नेताको असक्षमताले गणतन्त्रमाथि बाधा उत्पन्न हुन सक्छ : रवीन्द्र मिश्र
रुपन्देही — साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताको अभिव्यक्ति आफ्नै कमिकमजोरी ढाकछोप गर्ने प्रयास भएको बताएका छन् ।
आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक मिश्रले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण खतरा उत्पन्न हुनसक्ने बताएका थिए ।
‘राजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको थियो,’ उनले भने, ‘वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमिकमजोरीका कारण गणतन्त्र खतरामा पर्नसक्ने संकेत देखिएको छ ।’
पुराना राजनीतिक दलहरुले जनतालाई राजनीतिक मायाजालमा पारेर राखेको भन्दै मिश्रले जनता पुराना दलको राजनीतिक माया जालबाट बाहिर ननिस्किएसम्म मुलुकको समृद्धि सम्भव नभएको दाबी गरे । दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने बिश्वासमा रहे पनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडी बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको बताए ।
पुराना दलहरुबबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गरे ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरुको कमिकमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पिडा र आक्रोस कुनै दिन बिस्फोटको रुपमा देखा पर्ने बताए ।