कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा छैन डेंगु परीक्षण किट

केन्द्रले एक सातादेखि किट नपठाएपछि बिरामी निजी क्लिनिक धाऊन बाध्य छन् । निजीमा १० हजार रपैयाँसम्म खर्च हुने गरेको उनीहरुको गुनासो छ।
प्रदीप मेन्याङबो

सुनसरी — इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु भाइरस पहिचान गर्न आवश्यक किट उपलब्ध नगराउँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुगेका बिरामी निजी अस्पताल जान बाध्य छन् । डेंगु महामारी नियन्त्रणबाहिर पुगेको अवस्थामा महाशाखाले एक सातादेखि किट उपलब्ध गराउन छाडेको छ । 

बीपी प्रतिष्ठानमा छैन डेंगु परीक्षण किट

सरकारले डेंगु संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि किट नै नभएपछि उनीहरू निजी अस्पताल र क्लिनिकमा महँगो रकम तिरिरहेका छन् ।


चिकित्सकका अनुसार डेंगुको छुट्टै औषधि अहिलेसम्म बनेकै छैन । रोगको लक्षण र अवस्था हेरी अस्पतालमै राखेर उपचार गरिँदै आएको छ । डेंगु भए/नभएको प्रयोगशालामा रक्त परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ।


‘पूर्वका अधिकांश बिरामी प्रतिष्ठानमै उपचारका लागि आउने गरेका छन् । डेंगुका दैनिक सरदर २५ देखि ३० जना नयाँ बिरामी थपिँदै छन् । डेंगु महाशाखाले एक सातादेखि किट नै पठाएन,’ प्रतिष्ठानका एक कर्मचारीले भने । बिरामीहरूलाई बाहिरको ल्याब, क्लिनिक र अस्पताल पठाउनुपरेको उनले बताए ।


महाशाखाले जेठदेखि प्रतिष्ठानमा ४ हजार थान किट पठाएको थियो । त्यसले नपुगेपछि प्रतिष्ठान आफैंले ४ सय थान किट किनेको थियो । सुनसरी जिल्ला अस्पतालमा पनि किट अभाव भएपछि इनरुवा नगरपालिकाले उपलब्ध गराएको सीमित किटको भरमा परीक्षण गर्नुपरेको त्यहाँका ल्याब कर्मचारीले बताए । निजी क्लिनिक र अस्पतालले डेंगु परीक्षण गर्दा ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेका थिए ।


चर्को शुल्क लिएको गुनासोपछि सरोकारवालाको दबाबमा अधिकतम ६ सय रुपैयाँमात्र लिने निर्णय भए पनि प्रभावकारी हुन सकेको छैन । निजी अस्पतालमा उपचार गराएका बिरामीले कम्तीमा १० हजार रुपैयाँ खर्च हुने गरेको बताएका छन् । धरानमा डेंगु महामारी नियन्त्रणभन्दा बाहिर गएपछि प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको घोषणा गरेको थियो । उक्त रकम धरान उपमहानगरसहित सुनसरीका स्थानीय तहमा आइनपुगेपछि कहाँ खर्च भयो, खुल्न सकेको छैन ।


'ओभी ट्र्याप उपयोगी’

सिंगापुर, अमेरिकालगायत मुलुकमा अभ्यास गरिएको ओभी ट्र्याप प्रविधि अपनाउन सकिए डेंगु धेरै नियन्त्रण गर्न सकिने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक प्रिन्स सुब्बाले बताए । उनका अनुसार यो लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने विधि हो । उनले भने, ‘लामखुट्टेलाई आकर्षण गरी फुल पार्न लगाउने र लामखुट्टे तथा लार्भा दुवैको अध्ययन गर्ने विधि नै ओभी ट्र्याप हो । यो लामखट्टेको सर्वेक्षण र व्यवहार तथा आचरण अध्ययन गर्न प्रयोगमा ल्याइएको थियो ।’


विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले गरेको अध्ययन अनुसन्धानलाई आधार बनाएर सुब्बाले सहकर्मीसमेत रहेका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूसँग मिलेर ओभी ट्र्याप निर्माण गरिरहेका छन् । उनले भने, ‘ओभी ट्र्याप (जाल) का लागि सामान्य प्लास्टिकको कालो रङको बाल्टिन भए पुग्छ । त्यसभित्र सफा पानी हालिन्छ । अन्डा पार्न पानीमा बसेपछि लामखुट्टे बाहिरिँदा बाल्टिनको मुख वरिपरि पोतिएको गमजस्तो वस्तुमा टाँसिन पुग्छ ।’


उनका अनुसार जालबाट विषादी प्रतिरोध गर्न सक्ने लामखुट्टे पनि नियन्त्रण गर्न सकिन्छ । सीडीसीको एक प्रतिवेदनअनुसार ओभी ट्र्याप विधिको प्रयोगबाट सन् २०१४ मा पोर्टोरिकोमा एडिस इजिप्टाई लामखुट्टेको संख्या ८० प्रतिशतले घटेको पाइएको थियो । सुब्बाले भने, ‘धरान र अन्य प्रभावित क्षेत्रमा पनि यो प्रविधि प्रयोग गर्न सकिए संक्रमणबाट जोगिन सकिन्छ । यसको प्रयोगबाट वातावरण, जीवजन्तु तथा मानिसलाई कुनै असर पर्दैन ।’


डेंगु नियन्त्रण गर्न नसकिए मनसुनपछि पनि थप गम्भीर रूप लिन सक्ने उनले औंल्याए । ‘स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकार, स्वास्थ्य संस्था, चिकित्सक, जनप्रनिधिले महामारी भएपछि मात्र चासो लिने गरेका छन्,’ उनले भने, ‘यति धेरै महामारी फैलिसकेपछि विश्व स्वास्थ्य संगठनलाई जानकारी दिनुपर्थ्यो । खोज र नष्ट अभियान तीव्र बनाउन सर्वसाधारणलाई प्रेरित गर्नुपर्थ्यो ।’

प्रकाशित : भाद्र ९, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?