कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनापछि मात्रै छेकबार

हरिहरसिंह राठौर

धादिङ — ०४५ भदौमा जोगीमारामा पहिरो आएर बस खसेको स्थानमा लाखौं खर्च गरेर अग्लो र बलियो पर्खाल निर्माण गरिएको छ । त्यसयता त्यहाँ पहिरो खसेको छैन । 

दुर्घटनापछि मात्रै छेकबार

 ०६२ फागुन २३ मा जोगीमाराकै ज्यामिरेघाटमा रात्रिबस त्रिशूलीमा खस्दा ५६ जनाको मृत्यु भएको थियो । त्यहाँ पनि तारजाली पर्खाल लगाइएपछि बस खस्न रोकिएका छन् ।

 ०७३ असोज १० मा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी खसेको दारेचोकको घोप्टेभीरमा पक्की ढलान पर्खाल बनाइएको छ । त्यसयता त्यहाँ गाडी खसेका छैनन् ।

सडक विभागले अत्यधिक दुर्घटना भइरहेका ‘ब्ल्याक स्पट’मा सुरक्षाका लागि पक्की संरचना निर्माण गरेर परीक्षण गरिरहेको छ । पोखराबाट डुम्रे हुँदै मुग्लिनसम्म मर्स्याङ्दी र मुग्लिनबाट गल्छीसम्म ५८ किमि सडक त्रिशूली नदीकिनारमा पर्छ । मुग्लिन–मलेखु ४० किमि र नारायणगढ–मुग्लिन खण्डको ३६ मध्ये करिब ३० किमि अप्ठेरो भीर काटेर बनाइएको छ ।

नदीतर्फ धेरै ठाउँमा सुरक्षा संकेतका रूपमा स–साना फलामे डन्डी मात्रै राखिएको छ । केही ठाउँका पर्खालमा सेतो–कालो रङ लगाएर प्यारापिट बनाइएको छ । कतै–कतै अल्मुनियमको बार पनि छ । केही ठाउँमा तारजालीको पर्खाल पनि लगाइएको छ । कति ठाउँमा भने बोटबिरुवा र झाडीलाई नै चालकले सुरक्षा संकेतका रूपमा बुझ्नुपर्ने बाध्यता छ ।

कैयन् सुरक्षा बार मालवाहक सवारीसाधनको ठक्करले कमजोर भइसकेका छन् । ‘उतिबेलाका गाडीको चापलाई लेखाजोखा गरेर यो राजमार्ग निर्माण गरिएको भए पनि सडकछेउमा स्थायी सुरक्षा दिन भौगोलिक र प्रााविधिक रूपले निकै कठिन रहेको’ गजुरीस्थित सडक डिभिजन एकाइ प्रमुख हरि ठकुरीले बताए । ‘सडकछेउका सुरक्षा बार छुन नहुने संकेत मात्रै हुन्, चालक निदाएर दुर्घटना हुँदा तिनले छेक्न सक्दैनन्,’ उनले भने ।

सडकछेउका पर्खालले मात्रै सवारीसाधनको सुरक्षा गर्न नसक्ने बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले बताए । ‘चालक आफैं सचेत हुनुपर्छ, कैयन् यात्रुको जीवन आफ्नो हातमा छ भन्ने जिम्मेवारीबोध गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?