पत्रकार शालिकराम आत्महत्या प्रकरण  : विवाहेत्तर सम्बन्धको भित्री पाटो

कान्तिपुरले गरेको खोजबाट अस्मिता र शालिकरामबीचको सम्बन्धका नयाँ तथ्य फेला परेका छन्
जनकराज सापकोटा

काठमाडौँ — ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् ।


साउन ११ गते वसुन्धराको ग्रिनसिटी अस्पताल भर्ना गरिएकी नीलकुमारीलाई २४ गते थप उपचारका निम्ति टिचिङ अस्पताल सारियो ।

चिकित्सकहरूले उनलाई निमोनियाँ बिग्रिएको बताएका छन् । आठ सन्तानमध्येका माइँला छोरा जगत झन्डै एक महिनायता उनको हेरचाहमा खटिएको खटियै छन् । अस्पताल भर्ना भएकै दिनदेखि नियमित कुरुवा बस्दै आएकी अस्मिता भने पछिल्ला आठ दिनयता बिरामी आमा भेट्न अस्पतालसम्म जान पाएकी छैनन् । पाऊन् पनि कसरी ? हठात् आइपरेको अनौठो परिस्थितिको बन्धनमा परेकी अस्मिता साउन ३० यता जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्षमा छिन् ।

साउन २० गते माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी चितवन नारायणगढस्थित कंगारु होटलमा झुन्डिएको अवस्थामा फेला परेपछि रुकु भनिने अस्मिताको नाम सतहमा आएको हो । शालिकरामको मोबाइलमा प्रहरीले फेला पारेको भिडियोमा उनले आफ्नो आत्महत्याको दोष यिनै २२ वर्षीया अस्मिता, न्युज २४ टेलिभिजनमा ‘जनतासँग सिधा कुरा’ कार्यक्रम प्रस्तोता रवि लामिछाने र सोही कार्यक्रमका पत्रकार युवराज कँडेललाई लगाएका छन् ।

यही भिडियो बयानका कारण प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २, परिच्छेद १२ को आत्महत्या कसुरअन्तर्गत आत्महत्या दुरुत्साहनअन्तर्गत तीनै जनालाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा राखेको छ ।

रवि पक्राउ परेलगत्तै उनका समर्थकले भरतपुरलगायत देशका विभिन्न भागमा प्रदर्शन चर्काउँदै आएका छन् । सांसदहरूले प्रतिनिधिसभामा समेत रवि पक्राउ घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताइरहेका छन् । सामाजिक सञ्जाल र युट्युबमा समेत यही घटनाको चर्चापरिचर्चा भइरहेको छ ।

चर्चाको यो कोलाहलमाझ छायामा परेकी अस्मिताबारे कान्तिपुरले गरेको खोजले उनी कसरी परिबन्दमा परेकी थिइन् भन्ने मात्रै देखाउँदैन, आत्महत्या गरेका पत्रकार शालिकरामले उनलाई कसरी निरन्तर मानसिक यातना दिइरहेका थिए भन्ने पनि प्रस्ट पार्छ ।

कान्तिपुरले यो घटना केलाउन शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएमएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य भेट्टाएको छ, जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष संलग्नता नरहेको देखाउँछ ।

अस्मिताका दाइ जगतले शालिकरामले अस्मिता र आफ्नोसमेत नाम लिएर बोलेको भिडियो अनलाइनमार्फत सार्वजनिक भएपछि मात्रै आफूले बहिनीको प्रेम सम्बन्ध र त्यसका उल्झनबारे जानकारी पाएको सुनाए । ‘म अस्पतालमा रहेका बेला एक जना बहिनीले यस्तो भिडियो आएको छ । तपाईं र अस्मितालाई पनि शालिकरामले पोलेको छ भनिन्,’ उनले भने, ‘राति घर गएर भिडियो हेरें ।’

जेठा दाइ साउदी अरबमा रहेको र अन्य भाइबहिनी सानै भएकाले जगतले बहिनी अस्मिता र कान्छा भाइको अभिभावकत्व गरिरहेका छन् । चाबहिलको एक फर्मास्युटिकलको व्यवस्थापन शाखामा कार्यरत जगतले घटना सुनेपछि ओखलढुंगाको गाउँमा रहेका बुबा साह्रै सुर्ताएको सुनाए । ‘बुबाले मलाई केकसो हो, कुरा थाहा छैन । के गर्नुपर्छ गरेर मिलाओ भन्नुभा’छ,’ उनले भने ।

जगतले केकसो भएको हो भन्नेबारे धेरै कुरा मेसो पाएका छैनन् । उनले आफ्नी बहिनीको सोझोपनाको फाइदा शालिकरामले उठाएको र महिनौंसम्म परिबन्दमा पारेको भन्नेचाहिँ निष्कर्ष निकालेका छन् । घटनापछि कैयौं युट्युब च्यानलले उनलाई पछ्याइरहेका छन् । र बोल्न दबाब दिइरहेका छन् ।

घटनाबारे अनेक तथ्य, भ्रम र हुने, नहुने कुरा सामाजिक सञ्जालमा आइरहेकोबारे पनि जगतले धेरथोर थाहा पाएकै छन् । ‘यस्तो पनि हुन्छ भन्ने के कल्पना थियो र ?’ आमाकै उपचारमा निरन्तर अस्पताल र डेरा गर्दागर्दै थाकेका उनले सुनाए, ‘यता आमाको बिमारमा सुधार छैन । उता बहिनीको अवस्था त्यस्तो छ । कति तनाव छ, कसरी भन्नु ?’ बहिनी र शालिकरामबीच गोप्य एसएमएस कसले र किन सार्वजनिक गरेको हो भन्ने प्रश्न पनि उनले गरे । ‘अनुसन्धान चल्दै गर्दा गोपनीयताको ख्यालै नगर्ने काम भयो,’ उनले भने ।

अस्मिता थुनामा परेको एक साता बितिसक्दा पनि आफूहरूले आमालाई केही थाहा नदिएको उनले जानकारी दिए । ‘आमालाई कडा औषधि चढाइएको छ । बेलाबेला मात्र ब्युँझेर कुरा गर्नुहुन्छ,’ उनले भने, ‘अनि अस्मिता खै भन्नुहुन्छ । हामीले ड्युटीमा छे भनेर ढाँटेका छौं ।’

शालिकरामले अस्मितालाई प्रेमको नाममा महिनौंसम्म मानसिक यातना दिएको अस्मिता कार्यरत अस्पताल बीपी स्मृति अस्पतालकी सेयर सदस्यसमेत रहेकी स्टाफ नर्स जिता बरालले बताइन् । शालिकरामको आत्महत्यापछि अस्मिताले सम्बन्धबारे आफूलाई विस्तृतमा बताएको उनको भनाइ छ ।

भनिन्, ‘शालिकरामले अस्पतालका चिनेजानेका सबैलाई अस्मितालाई श्रीमतीकै रूपमा चिनाएको थियो । तर पछि पो थाहा भयो, उसले अनेक घुर्की देखाएर अस्मितालाई मानसिक दबाबमा राखेको रहेछ ।’ त्यसो त शालिकरामले अन्य केही पत्रकार साथीहरूलाई समेत अस्मिता आफ्नी श्रीमती रहेको बताएको देखिन्छ ।

शालिकरामले आफूले अस्मितालाई जागिर लगाइदिएको बताए पनि अस्पतालका अध्यक्ष केदारनरसिंह केसीले अस्मिताले खुला प्रतिस्पर्धामा नाम निकालेको दाबी गरे । ‘अरू धेरै कुरा त मलाई थाहा भएन । तर शालिकरामले भनेर नाम निस्केको भने होइन,’ केसीले भने ।

भिडियो सार्वजनिक भएपछि अस्मिता निकै धेरै रोएको र आफूहरूले कैयौं दिनसम्म सम्झाउनुपरेको जिताको भनाइ छ । अस्मिता नक्कली मायाको फन्दामा परेर मानसिक यातना खेप्न बाध्य भएको उनको दाबी छ ।

भिडियो सार्वजनिक भएपछि आफैंले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लसँग कुरा गरेर अनुसन्धानमा आवश्यक सहयोग गर्ने कुरा गरेको उनले सुनाइन् । ‘अस्मितालाई चितवन लैजाने साँझ मात्रै हामीले रवि पक्राउ परेको थाहा पायौं । अस्मिताले त चितवन पुगेपछि मात्रै हो रविलाई देखेको,’ जिताले भनिन् ।

सम्बन्धको उतारचढाव
निम्न मध्यमवर्गीय परिवारकी आठ सन्तानमध्येकी एक अस्मिताले एसएलसी पास गरेपछि सुनसरीको इनरुवास्थित एक कलेजबाट तीनवर्षे नर्सिङको प्रमाणपत्र तह पढेकी थिइन् । पढाइ सकिएपछिका केही महिना उनी गाउँ गई बसिन् ।

गतवर्षको दसैंपछि काठमाडौंको रानीबारीमा बस्दै आएका दाइसँग बसी उनले नर्सिङको लाइसेन्स लिएकी हुन् । लाइसेन्स हात परेपछि जागिरको खोजीमा रहेकै बेला फेसबुकमार्फत उनको चिनजान शालिकरामसँग भएको हो । गत वर्षको पुसबाट उनीहरूबीच सम्बन्ध सुरु भएको देखिन्छ । सम्बन्धका करिब आठ महिना अनेक उतारचढाव र घुम्तीहरूले भरिएको देखिन्छ ।

अस्मिताका निकट साथी र उनीहरूबीचको फेसबुक कुराकानी केलाउँदा शालिकरामले आफूलाई नर्स एकदमै मनपर्ने बताउँदै अस्मितासँग नजिकिन खोजेको देखिन्छ । शालिकरामले एकपछि अर्को झूटको सहारा लिएर अस्मितालाई मायाजालमा पारेको उनीहरूको कुराकानीबाट पुष्टि हुन्छ ।

शालिकरामले आफ्नी पूर्वप्रेमिका पनि स्टाफ नर्स रहेको, उनी सडक दुर्घटनामा त्रिशूलीमा खसेर मरेको र उसको अनुहार पनि तिम्रो जस्तै थियो भनेर भावनात्मक कुरा गर्दै अस्मितालाई मायामा फसाएको देखिन्छ । अस्मितालाई बिहीबार र शुक्रबार थुनुवा कक्षभित्रै भेटेर लामो कुराकानी गरेकी अधिवक्ता फूलमाया रानाभाटलाई पनि अस्मिताले यही कथा सुनाएकी थिइन् ।

अस्मिता र शालिकरामबीचको कुराकानीले पनि यही तथ्यको झलक दिन्छ । केही साताको संवादपछि शालिकराम र अस्मिताबीच प्रेमसम्बन्ध सुरु भएको देखिन्छ । आफू अविवाहित रहेको र ख्यातिप्राप्त सञ्चारकर्मी रवि लामिछानेसँग काम गर्ने भन्दै उनले आफ्नो ओजपूर्ण व्यक्तित्वलाई आधार बनाएर अस्मितासँग सम्बन्ध गाँसेको देखिन्छ ।

पूर्वप्रेमिकाको मृत्यु भएको भन्ने शालिकरामको कुरामा अस्मिताले बारम्बार अविश्वास गरेको पनि देखिन्छ । अस्मिताले कस्ती थिइन् त खै पूर्वप्रेमिका, फोटो पठाऊ भनेर प्रश्न गरेपछि भने शालिकराम बारम्बार तर्किएको देखिन्छ । उनीहरूको कुराकानीबाट अस्मिताको प्रश्न शालिकरामले बारम्बार टार्दै आएको पुष्टि हुन्छ । आफूलाई सत्य सावित गर्न शालिकरामले एकपछि अर्को झूटको सहारा लिएका छन् ।

अस्मिताले बारम्बार पूर्वप्रेमिकाको फोटो मागेपछि शालिकरामले आफ्नै आफन्त पर्ने एक युवतीको तस्बिर पठाएका थिए । अन्त्यमा अस्मिताले झूट पक्रिएपछि भने शालिकरामले आफूले प्रेम गर्नकै निम्ति त्यसो गरेको र माया नगरे जे पनि गर्न सक्ने भन्दै सम्बन्धलाई निरन्तरता दिइरहे ।

सम्बन्धको एकाध महिनापछि नै शालिकरामले अस्मितालाई बिहे गर्न दबाब दिएको देखिन्छ । उनीहरूबीच फेसबुक म्यासेन्जरमा भएको कुराकानीमा शालिकरामले कोर्ट म्यारिज गर्न अस्मितालाई बारम्बार दबाब दिँदै अनेक घुर्की लगाएको पाइन्छ । चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’ उनले यो म्यासेजमा आफूसँग रवि दाइ रिसाएको उल्लेख गरेका छन् ।

आफ्ना दाइहरू पनि अविवाहित रहेको र आफू पनि खुट्टामा नउभिइसकेको भन्दै अस्मिताले तत्काल विवाह गर्ने प्रस्ताव अस्वीकार गरिरहेकी थिइन् । शालिकरामले कोर्ट म्यारिज नै गर्न दबाब बढाइरहे पनि अस्मिता सशंकित देखिन्छिन् । तर शालिकरामले निरन्तर उनीमाथि कोर्ट म्यारिज नगरे जे पनि हुने भन्दै दबाब दिइरहन्छन् । चैत ९ र १२ मा पनि शालिकरामले अस्मितालाई बिहे गर्न दबाब दिएका थिए । चैत १२ को म्यासेजमा लेखिएको छ, ‘आज पनि भन्छु, विवाह गरौं । जेजे हुन्छ सब म गर्छु ।’

जवाफमा अस्मिताले विवाह गर्न समय लाग्ने भन्ने आफ्नो अडान राखेकी छन् । प्रत्युत्तरमा शालिकरामले कोर्ट म्यारिज गर्ने दबाब दिँदै त्यसका निम्ति फोटो र नागरिकता मागेको देखिन्छ ।

त्यसो त सम्बन्धमा आएका प्रत्येक उतारचढावमा शालिकरामले मर्ने धम्की दिँदै सम्बन्धलाई निरन्तरता दिएको देखिन्छ । पुस २८ मा पनि उनले अस्मितालाई लेखेका छन, ‘ओके, बाई । मेरो लास चाँडै देख्नेछ्यौ । अब त अति भयो, सहन सक्दिनँ ।’

शालिकराम सम्बन्ध जसरी पनि अघि बढाउने र त्यसका निम्ति जस्तोसुकै मूल्य पनि चुकाउन तयार देखिन्छन् । जब कि शंकास्पद व्यवहार र झूटहरूको जगमा बढेको सम्बन्धका कारण आजित अस्मिताले शालिकरामसँग सम्बन्धलाई अगाडि नबढाउन बारम्बार प्रयत्न गरेको देखिन्छ । जस्तो कि माघ २ मा भएको कुराकानीमा पनि शालिकरामले बारम्बार भेट्न दबाब दिएका छन् । अस्मिताले आफू बिरामी भएकाले भेट्न नसक्ने बताइरहेकी छिन् । शालिकरामले मेरो माया चाहिँदैन भन्दै घुर्की देखाउँदै आफूसँग जसरी भए पनि भेट्न अनुरोध गरिरहेको देखिन्छ ।

एक दिन शालिकरामले राति ९ः५५ मिनेटमा अस्मितालाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाब दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाब दिएको देखिन्छ । उनले ८ बजेर ५५ देखि १० बजेर ९ मिनेटको बीचमा पठाएका चारवटा म्यासेज यस्ता छन्—
८ः५५– कसम अब त अति भयो। तिम्रो दाइलाई भन्छु ।
९ः५५– म कसम दाइसँग कुरा गर्छु । अब जे हुन्छ हुन्छ, नत्र एक पटक फोन रिसिभ गर त ।
१०ः०७–तिम्रो रुमअगाडि आएको छु । बोलाऊ, कि हर्न बजाको छु सुन । फोन रिसिभ गर ।
१०ः०९–कसम गेट ढकढक गरेर नाम लिएर बोलाउन नपरोस् है ।

शालिकरामका निम्ति अस्मितालाई दबाबमा राख्ने बलियो हतियार ‘मर्ने घुर्की’ पनि देखिन्छ । माघ २९ मा शालिकरामले विषादीको सानो बट्टा हातमा लिएको फोटो अस्मितालाई फेसबुकमा पठाएका छन् र लेखेका छन्, ‘म पागल भएको छु । अब मेरो अन्तिम कुरा यही हो ।’ यो दिन शालिकरामले आफ्नो छटपटी समेटिएका लामो व्यहोराका म्यासेज अस्मितालाई पठाएको देखिन्छ ।

माघबाट सुरु भएको अस्मिता र शालिकरामको सम्बन्धको छटपटी त्यसपछिका महिनामा उचारचढावमा बितेको देखिन्छ । फागुन २७ मा पनि शालिकरामले अस्मितालाई भेटन बाध्य पार्न खोजेको देखिन्छ । उनले आफू अफिसअगाडि नै आएर जसरी पनि भेटिछाड्ने मनसाय राखेको प्रस्टिन्छ । शालिकरामले आफूलाई नभेटे रातको समयमा घरअघि आएर नामै लिएर बोलाउने भन्दै पनि धम्क्याएको देखिन्छ ।

सम्बन्धको झन्डै चारपाँच महिनासम्म पनि शालिकरामले आफू विवाहित रहेको तथ्य लुकाइरहेका थिए । एक दिन कुरैकुरामा शालिकरामको मुखबाट अनयासै सम्झनाको नाम सुनेपछि अस्मिता झसंग भएकी थिइन् । सुरुमा त उनले शालिकरामकी अर्की प्रेमिका रहेको र उनको नाम सम्झना रहेको निष्कर्षमा पुगेकी थिइन् ।

जब कि अस्मिताको यो शंकालाई शालिकरामले घरी घुर्की र घरी रुवाइले टार्दैछल्दै आएका थिए । शालिकरामको व्यवहार शंकास्पद बन्दै गएपछि उनीहरूको सम्बन्धमा उतारचढाव आएको देखिन्छ । एक दिन अस्मिताले शालिकरामको फेसबुकको ब्लक लिस्टमा सम्झना घिमिरेको नाम देखेपछि कथाले नयाँ मोड लिन्छ ।

अस्मिताले सम्झनासँग फेसबुकमार्फत कुरा थाल्छिन् । र सम्झनालाई उनका श्रीमान्को विवाहेतर सम्बन्धबारे बताउँछिन् । सँगै आफूलाई झूट बोलेर कसरी शालिकरामले झुक्याए भन्नेबारे पनि खुलाउँछिन् । श्रीमती र प्रेमिका दुवैले आफ्ना झूट थाहा पाएपछि शालिकराम मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । र, अन्तिम समयसम्म पनि आफू विवाहित रहेको कुरा झूट भएको बताउँदै अस्मितालाई घुर्की लगाइरहेको पाइन्छ ।

अस्मिताले शालिकराम विवाहित रहेको हो कि होइन भन्ने पुष्टि गर्न अनेक स्रोत र सम्पर्क कुराकानी गरेको देखिन्छ । उनले सम्झना शालिकरामकी साँच्चै श्रीमती हुन् वा होइनन् भन्ने पुष्टि गर्न सम्झनालाई शालिकरामसँगका फोटो पठाउन भनेको देखिन्छ ।

यसबाट बुझिन्छ, शालिकरामले विवाहित रहेको कुरा निरन्तर इन्कार गरेपछि अस्मिता त्यसलाई प्रमाणित गर्न लागिपरेकी थिइन् । फेसबुक म्यासेन्जरमा सम्झनाले अस्मितालाई लेखेकी छिन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’ सम्झनाको यो म्यासेजबाट विवाहेतर सम्बन्ध श्रीमतीले थाहा पाएपछि शालिकरामले श्रीमतीलाई समेत मानसिक रूपमा धम्की दिएका थिए ।

अस्मिताले शालिकराम विवाहित रहेको पुष्टि गर्न सम्झनालाई निकै सम्झाएर विश्वासमा लिएको देखिन्छ । कान्तिपुरले विश्वस्त स्रोतबाट प्राप्त गरेका कागजात केलाउँदा प्रस्टिन्छ, साउन ८ गतेतिर सम्झनाले शालिकरामसँग अँगालो मारेको तस्बिर अस्मितालाई पठाएकी थिइन् । अस्मिताले आफू विवाहित रहेको पुष्टि गरेपछि र विवाहेतर सम्बन्धबारे श्रीमती जानकार रहेपछि शालिकराम मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । सम्बन्धको उतारचढावका बेला पनि उनले अस्मितालाई बिहे गर्न दबाब दिइरहेकै थिए ।

कान्तिपुरसँगको कुराकानीमा शालिकराम पत्नी सम्झनाले घटनाको अघिल्लो दिन पनि अस्मितासँग आफ्नो फोनमा कुराकानी भएको बताइन् । आफ्ना पतिको विवाहेतर सम्बन्धबारे घटनाको केही दिनअघि मात्रै आफूले थाहा पाएको र अस्मितासँग फेसबुक म्यासेन्जरमा कुराकानी भएको स्विकारिन् ।

शालिकराम र अस्मिताबीचको फेसबुक म्यासेन्जर र सम्झनासँगको कुराकानीबाट अनेक झूटको सहारामा शालिकरामले खडा गरेको विवाहेतर प्रेम बिथोलिएपछि उनी मानसिक रूपमा विक्षिप्त बनेर चितवन गएको देखिन्छ ।

शालिकरामले चितवन पुगेपछि पनि अस्मितालाई फेसबुकमा म्यासेज छाडेको देखिन्छ । अन्तिम म्यासेजमा उनले लेखेका छन, ‘अति भयो अब । मर्नुभन्दा अरु उपाय छैन । खुसीसँग बाँच्नू, रमाउनुहोस् हाँसीखुसी ।’ त्यसो त उनले चितवन जानुभन्दा केही दिनअघि आफू बिरामी रहेको र अस्पताल गएर जँचाई औषधि खाइरहेको भन्दै अस्पतालको जाँच पुर्जाको फोटो पठाएको देखिन्छ ।

त्यसो त अस्मिताले जिद्दीवाल शालिकरामबाट मुक्ति पाउन अनेक व्यक्तिसँग परामर्श र सल्लाहको प्रयास गरेको पनि देखिन्छ । कान्तिपुरले गरेको अध्ययनले उनले बहराइनमा रहेका रवि लामिछाने निकट एक व्यक्ति र न्युज २४ मा कार्यरत केहीसँग शलिकरामले कसरी आफूलाई अविवाहित रहेको भनेर झुक्याएर प्रेम गरे र कसरी बिहे गर्न दबाब दिँदै मानसिक रूपमा विचलित बनाए भनेर बताएको पाइन्छ ।

अस्मितालाई भेटेकी अधिवक्ता फूलमायाले उनी महिनौंदेखि शालिकरामको मानसिक र यौनिक हिंसामा परेको बताइन् । उनले कान्तिपुरसँग टेलिफोनमा भनिन्, ‘शालिक जीवितै रहेको भए ऊमाथि महिला हिंसा गरेको पुष्टि हुने कैयौं आधार छन् ।’ अस्मिता महिनौंसम्म मानसिक हिंसा र दबाबमा बाँच्न बाध्य भएको उनको भनाइ छ ।

रविलाई शालिकरामको म्यासेज
अस्मिता र शालिकरामबीचको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । रविको ख्यातिलाई शालिकरामले बारम्बार भजाउन खोजे पनि उनीहरूको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन ।

शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरूले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

कान्तिपुरलाई प्राप्त उक्त स्क्रिनसट धमिलो देखिन्छ । त्यसमा उनले आफूहरूको सम्बन्धबारे ‘सिधा कुरा जनतासँग’ टिम जानकार रहेको संकेत गरेका छन् । आफूलाई खोज्न प्रयास नगर्न भन्दै उनले लेखेका छन्, ‘धेरै कुरा सोचेर मन बुझाउन सकिनँ दाइ ।’

अस्मिताका नजिकका साथी, उनी कार्यरत अस्पतालका सहकर्मी, उनका दाइ र अस्मितासँग कुराकानी गरेकी अधिवक्तासँग कान्तिपुरले गरेको कुराकानीबाट उनीहरूको सम्बन्धबारे सञ्चारकर्मी रवि पूर्णजानकार देखिँदैनन् । ‘रविसँग न कहिल्यै अस्मिताको कुरा भएको देखिन्छ, न उनीहरूबीच चिनापर्ची नै देखिन्छ,’ अधिवक्ता फूलमायाले अस्मितालाई उद्धृत गर्दै भनिन् ।

त्यसो त शुक्रबार मात्रै पत्रकार टेकनारायण भट्टराईमार्फत बाहिरिएको रविको अडियो अन्तर्वार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनाजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद नभएको दाबी गरेका छन् ।

शालिकराम विवाहित रहेको थाहा पाएपछि पनि शालिकरामले बारम्बार मानसिक तनाव दिन थालेपछि अस्मिताले सम्बन्धबाट छुटकारा मिलाइदिन रविले प्रयास गरिदिए हुने भन्ने मनसाय राखेको देखिन्छ । अस्मिताले न्युज२४ मा कार्यरत केही पत्रकारलाई भेटेरै शालिकरामबारे कुरा राखेको र समस्या समाधान निम्ति पहल गरिदिन अनुरोध गरेकी थिइन् ।

त्यही पहलका दौरान अस्मिताले शालिकरामसँगको च्याटको स्क्रिन सट न्युज२४ का पत्रकार अनिल ढुंगेललाई दिएको अस्मिता निकट साथीहरूले बताए । शालिकरामको आत्महत्यामा रवि मुछिएपछि केहीले सोही कुराकानीको स्क्रिन सट सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै रवि निर्दोष रहेको स्टाटस लेखेका थिए ।

कान्तिपुरले गरेको टेलिफोन कुराकानीमा भने अनिलले यसबारे खुलेर कुरा गरेनन् । ‘थाहा भएन । म यस विषयमा बोल्न चाहन्नँ । मैले अदालतमा बोल्ने हो,’ उनले भने । अस्मिताले तपाईंलाई शालिकरामसँग भएको कुराकानीको केही प्रमाण दिएकी थिइन् भन्ने प्रश्नमा उनले भने, ‘मलाई केही थाहा छैन । मलाई फोन नगर्नुस् ।’

शालिकरामले आत्महत्या गरेको २ दिनपछि न्युज२४ बाट अस्मितालाई फोन गएको देखिन्छ । अस्मिता कार्यरत बीपी स्मृति अस्पतालकी सेयर सदस्यसमेत रहेकी स्टाफ नर्स जिता बरालले न्युज२४ बाट बारम्बार अस्मितालाई अन्तर्वार्ताका निम्ति फोन आएको तर आफूहरूले मिडियामार्फत सार्वजनिक हुँदा अस्मितालाई सार्वजनिक रूपमा अप्ठ्यारो आउन सक्ने भएकाले प्रस्ताव अस्वीकार गरेको बताइन् ।

आमाको उपचारका निम्ति अस्मिता ग्रिनसिटी अस्पतालमा रहेका बेला न्युज२४ कै पत्रकार बताउने केहीले आफूहरू अस्पताल बाहिर रहेको र थोरै भए पनि कुरा राखिदिन भन्दै बारम्बार आग्रह गरेका थिए ।

शालिकरामको आत्महत्यापछि किन न्युज२४ ले बारम्बार अस्मिताको अन्तर्वार्ता गर्ने प्रयास गर्‍यो ? के त्यसमा रविको कुनै भूमिका थियो ? यसबारे भने केही तथ्य खुलेको छैन ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

क्रिएटिनिनले बताउँछ मृगौला स्वास्थ्य

मेटाबोलिज्म प्रक्रियाद्वारा खाना ऊर्जामा परिवर्तन हुने क्रममा बन्ने क्रिएटिन विघटित भएर क्रिएटिनिनमा बदलिन्छ
अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको रगतमा ‘क्रिएटिनिन’ को मात्रा बढे पछि यो शब्द यतिबेला चर्चा र चासोमा छ । ओली उपचारका लागि दुई साता भित्रै दोस्रो पटक उपचार गर्न सिंगापुर उडे । शरीरबाट निस्किने यही व्यर्थ पदार्थ अर्थात् ‘क्रिएटिनिन’ ले स्वास्थ्यस्थितिमा पार्न सक्ने प्रभाव र असरबारेमा जनचासो हृवात्तै बढेको छ ।


प्रम ओलीको स्वास्थ्य बिग्रनुको पहिलो संकेत रगतमा देखिएको क्रिएटिनिनको वृद्घिलाई मानिएको छ ।

रगतमा सामान्यभन्दा बढी मात्रामा देखिएको यही ‘क्रिएटिनिन’ ले प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आउन थालेपछि थप उपचार जरुरी देखिएको हो । मेटाबोलिक पदार्थ ‘क्रिएटिन’ ले हाम्रो भोजनलाई ऊर्जामा परिवर्तन गर्न सघाउँछ र टुटेर ‘क्रिएटिनिन’ नामक व्यर्थ पदार्थमा परिवर्तित हुन्छ ।

‘अर्को भाषामा भन्ने हो भने जब मेटाबोलिज्म प्रक्रियाद्वारा खाना ऊर्जामा परिवर्तन हुन्छ तब क्रिएटिनको निर्माण हुन्छ,’ धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘यही क्रिएटिन विघटित भएर क्रिएटिनिनमा बदलिन्छ ।’ यो क्रिएटिनिनलाई मृगौलाले रगतबाट छानेर पिसाबको माध्यमले व्यर्थ पदार्थको रूपमा शरीर बाहिर निकाल्छ ।

‘यो प्रक्रिया तपाईंको मृगौलाले सही रूपमा काम गरिरहेको अवस्थामा सहज रूपमा जारी रहन्छ,’ धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नेफ्रोलजिस्ट डा. सुमित आचार्य भन्छन् । तर क्रिएटिनिनकोमात्रा बढ्नु भन्नुको तात्पर्य मृगौला समस्याग्रस्तभएर यो व्यर्थ पदार्थ शरीरबाट बाहिर सहज रूपमा ननिस्कनु हो ।

मानिस सामान्यतः दुईवटा मृगौलासँगै जन्म लिए पनि मात्र एउटा मृगौलासमेत प्रभावकारी रूपमा सबै महत्त्वपूर्ण काम गर्न सक्षम हुन्छ । सामान्य रूपमा ५ देखि १० प्रतिशतसम्म मृगौला खराब भएको अवस्थामा ‘क्रिएटिनिन’ नबढने औंल्याउँदै डा.आचार्य भन्छन्, ‘करिब २५ प्रतिशतसम्म मृगौला खराब हुँदा पनि सामान्यतः क्रिएटिनिन बढ्दैन ।’ क्रिएटिनिन मृगौला खराब भइसकेपछि मात्र बढ्ने गर्छ ।

क्रिएटिनिन र युरिया मृगौलाले उत्पादन गर्ने दुइटा काम नलाग्ने व्यर्थ पदार्थ हुन् । रगतमा यसको मात्राले मृगौलाको कार्यक्षमतालाई प्रदर्शित गर्छ । रगतमा क्रिएटिनिनको सामान्य मात्रा पुरुषमा ०.६ मिलिग्राम प्रतिशतदेखि १.२ मिलिग्राम प्रतिशत हुन्छ भने महिलामा ०.६ मिलिग्राम प्रतिशतदेखि १.१ मिलिग्राम प्रतिशतसम्म हुन्छ । यस्तै युरियाको मात्रा २० देखि ४० मिलिग्राम प्रतिशत हुन्छ । दुवै मृगौला बिग्रिँदा, मृगौलाको कार्य क्षमतामा ह्रास आउँदा रगतमा क्रिएटिनिन र युरियाको मात्रा उच्च स्तरमा पुग्छ ।

विशेषज्ञका अनुसार, मृगौलाको कार्यक्षमता जाँच गर्न रगतमा युरियाको परीक्षण गर्नभन्दा क्रिएटिनिनको स्तर परीक्षण गर्दा बढी विश्वसनीय हुन्छ । भनिन्छ, ४० वर्ष पुगेपछि उमेरजन्य कारणले बर्सेनि एक प्रतिशतका दरले मृगौलाको कार्यक्षमतामा ह्रास आउँछ ।

उमेर बढ्दै गएपछि क्रिएटिनिन माथिल्लो स्तरमा जान सक्ने औंल्याउँदै डा. आचार्य भन्छन्, ‘८० वर्षे बूढापाकाहरूका लागि रगतमा क्रिएटिनिनको स्तर १.२ मिलिग्राम प्रतिशत हुनु सामान्य नै मानिन्छ ।’ हामीले बोलचालमा भन्ने ‘किड्नी फेल’ हुनुको अर्थ दुवै मृगौलाको कार्यक्षमतामा कमी आउनु हो । रगतमा क्रिएटिनिन र युरियाको मात्रामा वृद्घिले किड्नी फेल भएको संकेत गर्छ ।

चार दशक नाघेकाहरूले कम्तीमा वर्षमा एकपटक रक्तचाप परीक्षणसँगै रगतमा क्रिएटिनिनको मात्रा र सामान्य पिसाब परीक्षण गराएर मृगौलाको स्वास्थ्य स्थितिबारे जानकारी लिन सक्ने डा. श्रेष्ठ औंल्याउँछन् ।

क्रिएटिनिन देखिनुभन्दा अगावै पिसाबको सामान्य परीक्षणमा प्रोटिन र रगत देखियो भने पनि यसले मृगौलाको समस्याको संकेत गर्छ ।

यस्तो स्थितिमा तुरुन्त विशेषज्ञको सल्लाह लिएर भविष्यमा हुन सक्ने मृगौलाको जटिल समस्यामा जोगिन सकिन्छ ।
तर मृगौला फेल भएका बिरामीलाई नियमित रूपमा रगतमा क्रिएटिनिन र युरियाको मात्राको परीक्षण गराउँदै रहनुपर्छ । यो क्रोनिक (दीर्घकालीन) किड्नी फेलिअर (मृगौलाले काम नगर्नु) को पहिचान र उपचार एवं नियन्त्रणका लागि महत्त्वपूर्ण परीक्षण हो ।

यसले मृगौला कति बिग्रेको छ र उपचारले कति सुधार भएको छ भन्नेबारेसमेत जानकारी प्राप्त हुन्छ ।

मृगौला प्रत्यारोपण भएकामा क्रिएटिनिन बढ्दा
मृगौला प्रत्यारोपण गराएकामा क्रिएटिनिन बढेमा प्रत्यारोपित मृगौलामा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म समस्या छ भन्ने बुझ्नुपर्नेडा.आचार्य बताउँछन् ।

यो प्रत्यारोपित मृगौलाको एक्युट (तीव्र) रिजेक्सन (अस्वीकार) र क्रोनिक (दीर्घकालीन) रिजेक्सन भएमा क्रिएटिनिन बढ्छ ।

मृगौला बचाउने इम्युनोसप्रसेन्ट (प्रतिरोधक क्षमता कम गर्ने) औषधि ‘टेक्रोलिमस’ ले पनि विस्तारै मात्रा बढी भयो भने मृगौलामा नकारात्मक असर परेर क्रिएटिनिन बढ्न सक्ने डा.आचार्य औंल्याउँछन् ।

यस्तै क्रोनिक रिजेक्सन (लामो समय लगाएर विस्तारै अंगलाई शरीरले अस्वीकार गर्नु) भए पनि विस्तारै क्रिएटिनिन बढ्दै जान्छ र मृगौला खराब हुँदै गएको संकेत दिन्छ ।

रगतमा क्रिएटिनिन बढ्नुको कारण
लामो समयदेखि मृगौलाको रोग रहेका तथा तमांसपेशीमा गम्भीर चोट (रेडिमायोलिसिस) भएका विरामीको रगतमा क्रिएटिनिन बढ्ने गर्छ ।

त्यसैगरी, पालिमायोसिटिस, अत्यधिक व्यायाम गर्नेरक्तचापमा कमी, घातक संक्रमण भएका व्यक्ति, कार्बन मोनोअक्साइडको असर र गर्भावस्थामा रहेका विरामीमा पनि सामान्यतया अन्यको तुलनामा क्रिएटिनिन बढ्ने समस्या देखिन्छ ।

मृगौलाले के गर्छ ?
शरीरमा सिमी आकारको करिब उस्ताउस्तै आकारको दुइवटा अंग मृगौला हाम्रो मुठीजत्रै हुन्छ । मृगौला पेटभित्र, पछाडिको खण्डमा ढाडको हाडको दुवैतर्फ छातीको करङबाट सुरक्षित रहेको अवस्थामा हुन्छ । चिकित्सा तथ्यपत्रअनुसार दुवै मृगौलाभित्र दसौं लाख ‘नेफ्रोन’ भनिने ससानो संरचना हुन्छ जसले रगतलाई शुद्घ पार्छ । यसले फोहोर पदार्थ रअतिरिक्त पानी हटाउँछ जो पिसाबको रूपमा शरीर बाहिर निस्किन्छ ।

मृगौलाले रगतभित्र हुने शरीरमा नोक्सान पुर्‍याउने पदार्थहरूलाई बाहिर निकाल्न महत्त्वपूर्ण भूमिका खेल्छ । यति मात्र नभएर मृगौलाले हार्मोन निर्माण गर्नु, पिसाब बनाउनु, मिनरलको अवशोषण गर्नु, अम्लको सन्तुलन कायम राख्नु लगायत कामसँगै विषाक्त पदार्थहरू शरीर बाहिर फ्याँक्ने कामसमेत गर्छ ।

मुटुद्वारा पम्प गरिएको रगतको करिब २० प्रतिशत जति मृगौलामा गएर त्यहाँबाट प्रशोधित भएर पुनः मुटुमा फर्किन्छ । अर्थात् मुटुबाट प्रत्येक मिनेट निस्किने रगतको पाँचौं भागमा मृगौलामा जान्छ । मृगौलाले शरीरमा नुन पानीको सन्तुलनसमेत कायम राख्छ ।

मृगौला स्वस्थ राख्न
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ डाइबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज (एनआईडीडीके) का अनुसार मृगौलालाई स्वस्थ राख्न आफ्नो रक्तचापलाई तपाईंको चिकित्सकले भनेअनुसार नियन्त्रणमा राख्ने गर्नुपर्छ ।

धेरैजसो व्यक्तिका लागि रक्तचापको लक्ष्य १४०/९० एमएमएचजीभन्दा कम हुनुपर्छ । यसले मृगौला फेल हुने क्रमबाट जोगाउँछ वा मत्थर पार्छ । मधुमेह भएकाहरूले आफ्नो रगतमा भएको ग्लुकोजको स्तर नियन्त्रणमा राख्नुपर्छ । यस्तै कोलेस्ट्रोलको स्तरसमेत सन्तुलित राख्नुपर्छ ।

केही रक्तचापको औषधिले मृगौलालाई जोगाउने गरेकाले चिकित्सकले भनेअनुसारको औषधि सेवन गर्नुपर्छ । नुन कम खानुपर्छ । दिनहुँ २३ सय मिलिग्रामभन्दा कम नुन उपयोग गर्नुपर्छ । खानपानअन्तर्गत मुटुका लागि स्वस्थकर मानिएका खाद्यपदार्थ रोज्नुपर्छ । ताजा फलफूल/सागसब्जी, अनाज र कम बोसो, चिल्लो भएको दुग्ध उत्पादन सेवन गर्नुपर्छ ।

दिनहुँ थप शारीरिक रूपले सक्रिय हुनुका साथै मदिरा सेवनलाई सीमित गर्नुपर्छ । बढी तौल भएजीउ घटाउनुपर्छ । धूमपानको अम्मली भएकाहरूलेयो बानी छोड्नुपर्छ । धूमपानले मृगौला क्षति झन्बढी हुन्छ ।

लक्षण
  • सामान्यतः अनुहार सुन्निनु
  • आँखा सुन्निनु
  • वान्ता हुनु
  • कमजोरी लाग्नु
  • छिट्टै थाक्नु
  • शरीरमा रगतको कमी
  • कम उमेरमा उच्च वा अनियन्त्रित रक्तचाप हुनु
  • कम्मरको तल्लो खण्डमा दुख्नु
  • पिसाब धमिलो हुनु वा रातो हुन

रोग लागेपछि
  • पिसाबमा कमी
  • थकाइ
  • वाक्वाकी
  • खुट्टा सुन्निनु
  • अनिद्रा
  • भोक कम लाग्नु
  • बिनाकारण जीउ चिलाउने
  • आाखा समस्या
  • सास फेर्न समस्या

प्रकाशित : भाद्र ७, २०७६ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्