कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाष्टले ल्यायो 'ब्रेन पुलिङ' कार्यक्रम

गोविन्द पोखरेल

काठमाडौँ — विदेशमा रहेर विज्ञान तथा प्रविधि क्षेत्रमा हासिल गरेको सफलता, विशिष्ट कार्य अनुभव भएकाहरुलाई लक्षित गरेर नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट)ले ‘ब्रेन पुलिङ नेपाल’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । ‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम असफल भएपछि त्यसलाई परिमार्जन गर्दै नाष्टले ब्रेन पुलिङ कार्यक्रम ल्याएको हो । 

नाष्टले ल्यायो 'ब्रेन पुलिङ' कार्यक्रम

मुलुकको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुर्‍याउने अवसर सिर्जना गर्न कार्यक्रम ल्याइएको नाष्टले जनाएको छ । यो कार्यक्रममा गैरआवासीय नेपालीहरुले पनि सहभागिता जनाउन पाउनेछन् । नाष्टले चालू आर्थिक वर्षका लागि बिहीबार सूचना प्रकाशित गरेर इच्छुकहरुलाई अनुसन्धान अवधारणा पत्र पेस गर्न आहृवान गरेको छ ।

चालू आर्थिक वर्षका लागि नाष्टले सूचना प्रविधि, नानोटेक्नोलोजी, ऊर्जा, भूकम्प पूर्व–सूचना र स्मार्ट सिटीजस्ता विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ । यस कार्यक्रमअन्तर्गत स्वदेश वा विदेशमा कार्यरत विशिष्ट प्रतिभाका नेपाली तथा गैरआवसीय नेपालीले विज्ञान प्रविधिका विभिन्न विधाहरूमा आफ्नो ज्ञान र सीपका माध्यमबाट राष्ट्रलाई यथासक्य योगदान पुर्‍याउन सक्ने नाष्टले जनाएको छ ।

युवा वैज्ञानिकहरु कामको सिलसिलामा विदेशमा रहे पनि मुलुकको विकासमा योगदान दिन चाहने दक्ष जनशक्तिलाई देशमा भित्र्याउने वातवरण सिर्जना गर्ने नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले कान्तिपुरलाई बताए । उनका अनुसार यही कार्यक्रममार्फत विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरुको डाटावेस समेत बनाउने अपेक्षा लिइएको श्रेष्ठले जानकारी दिए ।

‘‘फर्क है फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमभन्दा यो कार्यक्रम केही परिमार्जित एवं व्यवाहारिक हुने उपकूलपति श्रेष्ठको भनाइ छ । उनका अनुसार कार्यक्रममा अनुसन्धानकर्ताले अवधारणापत्र पेस गर्दा सुरुआतमै विषय छनोट गर्न सक्ने र बजेट पनि स्पष्ट खुलाइएको छ ।

यस्तै, नाष्टले ‘नाष्ट इमिनेन्ट फेलो’ पनि ल्याएको छ । यसअन्तर्गत विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने नेपाली वा गैरआवसीय नेपालीले हासिल गरेका सफलता र कार्य अनुभवको आधार तथा नास्टसितको सहकार्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा पुर्‍याउन सक्ने योगदानदेखि प्रविधि हस्तान्तरणसम्मको कार्य गर्न सक्ने उल्लेख छ । विश्वको कुनै पनि विश्वविद्यालय वा संस्थामा काम गरिरहेकाहरु नाष्टको इमिनेन्ट फेलो भएर काम गर्न सक्ने उपकुलपति श्रेष्ठको भनाइ छ ।


४० वर्ष ननाघेका स्वदेश वा विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी ‘नाष्ट एसोसिएट फेलो’ पनि यही कार्यक्रममार्फत ल्याइएको छ ।

प्रकाशित : भाद्र ७, २०७६ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?