उनीहरू पुलकित थिए ।

बच्चा घर पुर्‍याएको दोस्रो दिन बालमन्दिरका निर्देशक डंगोल मोटरसाइकलमा एक जना विदेशीलाई राखेर घर आइपुगे । डंगोलले बच्चाको उपचारमा लागेको एक लाख रुपैयाँ पाटन अस्पताललाई तिर्न बाँकी रहेको बताए । बच्चा पाएकामा फुरुङ्ग उनीहरूले डंगोलको कुरा काट्न सकेनन् । अनेकतिर भनसुनपछि एक जना साथीले एक लाखको चेक काटिदिइन् । त्यही चेक हात परेपछि डंगोल काठमाडौं फर्के ।

बच्चाको स्याहार र बाल हाँसोमा भुल्दै दिनहरू बितिरहेका थिए । तर दिनहरू सधैं उस्तै रहँदैनन् भनेजस्तै भयो । बालमन्दिरबाट साउन ३० गते फोन आयो । फोनमा गृह व्यवस्थापन शाखा प्रमुख लम्सालले ‘आजै बच्चा फिर्ता लिएर बालमन्दिर आइहाल्नू’ भनिन् ।

त्यतिका धेरै पैसा खर्चेर, त्यतिका महिना काठमाडौंमा कुरेर पाएको बच्चा फिर्ता गरिहाल्न ती महिलाको मनले मानेन । तारन्तार फोन आएपछि बच्चा लिएर बालमन्दिर नगई उनले धर पाइनन् । एक जना साथीसँग उनी बालमन्दिर पुगिन् । कर्मचारीले बच्चा फिर्ता गर्नुपर्ने र फेरि लैजान नपाइने कठोर कुरा सुनाए । उनले भनिन्, ‘त्यो बेला म कति रोएँ भनिसाध्य छैन । त्यो दिन मसँग साथी नभएको भए झुन्डिएर मर्ने थिएँ ।’

बच्चा लिने प्रक्रियामा फसेको पैसाभन्दा पनि ठूलो पीर समाजको थियो । ‘बच्चा कहाँ छ भनेर सोधे भने के जवाफ दिनु भन्ने पीरले म इन्तु न चिन्तु भएँ,’ उनले सुनाइन् । बालमन्दिरका कर्मचारीले बच्चा फिर्ता मागेको त्यही दिन थियो, जुन दिन बालमन्दिरका निर्देशक डंगोल पक्राउ परेका थिए । बेलायती नागरिक डिना स्मिथलाई ४ लाख ५० हजार रुपैयाँ लिएर शिशु बेचेको आरोपमा डंगोल पक्राउ परेका थिए ।


तराई मूलकी १४ वर्षीया किशोरीले बलात्कारपछि जन्माएकी शिशु डंगोलले बेलायती नागरिकलाई बेचेका थिए । कलंकीमा क्लिनिक चलाएर बसेकी निर्मला थापाले आफूकहाँ सम्पर्कमा आएकी ती किशोरीलाई गर्भपतन गर्न नमिल्ने भएपछि थापाथलीस्थित परोपकार प्रसूति गृहमा पुर्‍याएर प्रसूति गराएकी थिइन् ।

थापा प्रसूति गृहकी स्टाफ नर्ससमेत हुन् । प्रसूति गृहमै ती किशोरीले शिशु डंगोललाई जिम्मा दिएकी थिइन् । प्रहरी परिसर काठमाडौंका अनुसार डंगोलले एक लाख ३५ हजारको चेक थापालाई थमाएर शिशु लिएका थिए । स्मिथले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट शिशुको जन्मदर्ताको कागजात बनाएर काठमाडौंस्थित बेलायती दूतावासबाट शिशुको राहदानी बनाएकी थिइन् ।

शिशु लिएर बेलायत जाने क्रममा स्मिथलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएपछि डंगोलले शिशु बेचेको खुलेको थियो । त्यसपछि बालमन्दिरको गृह व्यवस्थापन शाखा प्रमुख लम्सालले ती महिलासँग शिशु फिर्ता मागेकी थिइन् ।

शिशु फिर्ता बुझाएर फर्केकै केही दिनमा उनले डंगोल पक्राउ परेको सुनिन् । त्यसपछि उनले प्रहरी परिसर काठमाडौंमा डंगोलविरुद्ध जाहेरी दिएकी छन् । प्रहरीबाट प्राप्त कागजातका अनुसार बच्चा दिलाइदिने भन्दै डंगोलले दुई पटक गरेर बुझेको चार लाखका अलावा पनि फुटकर रूपमा कैयन् पटक रकम असुलेको देखिन्छ । असार १८ गते डंगोलले फोन गरेर आफ्नो पर्स र लाइसेन्स हराएको भन्दै रकम मागेपछि ती महिलाका श्रीमान्ले पुतलीसडकको एक होटलमा भेटी दस हजार रुपैयाँ थमाइदिएका थिए ।

स्रोतका अनुसार रकम दिने बेलाको उक्त संवादको रेकर्डसमेत पीडितले अनुसन्धानका निम्ति प्रहरीलाई उपलब्ध गराएका छन् । साउन १७ गते डंगोलले आफ्नो मोबाइल फोनमा रिचार्ज सकियो भनेपछि ती महिलाले एक हजार रुपैयाँ रिचार्ज गरिदिएकी थिइन् । कान्तिपुरसँगको कुराकानीमा पीडित महिलाले वर्षौंसम्म सन्तान नहुँदाको पीडाभन्दा पछिल्लो घटनाले दिएको पीडा ठूलो भएको बताइन् । ‘छोरा खै भनेर अरूले सोधे के भनेर जवाफ दिने ?’ उनले भनिन्, ‘म शून्य दिमागमा छु । खै के भनम् ?’


को हुन् डंगोल ?

बालबालिकाको अवैध बेचबिखनमा संलग्न भएको आरोप खेपिरहेका डंगोल बालमन्दिरमा उपनिर्देशकका रूपमा छिरेका थिए । पहुँच विस्तार गर्दै निर्देशक भएका उनी यसअघि पनि अनेकन विवादमा तानिएका थिए ।


२०७२ माघमा डंगोलले बालमन्दिरको सिफलस्थित बाल संरक्षण गृहमा रहेका चार जना बालबालिका खुसुक्क निजी संस्थालाई बुझाएको भन्दै छानबिन हुनुपर्ने माग भएको थियो । त्यतिबेला संरक्षण गृहका चार बालबालिका फिर्ता नआएपछि बालमन्दिर अर्थात् केन्द्रीय बालक कल्याण समितिकी तत्कालीन कार्यक्रम व्यवस्थापक नमुना भुसालले सिफल शाखाका प्रमुखलाई पत्र काटेकी थिइन् ।


सिफल केन्द्रका प्रमुख सुरज खनालले भने आफू दसैं बिदामा रहेको बेला उपनिर्देशकले प्रक्रिया पूरा नगरी बालबालिका लिएर गएको जवाफ दिएका थिए । बाबुआमा जेल परेपछि बालमन्दिरको संरक्षणमा रहेका चार बालबालिकालाई डंगोलले नीतिगत निर्णयबेगर निजी गैरसरकारी संस्थालाई दिएको तथ्य अनुसन्धानबाट खुलेको थियो ।


(सामाजिक मर्यादाका कारण पीडितहरूकै अनुरोधमा नाम गोप्य राखिएको हो भने ठेगाना बदलिएको छ ।)

प्रकाशित : भाद्र ११, २०७६ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?