कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो बिहीबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । 

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो । त्यसताका समेत उनको रगतमा ‘क्रिएटिनिन’ मात्रा बढेको पाइएको थियो ।

चिकित्सकहरूका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको सानो नमुना निकालेर परीक्षण गरिन्छ । कहिलेकाहीं यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाको अवस्था मूल्यांकन गर्नसमेत गरिन्छ । मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा पिसाबमा प्रोटिन देखिए पनि यो परीक्षण गरिन्छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर ओली १० दिनपछि साउन २७ मा फर्किएका थिए । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई कुन समस्या भएको, स्वास्थ्य स्थिति कस्तो छ भन्नेबारे कुनै जानकारी सार्वजनिक गरेकी छैनन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको स्तर अहिले र सिंगापुर जानुअघि समेत ‘बेसलाइन’ भन्दा बढी देखिएको छ । ‘क्रिएटिनिनको स्तरमा पहिला र अहिलेको अवस्थामा खासै कमी देखिएको छैन,’ उनले भने ।

सिंगापुरमा उपचार गराउने क्रममा केही परीक्षण बाँकी रहेकाले समेत प्रधानमन्त्री ओली फेरि सिंगापुर जान लागेको ती चिकित्सकले बताए । ‘सिंगापुरमा चिकित्सकहरूले दिनहुँ दिने ‘इम्युनोसप्रसेन्ट’ औषधि मिलाएर दिइँदै छ । यसलाई थप मिलाउनुपर्ने भएकाले समेत सिंगापुर दोस्रोपटक जानुपर्ने भएको हो,’ उनले भने ।

प्रत्यारोपणपछि अर्काको मिर्गौलालाई शरीरले अस्वीकार नगरोस् भनेर जीवनभर रोग प्रतिरोधक क्षमता कम गर्ने इम्युनोसप्रसेन्ट औषधि सेवन गर्नुपर्छ । यो औषधिमध्ये ‘टाक्रोलिमस’ ले मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ । एक मिर्गौला प्रत्यारोपण विशेषज्ञका अनुसार ‘इम्युनोसप्रसेन्ट’ औषधिले शरीरको संक्रमण प्रतिरोधी क्षमतामा कमी ल्याएर संक्रमणको जोखिम बढाउँछ ।

मिर्गौलाको कार्यक्षमतामा कमी आउनुको कारण सामान्य मिर्गौलाको संक्रमणदेखि लिएर मिर्गौलाले काम नगर्ने (किड्नी फेल) स्थितिसम्म हुन सक्ने एक प्रत्यारोपण विशेषज्ञले जानकारी दिए ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?