कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले बोलाए सचिवालय बैठक

काठमाडौँ — प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन अनुमति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक पार्टी सचिवालयको औपचारिक बैठक बोलाएका छन् ।

दाहालले बोलाए सचिवालय बैठक

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष दाहाललाई एकल अध्यक्षता गरी पार्टीको काम अघि बढाउन सहमति दिएका थिए । त्यसलगत्तै अध्यक्ष दाहालले नेताहरूसँग अनौपचारिक छलफल थालेका छन् ।


अनौपचारिक छलफलपछि सोमबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमै दाहालले बैठक बोलाएका हुन् । पार्टी एकता भएको १५ महिनासम्म पनि अध्यक्ष दाहालले एकल रूपमा पार्टीका काम अघि बढाउने अधिकार पाएका थिएनन् । ओली र दाहालले संयुक्त अध्यक्षता गर्दै पार्टीका बैठक चलाउँथे ।


दाहालले सोमबार महानगरका अध्यक्ष र सचिवहरूको चयनसम्बन्धी एजेन्डामा छलफल र निर्णय गर्दै छन् । यसबीचमा दाहालले ओलीसँग व्यक्तिगत रूपमा चिढिएका नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । नेपाललाई उनले नेताहरूबीच मिलेर नै पार्टीका काम अघि बढाउने भन्दै व्यक्तिगत तुष नराख्न आग्रह गरिसकेका छन् । त्यसपछि नेता नेपालले पनि ओली र आफूबीचको मनमुटाव ‘श्रीमान्श्रीमती’ को झगडा जस्तो मात्र भएको बताइसकेका छन् ।


यसैबीच अध्यक्ष दाहालले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् । राष्ट्रपतिसँग दाहालले करिब एक घण्टा कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ८, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?