कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले अस्वीकार गरेकै हो ?

स्वरूप आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुपूर्व एक प्रेस नोट जारी गर्दै उनको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी दिएकी छिन् ।

के प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले अस्वीकार गरेकै हो ?

पहिलोपटक उपचारका लागि सिंगापुर जाँदा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे कुनैपनि औपचारिक धारणा सार्वजनिक नगरेका उनको चिकित्सकीय टोलीले दोस्रोपटक भने प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे केही जानकारी दिने प्रयास गरेको छ ।


डा. सिंहद्वारा हस्ताक्षरित नोटमा अघिल्लोपटक साउन १८ देखि २७ गतेसम्म न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको र त्यसै दौरान उनको शरिरमा 'एन्टीबडी'को मात्रा धेरै रहेको देखिएको बताइएको छ ।

सामान्य भाषामाभन्दा 'एन्टीबडी' भनेको शरीरमा कुनै बाहिरी तत्वले आक्रमण गरे शरीरलाई त्यस तत्वबाट जोगाउन शरीरले उत्पादन गर्ने एकप्रकारको लडाकु कोष हो ।


'१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरिरमा एन्टीबडीको मात्रा धेरै हुनुभनेको उहाँको शरिरले 'डोनर'बाट प्राप्त मिर्गौलालाई अस्वीकार गर्न थाल्यो कि भन्ने हो,' वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले भने, 'यस्तोमा प्लाज्माफेरेसिस गरेर उहाँको शरिरबाट धेरै मात्रामा रहेको एन्टीबडीलाई बाहिर निकालिन्छ । र फेरी एन्टीबडी बढ्न नदिने औषधि दिइन्छ ।' उनको अनुसार अंग प्रत्यारोपण गरिएका बिरामीमा १०-१२ वर्षपछि यस्ता समस्या देखिनु भनेको सामान्य हो ।


प्लाज्माफेरेसिस पद्दतीमा शरीरबाट रगतलाई नलीको माध्यमबाट एफेरेसिस मेसिनमा पठाइन्छ र एफेरेसिस मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी रगतबाट निकालेर अरु रगतलाई पुन: शरीरमै पठाउँछ ।


'शरीरमा अत्याधिक मात्रामा रहेको एन्टीबडीलाई निकालेपछि पुन: बढ्न नदिन केही औषधिहरु दिइन्छ । त्यो औषधिले राम्रो काम गरे प्रधानमन्त्रीज्यूलाई तत्काल मिर्गौला प्रत्यारोपणको आवश्कता रहँदैन,' उनले भने, 'तर एन्टीबडीको उत्पादनलाई नियन्त्रण गर्ने औषधिले सोचे अनुरुप कार्य नगरेको खण्डमा भने प्रत्यारोपणको विकल्प छैन ।' उनकाअनुसार कहिले काँही औषधिले राम्रै काम गर्छ भने कहिले अपेक्षा गरेभन्दा छिटो नै धेरै जटिलताहरु पनि आइपर्नसक्छ ।


डा. बरालका अनुसार प्रधानमन्त्रीको शरीरमा कुन प्रकारको एन्टीबडी कति मात्रामा बढेको हो भन्ने कुराले पनि उनको आगाडिको उपचार पद्दती निर्क्योल गर्छ । 'प्रेस नोटमा प्रधानमन्त्रीज्यूको शरीरमा एन्टीबडीको मात्रा बढेको मात्रै जानकारी दिइएको छ । त्यसैले के कस्तो प्रोटोकल अनुसार उपचार गरिने हो यसै भन्न सकिन्न,' उनले भने ।

सुरुमा प्रधानमन्त्री ओलीको साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । रेनल बायोप्सीको रिपोर्टकै आधारमा उनलाई थप परीक्षण र उपचारका लागि सिंगापुर लैजाने निर्णय भएको थियो ।

रेनल बायोप्सी मिर्गौला प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो । निकै लामो समय उपचार गरेर निको भएको थियो । उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए । त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।

गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रकाशित : भाद्र ५, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?