कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिराले मात्तिएपछि एनआरएनए अध्यक्ष विमानबाटै निकालिए 

काठमाडौँ — मदिराले मात्तिएर विमान प्रवेश गरेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र सनत न्यौपानेलाई सिल्क एयरले शनिबार बेलुकी डिपोर्ट (निष्कासन) गरेको छ । दुवै जना प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उडान नम्बर एमआई४१३ मार्फत सिंगापुर जाँदै थिए ।

मदिराले मात्तिएपछि एनआरएनए अध्यक्ष विमानबाटै निकालिए 

अध्यक्ष भट्टको नेपाली कम्पनीका सल्लाहकार न्यौपानेले आफ्नो फेसबुकमा राखेको अडियो अनुसार जहाजमा बसिसकेपछि कमान्डर पाइलटले ‘म तपाईंहरुलाई लिएर जहाज उडाउन सक्दिनँ’ भनेका थिए ।


विमानस्थल स्रोतका अनुसार दुवै जना मदिराले अत्यधिक मातेको भन्दै सिल्क एयरले प्रहरीको सहयोग लिएको थियो । ‘जहाजबाट निकाल्न सहयोग गरिदिनुपर्‍यो भनेपछि हाम्रो प्रहरी जहाजको भर्‍याङसम्म पुगेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँहरु दुबैलाई जहाजबाट निकाली अध्यागमनमा डिपार्चर क्यान्सिल गराएर प्रहरीले टर्मिनल भवनबाहिर निकालेको थियो ।’


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार डिएसपी राजन चापागाईंले विमानस्थलको सम्पर्क केन्द्र मानिने टर्मिनल ड्युटी अफिसलाई जानकारी गराएका थिए । कुनै पनि उडानमा यात्रुले शंकास्पद क्रियाकलाप गरे वा मदिराले मातिएको भेटिए क्याप्टेनले जहाजबाट निकाल्न सक्ने अधिकार अन्तर्राष्ट्रिय उड्डयन संगठनले प्रत्यायोजन गरेको छ । शनिबार काठमाडौंबाट ९ बजेर ५० मिनेटमा उड्नुपर्ने उक्त उडान सोही कारण ५७ मिनेट ढिलो उडेको थियो ।


न्यौपानले शनिबार दुवै जना कुनै बिजनेस मिटिङमा भएका बेला प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न सिंगापुर जाने योजना बनेको अडियोमा भनेका छन् । उनका अनुसार सिंगापुर पुगेर प्रधानमन्त्रीसँग भेटघाटसँगै अर्को बिजनेस बैठक पनि तय भएको थियो ।

दुबैले सिल्कको बिजनेश श्रेणीको टिकट लिएका थिए । इकोनमी श्रेणीको दाँजोमा झण्डै दोब्बर महँगो हुने उक्त टिकटमा काठमाडौं विमानस्थलमा र्‍याडिसन होटलको लाउन्ज निःशुल्क प्रयोग गर्न पाइन्छ । उक्त लाउन्जमा मदिरा र खानपान गरेको पैसा तिर्नुपर्दैन । अध्यागमनको जाँच सकिएपछि लाउन्जमा जान सकिन्छ । दुबै जनाले त्यहीँ मदिरापान गरेका थिए । लाउन्जको खर्च एयरलाइन्सको हुन्छ ।

काठमाडौंस्थित एयरलाइन्स स्रोतले यस घटनाबारे सिंगापुरमा रहेको मुख्यालयले चाँडै विज्ञप्ति जारी गर्ने जनाएको छ । कतिपय एयरलाइन्सले मदिराका कारण दुर्व्यवहार गर्ने कर्मचारीलाई सदाका लागि आफ्नो एयरलाइन्सको उडानमा रोक लगाउने नियम पनि बनाएका हुन्छन् । न्यौपानेले अडियोमा आफूहरुलाई ब्रेथलाइजरको प्रयोग नगरी निस्कासन गरिएकाले सिल्क एयरले अपमान गरेको अडियोमा आरोप लगाएका छन् ।


पाइलटले लिखित रुपमै निस्कासन गरेका भट्ट र न्यौपानेले टिकट फिर्ताका लागि सिल्क एयरको काठमाडौंस्थित कार्यालयमा निवेदन दिएका छन् । तर, एयरलाइन्सले हेडक्वार्टरको निर्णय पर्खिरहेको छ ।

प्रकाशित : भाद्र ८, २०७६ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?