समितिको प्रतिवेदन सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने

रासस

काठमाडौँ — प्रतिनिधिसभा सांसद अग्नि सापकोटाले संसदीय समितिहरुले मिहिनेतका साथ छानबिन गरेर तयार गरेको प्रतिवेदनलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद सापकोटाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालका रिसोर्टका बारेमा छानबिन गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेकाले यस विषयमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।


सांसद गगन थापाले नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित सामुदायिक क्यान्सर अस्पतालका रुपमा रहेको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति विघटन गरी नयाँ व्यवस्थापन समिति गठन गरिएकामा आपत्ति जनाए ।


सांसद अतहरकमल मुसलमानले स्वतन्त्र पत्रकारिता विपरीत सरकारले दीपायल र डोटीमा रेडियो नेपालमा कार्यरत पत्रकारलाई आस्थाका आधारमा हटाइएकामा आपत्ति जनाए । सांसद जनार्दन शर्माले सहमति र सहकार्यका आधारमा अगाडि बढ्नका लागि सबै राजनीतिक दलसँग आग्रह गरे ।


सांसद अमृतादेवी अग्रहरीले सप्तरी जिल्लाका किसानलाई मलखादको अभाव भएकाकाले त्यसको आपूर्ति गर्न सरकारको ध्यानाकषर्ण गराइन् । सांसद आशाकुमारी विकले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा लोक सेवा आयोगको विज्ञापन खुलाउनुपर्ने बताइन् ।


सांसद उमा रेग्मीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने जनतालाई सरकारले लाठी चार्ज गरेकामा आपत्ति जनाइन् । बैठकमा सांसदहरु झपडबहादुर रावल, कलिला खातुन, कुमारी मेचे, गंगा चौधरी सतगौवा, गोपालबहादुर बम, गणेशकुमार पहाडी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम खतिवडा, कृष्णभक्त पोखरेल र खगराज अधिकारीले देशैभरिको सडक समस्या, कृषकका समस्या, बाढीपहिरोको समस्या र भूकम्पपछिको पुनर्निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : भाद्र ५, २०७६ १६:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिनियाँ नाका जोड्ने गेर्खुटार-बेत्रावती सडक अवरुद्ध

कृष्ण थापा

नुवाकोट — अविरल वर्षाका कारण ढुंगेबजार–बेत्रावती सडक खण्ड गेर्खुटारमा सडक अवरोध भएको छ । बुधबार राती परेको पानीले तिरतिरे भीर र गुहृय खोल्सामा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गेर्खुखोलामा अस्थायी कर्ल्भट निर्माण कार्यले पनि आवातजावतमा समस्या भएको छ ।

सडक खुलाउन गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना, स्थानीय, सशस्त्र र नेपाल प्रहरी परिचालित छन् । आयोजनाले ठेकेदारमार्फत् दुईवटा एक्साभेटर प्रयोग गरेर हृयुम पाइप हालेर अस्थायी रुपमा सडक सुचारु गर्न लागिपरेको छ । जिल्ला ट्राफिक कार्यालय नुवाकोटका अनुसार दुई दर्जन सवारी बेत्रावती र ढुंगेमा रोकिएका छन् ।

एउटा गाडी गुहृयखोल्सामा फसेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका इन्चार्ज विकल भट्टराईले जानकारी दिए । गत वर्षपनि भारी वर्षात्का कारण गेर्खुटारदेखि बेत्रावतीसम्मको सडक निर्माण एकमहिना अवरुद्ध भएको थियो ।
त्यसैगरी पासाङ ल्हामुमार्ग कायम भएको रसुवाको ग्राङमा पहिरो आएपछि एकतर्फी सडक खुलाइएको ट्राफिक कार्यालय रसुवाले जनाएको छ । ग्राङमा अवरोध पहिरो पन्छाएर एकतर्फी रुपमा दुई दर्जन सवारी आवतजावत गराएको कार्यालयले जनाएको छ ।

त्यसैगरी स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको तातोपानीमा सडक अवरुद्ध छ । त्यहाँ पनि झरेको लेदो पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक अवरुद्ध भएपछि रसुवाको सदरमुकाम धुन्चेमा दुई दर्जन गाडी रोकिएका छन् । उता टिमुरेमा पनि त्यतिनै संख्यामा गाडी रोकिएका छन् । चीनको केरुङ नाकासम्म आवतजावत गर्ने सडक पनि यही हो ।

प्रकाशित : भाद्र ५, २०७६ १५:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×