कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ वर्षभित्रै सर्पदंशको औषधि

सर्प र घोडा फार्मिङ सुरू 
४ सय जनाले रोजगारी पाउने
माधव घिमिरे

विराटनगर — कुनै अल्झन नआए अबको डेढ वर्षभित्र सर्पदंशविरुद्धको भ्याक्सिन स्वदेशमै उत्पादन हुने भएको छ । सुनसरीको बराह नगरपालिका–३ बेलाहा हर्दिया गाउँमा उद्योग स्थापना गरी अन्तिम चरणको काम भइरहेको छ ।

एन्टिस्नेक भेनम सिरम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ उद्योगले सर्पदंशविरुद्ध भेनम उत्पादन गर्ने भएको हो । उद्योगका कतिपय भौतिक संरचना निर्माण भइसकेका छन् । यसका लागि चाहिने घोडा फार्मिङ सुरु भइसकेको छ । सर्प फार्मिङको काम पनि अन्तिम चरणमा पुगेको उद्योग प्रशासनले जनाएको छ ।

स्वास्थ्य र उद्योग मन्त्रालयको सिफारिसमा राष्ट्रिय योजना आयोगले ‘राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग’ का रूपमा मान्यता दिएको उद्योगमा करिब चार सयले प्रत्यक्ष रोजगारी पाउने जनाइएको छ । उद्योग सञ्चालक अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलका अनुसार सहज रूपमा काम भए डेढ वर्षपछि भेनम उत्पादन भई बजारमा उपलब्ध हुनेछ ।

स्थानीय माग पूरा गरी विदेशसमेत निर्यात गर्ने लक्ष्य उद्योगको छ । निजी क्षेत्रको करिब ९० करोड रुपैयाँ लगानीको उद्योग १० कट्ठा जमिनमा स्थापना गरिएको छ । ८ बिघा क्षेत्रमा घोडा र सर्पपालनका लागि संरचना बनाइएको छ । सर्पको टोकाइले बर्सेनि सयौंको ज्यान जाने गरेको छ । हजारौं पीडित बन्छन् ।

खास गरी तराई क्षेत्रमा यस्तो समस्या बढी देखिने गरेको छ । विषालु सर्पले टोक्दा तत्काल औषधोपचार हुन सके ज्यान जोगिन्छ । तर अधिकांशको उपचारै नपाई मृत्यु हुने गरेको छ । सर्पले टोकेपछि मान्छेको शरीरमा फैलने विषलाई निष्क्रिय बनाउनु यसबाट ज्यान जोगाउने मुख्य उपाय हो । तर, यसको औषधि स्वदेशमा पाइँदैन । अन्यत्रबाट आउन ढिलो हुँदा वा आएको परिमाण सबैतिर पुर्‍याउन नसक्दा उपचार नपाई ज्यान गुमाउनुपर्ने अवस्था छ ।

वार्षिक ३० हजार भाइल आयात

नेपालमा वार्षिक ३० हजार भाइल एन्टिस्नेक भेनम विदेशबाट ल्याइने गरेको छ । खास गरी वर्षा र गर्मीका बेला तराईमा सर्पको डसाइले बर्सनि दर्जनौंको मृत्यु हुने गरेको तथ्यांक छ । फागुनदेखि असोजसम्म सर्पदंशका घटना बढी हुने गरेको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले विदेशबाट यो भेनम ल्याउने गर्छ ।

विश्व स्वास्थ्य संगठनले पनि एन्टिस्नेक भेनम दिने गरेको छ । नेपालमा बढीजसो भारतमा उत्पादित एन्टिस्नेक भेनम टेन्डर प्रक्रियाबाट आपूर्ति हुने गरेको छ । तर कहिलेकाही भारतमै पनि यसको माग बढ्ने र उत्पादन कम हुने भएकाले नेपालमा अभाव हुन्छ ।

आयातितभन्दा सस्तो

वार्षिक १५ लाख भाइल ‘एन्टिस्नेक भेनम सिरम’ उत्पादन गर्ने उल्लेख गर्दै फुयाँलले यो आयातितभन्दा सस्तो पर्ने दाबी गरे । विदेशबाट ल्याइएको औषधि करिब ११ सय रुपैयाँ प्रतिभाइल पर्छ । स्थानीय उत्पादन करिब ६ सय ५० रुपैयाँमै उपलब्ध गराइने उद्योगले जनाएको छ ।

‘तत्कालका लागि स्वदेशमै आपूर्ति गर्छौं,’ उनले भने, ‘विदेशमा पनि निर्यात गर्नेछौं ।’ २०७३ मा संशोधित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनका लागि पूरक नियमावली नबन्दा सर्प फार्मिङलगायत पक्षमा असजिलो भोग्नुपरेको उद्योग सञ्चालकले बताएका छन् । उक्त ऐनअनुसार सर्प पाल्न पाइने व्यवस्था छैन । तर नियमावली बनाएर यसलाई संशोधन गर्ने आश्वासन सरकारले दिएको सञ्चालकमध्येका एक उद्योगीले बताए ।

बर्सेनि २२ हजार पीडित

नेपालमा प्रत्येक वर्ष करिब २२ हजारलाई सर्पले डस्ने गरेको तथ्यांक छ । सरकारी तथ्यांकअनुसार देशभर बर्सेनि करिब ५ हजारको मृत्यु हुन्छ । तराईका जिल्लामा बर्सेनि प्रतिलाख जनसंख्यामा १ सय ६२ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । तथ्यांकअनुसार नेपालमा करिब १८ प्रजातिका विषालु सर्प छन् । तराईमा मुख्य रूपले गोमन र करेतले बढी डस्ने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वभरि ५० लाखभन्दा बढी व्यक्तिलाई सर्पले डस्छ । तीमध्ये १ लाख २५ हजार जनासम्मको मृत्यु हुन्छ ।

कसरी बनाइन्छ ?

उद्योगलाई आवश्यक प्राविधिक पक्षबारे ‘एम फार्मा’ अनिल श्रेष्ठले अस्ट्रेलियामा अध्ययन गरिरहेका छन् । उनलाई उद्योगले नै त्यहाँ पठाएको हो । यस्तै टक्सिकोलोजी विशेषज्ञ डा. छविलाल थापा र माइक्रो बायोलोजिस्ट नवराज नेपाललगायतको टोलीले प्राविधिक पक्ष अध्ययन गरिरहेको छ ।

स्थानीय सर्प र अन्य कच्चा पदार्थ प्रयोग गरी भेनम बनाइने भएकाले सर्पदंशविरुद्ध आयातितभन्दा बढी प्रभावकारी हुने विज्ञले दाबी गरेका छन् । कत्तिको विषालु सर्पले टोकेको हो भन्ने आधारमा फरकफरक क्षमताका भेनम बनाउने तयारी उद्योगको छ । हाल जस्तोसुकै सर्पले टोके पनि आयातित एकै खाले भेनम प्रयोग गर्ने गरिएको प्राविधिकको भनाइ छ ।

प्राविधिकका अनुसार यो भेनम बनाउन सर्पकै विष प्रयोग गरिन्छ । सुरुमा सुईमार्फत सर्पको विष निकालिन्छ । त्यसपछि रसायन प्रयोग गरेर विषलाई निस्क्रिय (न्युट्रलाइज) पारिन्छ । त्यसपछि मात्रा तय गरेर त्यसलाई घोडाको शरीरमा सुईमार्फत नै पठाइन्छ । शरीरमा यो प्रवेश गरेपछि घोडाले रोगप्रतिरोधी ‘एन्टिबडी’ पर्याप्त मात्रामा उत्पादन गर्छ । अनि शरीरको विष पूर्णरूपमा निष्क्रिय हुन्छ ।

यो प्रक्रियामा घोडाले अत्यधिक उत्पादन गर्ने एन्टिबडी रगतमा बगिरहेको हुन्छ । अनि प्राविधिकले घोडाको तौल र आकारलगायत आधारमा एउटाबाट तीनदेखि चार लिटर रगत निकाल्छन् । त्यसलाई प्रारम्भिक प्रशोधन गरी एक प्रकारको तरल पदार्थ ‘प्लाज्मा प्रोटिन सेरम’ बनाइने विज्ञको भनाइ छ । अनि फेरि यसलाई प्रशोधन गरी पाउडर बनाएर भाइलमा भरिन्छ । उद्योगसम्बद्ध चिकित्सकका अनुसार यति गरिसकेपछि सर्पले टोकेका बिरामीलाई ‘डिस्टिल वाटर’ मिसाएर दिइने औषधि एन्टिस्नेक भेनम तयार हुन्छ ।

प्रकाशित : भाद्र ९, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?