सामाजिक सञ्जालको जञ्जाल : फैलिँदै आवेग, अफवाह र आक्रोश

जनकराज सापकोटा

काठमाडौँ — चितवनको नारायणगढस्थित एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मोबाइलमा प्रहरीले फेला पारेको भिडियो यतिबेला सामाजिक सञ्जाल र युट्युबमा व्याप्त छ ।

भिडियो सार्वजनिक भएलगत्तै सोही घटना जोडिएको एउटा तस्बिर पनि त्यसरी नै भाइरल भइरहेको छ । पुडासैनीको मृत्युअघिको भिडियोबाट स्क्रिनसर्ट लिइएको फोटोमा उनको आँखा देखिन्छ र आँखाको नानीमा कुनै मान्छेको प्रतिछाया छ । यही प्रतिछाँयालाई आधार बनाएर युट्युबमा दर्जनौं भिडियो अपलोड भएका छन् । सयौंले यही तस्बिर पोस्ट गर्दै पत्रकार मृत्यु प्रकरण र सञ्चारकर्मी रवि लामिछाने पक्राउबारे आ–आफ्ना धारणा, दाबी र विरोधहरू पोस्ट गरेका छन् ।

के सामाजिक सञ्जालहरूमा भनिएजस्तै पुडासैनीको आँखामा अर्को मानिसको प्रतिछाया देखिएको हो ? आँखामा देखिएको व्यक्तिले नै उनको हत्या गरेको हुन सक्छ भन्ने अड्कल कसरी फैलियो ? कान्तिपुरको खोजमा यसबारे केही नयाँ तथ्य फेला परेका छन् ।

मनोरम जोशी चर्चित फेसबुक पेज ‘मेन्स रुम रिलोडेड’ (एमआरआर) का सुदूरपश्चिम प्रतिनिधि हुन् । एक लाख सदस्य भएको यो फेसबुक पेजका सदस्यहरू विपदका बेला, सामाजिक काममा र कहिलेकाहीं न्यायपूर्ण अभियानमा सक्रिय देखिन्छन् । यही पेजले हो झन्डै एक वर्षअघि निर्मला पन्तको बलात्कार र हत्यापछि ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने स्लोगनको पोस्टर डिजाइन गरेको । निर्मलाको स्केचसहितको पोस्टर डिजाइन गरेर यही समूहका सदस्यले प्रिन्ट गर्न चाहनेहरूलाई सफ्ट कपी उपलब्ध गराएका थिए । ग्रुपकै केही सदस्यले त्यस्तो पोस्टर रातभर काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रका सार्वजनिक स्थानमा टाँसेका थिए ।

मनोरमले झन्डै ७ महिनाअघि होलीको बेला एउटा तस्बिर यही पेजमा पोस्ट गरेका थिए । फागुले रंगीन भएको एमआरआर लेखिएको सेतो टिर्सट पहिरेको र कालो चस्मा लगाएको, कुनै फुटबल खेलाडी झैं उफ्रिएको मनोरमको फोटो फेसबुकमा धेरैले मन पराए । केही दिनअघि मनोरमलाई एउटा तस्बिर ट्याग गरिएको थियो ।
विभिन्न सामाजिक सञ्जालमा गरिएका अभिव्यक्ति ।

जसमा पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोबाट स्क्रिनसट लिइएको क्लोज अप तस्बिर थियो । अनि त्यही तस्बिरको आँखाको नानीमा मनोरमको फागुको तस्बिर धमिलो बनाएर राखिएको थियो । सामाजिक काम र न्यायपूर्ण अभियानका निम्ति सक्रिय फेसबुक पेजमा एमआरआर ग्रुपकै कुनै सदस्यले यस्तो तस्बिर पोस्ट गरेका थिए ।

पत्रकार आत्महत्याका कारण र सञ्चारकर्मी लामिछाने पक्राउ प्रकरण गर्माइरहेको बेला पुडासैनीको आँखाको नानीमा कसैको प्रतिछाया देखिनु आफैंमा कौतूहलको विषय थियो । फोटोसपका माध्यमबाट मनोरमको तस्बिर मृतक पत्रकारको आँखाको नानीमा राखेको र उक्त तस्बिर के–के नै भेटियो जस्तो गरेर एमआरआर पेजमा पोस्ट भएपछि अफवाह फैलिने भन्दै पेजमा सक्रिय साथीहरूले उक्त पोस्ट डिलिट गरिदिए ।

एमआरआर एडमिनका एक सदस्य विक्रम केसीले आफूहरूले उक्त पोस्ट एक घण्टाभित्रै डिलिट गरेको तर अरू कसैले कपी गरेपछि बाहिर फैलिएको बताए । ‘एकजना साथीले कसरी विभिन्न घटनामा सामान्य मानिस आफैं अनुसन्धानकर्मी बन्न खोजेजस्तो गर्छ, आफैंले सत्य पहिल्याएजस्तो गर्छ भन्नेबारे व्यंग्य गर्न त्यस्तो पोस्ट गरेका थिए,’ उनले भने, ‘तर त्यसले अर्कै अर्थ लगाउला कि भनेर हामीले डिलिट गरिहाल्यौं ।’

डिलिट गरिए पनि उक्त तस्बिर सामाजिक सञ्जालमा फैलिसकेको थियो । कमल चालिसे नामका फेसबुक प्रयोगकर्ताले सोही तस्बिर मेन्स एन्ड वमेन्स रुम रिलोडेड नामक फेसबुक पेजमा राख्दै यति प्रमाण भए पुग्छ कि अरू चाहियो भनेर लेखिसकेका थिए । उनी जस्तै सयौंले सोही फोटोलाई सेयर गर्दै पत्रकारको हत्यारा आँखाका नानीमा देखिएको भन्दै आ–आफ्नो धारणा फैलाइसकेका थिए ।

केही सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त तस्बिर वास्तविक नरहेको लेखे पनि त्यसको भने उत्तिकै सेयर भएन । ‘यही हो हाम्रो समाज, आज बिहान यो फोटो एमआरआरमा कसले मजाकमा हालेको थियो,’ किरन तिमल्सेनाले फेसबुकमा लेखेका थिए, ‘बाहिर समाजले भ्रामक प्रमाणका रूपमा प्रयोग गरिरहेछ ।’

किरन जस्ता वहकाउमा नलाग्ने फेसबुक प्रयोगकर्ताले तस्बिर असत्य रहेकोबताइरहँदा उक्त तस्बिर सामाजिक सञ्जालभरि फैलिएर युट्युबमा यसैमा आधारित भिडियोहरू देखिन थालिसकेका थिए ।कसरी मृतक पुडासैनीको आँखाको नानीमा प्रतिछाया भएको तस्बिर देखियो र त्यसैमा आधारित भएर सामाजिक सञ्जालमा टिप्पणीहरू आए भन्नेबारे प्रहरी प्रधान कार्यालयले पनि खोजी गरिरहेको छ ।

हालसम्मका खोजले फोटोसपबाट चलाइएको तस्बिरलाई सही ठानेर सामाजिक सञ्जालमा अनेकन क्रिया–प्रतिक्रिया आइरहेका र तिनैलाई हजारौं–लाखौं सदस्य तथा सब्सक्राइबर रहेका फेसबुक पेज र युट्युब च्यानलहरूले फैलाइरहेका छन् । सञ्चारकर्मी लामिछानेको फ्यान भन्दै खुलेका दर्जनभन्दा बढी फेसबुक पेजमा त कैयन्ले आँखाका नानीमा देखिएको मान्छे पत्रकार बसेकै होटलको कर्मचारी वा मालिक भन्ने दाबीसमेत गरेका छन् ।

अगस्ट १७ मा रिसेन्ट खबर नामक युट्युब च्यानलले ‘पत्ता लाग्यो शालिकरामको हत्यारा’ शीर्षकमा त्यही आँखाको नानीमा देखिएको प्रतिछायालाई लिएर भिडियो प्रस्तुत गरेको छ । यसलाई सोमबारसम्म ४ लाख ४६ हजार ९ सयभन्दा धेरैले हेरेका छन् भने ७ सय ११ कमेन्ट आएका छन् । यही भिडियोको लिंक आइतबार साँझ ७ बजे विनोद शाही ठकुरीको नाममा रहेको फेसबुक अकाउन्टमा पोस्ट भएको छ, जुन १८ घण्टामै २२ सय सेयर भएको छ ।

नेपालगन्ज स्थायी घर भई बानेश्वरमा बस्दै आएका विनोद तीनवर्षे फार्मेसीको कोर्स सकेर फुर्सदमा छन् । पत्रकारको आत्महत्या प्रकरण र लामिछाने पक्राउबारे उनले सामाजिक सञ्जालबाटै केही कुरा थाहा पाएका हुन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘फेसबुक स्क्रोल गर्दै जाँदा त्यस्तो भिडियो देखेपछि सेयर गरिदिएको हुँ तर भिडियो पूरै हेरेको छैन ।’ सनसनीखेज भन्दै सेयर गरेको भिडियोबारे कुरा गर्न खोज्दा उनी पन्छिए । ‘मलाई उक्त भिडियो कसको फेसबुकमा थियो वा कुन पेजले सेयर गरेको थियो भन्ने सम्झना पनि छैन,’ उनले भने, ‘मलाई सबै कुरा थाहा छैन । त्यत्तिकै पोस्ट हान्देको हो ।’

पोखराका सागर गिरी व्यवस्थापनमा स्नातक सकेर बसेका हुन् । उनी तीनवटा युट्युब च्यानल चलाउँछन् । लामिछाने पक्राउ परेपछिका पछिल्लो ४ दिनयता उनी पोखराबाट चितवन गएर बसेका छन् । यो बीचमा उनले कतिवटा भिडियो बनाएर पोस्ट गरे, उनलाई नै सम्झना छैन । सोमबार साँझ उनले फेसबुकमा आफ्नै युट्युबमा अपलोड गरेको भिडियो पोस्ट गरे, जसको शीर्षक छ, ‘हत्यारा पत्ता लाग्यो, रवि लामिछाने निर्दोष सावित । काली माताले खुलाइन् वास्तविकता ।’

सोमबार नै पोस्ट गरिएको उक्त भिडियो रातिसम्म झन्डै ६ सय जनाले हेरिसकेका छन् । सागरले भने, ‘आन्दोलन भएको ठाउँमा एकजना माता बताउने भेटिनुभयो । अनि त्यही कुरा हालेको हो युट्युबमा ।’ उनले पोखराबाट मात्रै झन्डै १०/१२ जना विभिन्न युट्युबर चितवन पुगेको बताए । उनले भने, ‘माताले जे भनिन् त्यही त हालेको हो ।’ भिडियोमा माताले आफू साधारण देखिए पनि माताको शक्ति रहेको बताउँदै घटनाबारे अनेकन टिप्पणी गरेकी छन् ।

पत्रकारको मृत्यु र रवि लामिछाने पक्राउ प्रकरणबारे सामाजिक सञ्जालमा घृणा, आक्रोश, लाञ्छना र आरोप/प्रत्यारोपको बाढी नै छ । बग्रेल्ती युट्युब च्यानलहरूले यसबारे आ–आफ्नै किसिमले तथ्य र सूचनाको बाढी लगाइरहेका छन् । जस्तो कि, १४ अगस्टमा इन्फो खबर नामक युट्युब च्यानलले एउटा भिडियो पोस्ट गरेको छ । त्यसको शीर्षक छ, ‘करेन्ट लगाएर बन्दुक ताकेर घोचेर मरेको शालिकराम पुडासैनी ।’ सोमबार राति ८ बजेसम्म उक्त भिडियो झन्डै ४ लाखले हेरेका छन् भने यसमा १३ सय कमेन्ट छ ।

१४ अगस्टमै अर्को भिडियो पोस्ट भएको छ, सिंगर सतिश नामको युट्युब च्यानलमा । त्यसको शीर्षक छ, ‘शालिकरामलाई दबाबमा राखेर गराइएको भिडियो हो ।’ उक्त भिडियो सोमबार राति ८ बजेसम्म झन्डै ३ लाख ७५ हजारले हेरेका छन् भने ११ सय ७५ कमेन्ट छ । १८ अगस्टमा मोर्डन अनलाइन टीभी नाम युट्युब च्यानलले ‘शालिकराम झुन्डिएको होटेलको साउनीले गरे डरलाग्दो खुलासा, केटी आएको शंका, बाहिरियो रहस्य’ शीर्षकमा भिडियो पोस्ट गरेका छन् ।

यो भिडियो सोमबारसम्ममा २ लाख ८९ हजारभन्दा धेरैले हेरेका छन् भने ६ सय १८ कमेन्ट छन् । युट्युबमा भेटिने अनेकन ‘यो हो सही तथ्य’, ‘बल्ल खुल्यो रहस्य’ ‘बाहिरियो प्रमाण’, ‘भयो खुलासा’ जस्ता उत्तेजक शीर्षकका भिडियोहरू सामान्यदेखि हजारौं फलोअर्स भएका फेसबुक पेजसम्मै छाइरहेका छन् ।

सामाजिक सञ्जालमा लामिछानेको समर्थन मात्रै छैन, उनको पक्राउप्रति आक्रोश, पुडासैनीको आत्महत्याबारे अनेक आशंका र अफवाह पनि छन् । यी दुवैभन्दा पर एकथरी समर्थकले फरक मत राखेकै आधारमा अश्लील गाली गर्ने र मृत्युको कामना गर्दै रिप लेख्ने प्रवृत्ति पनि देखिन्छ ।

सामाजिक सञ्जालमा लामिछानेबारे फरक मत राखेकै कारण एक युवतीको तस्बिरमा ‘रवि सरको बारेमा नराम्रो शब्द प्रयोग गर्ने ... लाई हार्दिक श्रद्धाञ्जली’ भन्ने तस्बिरलाई भाइरल बनाइएको छ । धरानका जीवन विस्टले अगस्ट १७ मा फेसबुकमा लेखेका छन्, ‘साथीहरू रवि लामिछानेको विरोधमा बोलेको भिडियो हाल्ने युट्युब अनसस्क्राइब र पेजहरूलाई अनलाइक गरौं, जसले सेयर गरेको छ, त्यसलाई तुरुन्तै ब्लक गरौं, समर्थक एक बनौं, विरोधीहरू होसियार ।’

प्रहरी प्रधान कार्यालयको सचिवालयमा कार्यरत सई विजय यादव सोमबार बिहान त्यतिबेला चकित भए जब उनले सञ्चारकर्मी लामिछानेलाई हतकडी लगाइरहेको र उनको बर्दीसहितको तस्बिर फेसबुकमा देखे । त्यसमा लेखिएको थियो, ‘हार्दिक श्रद्धाञ्जली ।’ विजय आफैं छक्क परे । न रवि पक्राउ प्रकरणमा उनी संलग्न थिए न यसबारे उनी सम्बन्धित पक्ष नै हुन् । पहिल्याउँदै जाँदा थाहा भयो, २०७० सालमा उनी पर्सामा कार्यरत थिए ।

हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल त्यतिबेला एसपीको हैसियतमा जिल्लाको कमान्ड सम्हालिरहेका थिए । भारतमा शृंखलाबद्ध हत्या र डकैती मच्चाइरहेको बब्लु दुवेलाई सर्वेन्द्रको टोलीले पक्राउ गरेको थियो । त्यही बेला विजयले बब्लुलाई हतकडी लगाएर हिँडाएका थिए । कुनै छद्म व्यक्तिले फोटोसप प्रयोग गरेर बब्लुको टाउको हटाएर रवि लामिछानेलाई जोडेको थियो । झट्ट हेर्दा यस्तो लाग्थ्यो, सई विजयले रविलाई हतकडी लगाएर हिँडाइरहेका छन् । विजयले हाँस्दै सुनाए, ‘फोटोसपको यही तस्बिर सबैतिर विस्तारै फैलिरहेको छ । अनि यसैलाई अन्तिम सत्य मानेर मानिसहरू नानाथरी गाली बसाइरहेका छन् ।’

सामाजिक सञ्जालमा विभिन्न प्रहरी अधिकारीको तस्बिरमाथि हार्दिक श्रद्धाञ्जली लेख्दै उनीहरू नै लामिछानेलाई पक्राउ गर्ने हुन् भनेझैं गरिएका पोस्टहरू पनि उत्तिकै देख्न पाइन्छ । यस्ता पोस्टले प्रहरीको व्यक्तिगत आत्मसम्मानमा त चोट पुर्‍याइरहेको छ, समाजमा पनि अनेकन हल्ला र अफवाह फैलिइरहेको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लदेखि राजनीतिक दलका कतिपय नेताको नामसमेत यही किचाघानमा मुछिएको छ ।

लामिछाने पक्राउ प्रकरणलाई जोडेर सोमबार प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीको तस्बिरमा पनि अमर्यादित शब्दसहितको पोस्ट सामाजिक सञ्जालमा सार्वजनिक भयो । प्रहरीले त्यस्तो पोस्ट गर्ने अछाम मंगलसेनका रिदम बिसी भनिने शंकर विकलाई पक्राउ गरेर काठमाडौं झिकायो । परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार विकले आफूले गल्ती गरेको र व्यक्तिगत मानमर्दन गरेको भन्दै माफी मागेपछि अब यस्तो गल्ती नगर्ने सर्तमा उनलाई छोडिएको छ ।

सामाजिक सञ्जाल र युट्युबमा हल्ला, अफवाह र अनेकन उत्तेजक टिप्पणीहरूको बाढी आएको यो पहिलो घटना भने होइन । यसअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणमा पनि यस्तै प्रवृत्ति देखिएको थियो । ‘यिनै प्रहरी हुन् निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने’ भन्दै सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीलाई अनलाइनमा हालेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत वर्षको साउन दोस्रो साता आरएमखबर डटकमको अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राप्ति सापकोटा पौडेललाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दाचलाएको थियो ।

सामाजिक सञ्जालका प्रयोग र प्रवत्तिबारे ज्ञान राख्ने नेपाल प्रहरीको सञ्चार निर्देशनालयमा कार्यरत डीआईजी राजीव सुब्बा कुनै घटना हुनेबित्तिकै आफैं अनुसन्धानकर्मी भएझैं गरेर तथ्यभन्दा धेरै भ्रामक खबर, अनुमान र अफवाह फैलाउने प्रवृत्ति यस्ता सञ्जाल र युट्युबमा बढ्दै गएको सुनाउँछन् ।

यस्तो प्रवृत्ति अहिलेसम्म अनेकन मुद्दा र घटनामा मात्रै सीमित रहे पनि भविष्यमा राजनीतिक वा जातीय विषयमा पनि दोहोरिनसक्ने उनको आशंका छ । ‘अनेक फोटो जोडेर नयांँ तथ्य पत्ता लगाएझैं गर्न र फोटोसप चलाएर अनेकन मिथ्या सिर्जना गर्ने भिडियो बनाउने समय मानिसहरूलाई कसरी मिलिरहेको छ ?’ उनी अचम्म मान्दै भन्छन्, ‘यसरी नै सामाजिक सञ्जालका कन्टेन्ट पत्याउने र धारणा निर्माण गर्ने बानी बढ्दै जाँदा समाज नै प्रभावित बन्न पुग्ने जोखिम छ ।’

डीआईजी सुब्बाले केही समयअघि बीबीसीले नाइजेरिया, केन्या र भारतमा गरेको ‘कसरी फैलिन्छ फेक न्युज ?’ भन्ने खोज सामग्री पढ्न सुझाए । उक्त अध्ययनले मानिसहरू सत्य के हो भन्नेबारे कत्ति ध्यान नदिई सामाजिक सञ्जालमा भेटिएका सामग्रीहरू सेयर गर्न वा त्यसबारे आफ्नो धारणा राख्न कसरी हतारिन्छन् भन्ने देखाएको छ जसरी कि विनोदलेआफ्नो फेसबुक पेजमा युट्युबको भिडियो सेयर गरे ।

पत्रकारको आत्महत्या र पक्राउ प्रकरणकै छेको पारेर अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा राज्यले गर्नुपर्ने कामकाज निजी तवरबाट छानबिन हुनु खतरनाक हुने भन्दै ‘संसद्, संविधान र राज्य संयन्त्रलाई हामीले कर तिरेको पनि यही कामका लागि हो ?’ भन्ने आशयको पोस्ट गरिन् । उनको भनाइ आक्रोश, अफवाह फैलाउने र राज्यको अनुसन्धानलाई प्रभावित पार्नेतर्फ लक्षित थियो । तर उक्त स्टाटस फेसबुकमा पोस्ट गरेपछि करिश्मालाई नै धेरैले सामाजिक सञ्जालमार्फत अभद्र र अश्लील टिप्पणी गरे । कतिले त धम्की नै दिए ।

कान्तिपुरसँगको कुराकानीमा मानन्धरले आफूमाथि सामाजिक सञ्जालमार्फत दुर्व्यवहार भएको बताइन् । उनले भनिन्, ‘हामीले कस्तो विधि व्यवस्था बनाएछौं । कुनै कुरा राख्नै नपाइने । अत्ति भइसक्यो ।’ स्टाटसकै कारण अभद्र टिप्पणी गर्ने, धम्की दिने, उग्र प्रतिक्रिया जनाउने शैली देखेर चकित पर्दै उनी भन्छिन्, ‘मेरो स्टाटसमा आएका कमेन्ट पढेर मेरी छोरीलाई कस्तो लाग्ला ? तपाईं आफैं भन्नुस् ? त्यतिबेला तपाईंलाई कस्तो हुन्छ ?’

प्रकाशित : भाद्र ३, २०७६ १०:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आधारदर घटे पनि ब्याज घटेन

यज्ञ बञ्जाडे

काठमाडौं — अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहको ऋणको ब्याजदर निर्धारण गर्ने सूत्र (आधारदर) घटे पनि ग्राहकले सस्तो दरमा ऋण पाउन सकेका छैनन् ।


राष्ट्र बैंकको निर्देशनअनुसार आधारदरमा आएको घटबढअनुसार बैंकले हरेक तीन महिनामा ऋणको (नयाँ/पुराना) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । आधारदरमा आएको परिवर्तन अनुसार अपवादबाहेक सबैजसो बैंकले ऋणको ब्याजदर घटाएका छैनन् । यसको अर्थ राष्ट्र बैंकको निर्देशन प्रभावकारी रूपमा पालना भएन भन्ने हो ।

बैंकहरूले प्रकाशित गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार गत असारमा वाणिज्य बैंकको औसत आधार ब्याजदर ९.५५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत असारमा यस्तो दर ०.८७ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो वर्षको असारको तुलनामा गत वर्षको सोही अवधिमा २६ वटा बैंकको आधारदर घटेको छ भने २ वटाको मात्र बढेको छ ।

यही बीचमा राष्ट्र बैंकले बैंकको आधारदर गणना सूत्र पनि परिमार्जन गरेको छ । नयाँ सूत्रअनुसार बैंकले आधारदर गणना गर्दा सम्पत्तिमा प्रतिफल जोड्न पाउँदैनन । यसअघि सम्पत्तिमा प्रतिफलबापत ०.७५ प्रतिशत आधारदरमा जोड्न पाउने व्यवस्था थियो । आधारदर गणनाको परिमार्जित सूत्रअनुसार हरेक बैंकको आधारदरमा ०.७५ प्रतिशतले घटेको थियो ।

आधारदर घटे पनि बैंकहरूले सोही दरले ऋणको ब्याजदर घटाएनन् । बरु बैंकहरूले नयाँ ऋणको ब्याजदर घटाउने तर पुरानाको नघटाउने प्रस्ताव राष्ट्र बैंकमा पेस गरे । उक्त प्रस्तावलाई राष्ट्र बैंकले सिधै स्वीकार त गरेन, मौन स्वीकृति दिएको देखियो किनकि त्यतिबेला पनि अपवादबाहेक बैंकले पुराना ऋणको ब्याजदर घटाएनन् । (नयाँ ऋणको ब्याजदर भने केही बैंकले थोरै घटाएका थिए ।) यो अवस्था धेरै टिकेन ।

बजारमा तरलता (लगानीयोग्य रकम) अभाव समस्या सिर्जना भयो । यही मौकामा बैंकले फेरि ऋणको ब्याजदर बढाइहाले । अहिले पनि यही अवस्था छ । गत असारमा बैंकहरूको आधारदर करिब एक प्रतिशत विन्दुले घटेपछि ग्राहकले ऋण घटेको आभास गर्न पाएका छैनन् ।

बैंकहरू भने ऋणको ब्याजदर पनि घटेको दाबी गर्छन् । ग्राहकलाई जहिले पनि ब्याजदर घट्नैपर्छ भन्ने भएकाले उनीहरूलाई ब्याजदरमा आएको सामान्य परिवर्तनले नछुने उनीहरूको भनाइ छ । ‘अघिल्लो वर्षभन्दा गत वर्ष ऋणको ब्याजदर घटेको छ, यो बिस्तारै घट्दै जाने हो,’ बैंकर्स संघका कार्यकारी सदस्य एवं प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने । बैंकहरूको ब्याजदर एकै पटक नभए बिस्तारै घट्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

बैंकहरूले ऋणको ब्याजदर घटेको बताइरहे पनि राष्ट्र बैंकको तथ्यांकबाट त्यो पुष्टि हुँदैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनासम्म वाणिज्य बैंकहरूको औसत कर्जा दर १२.२० प्रतिशत छ । अघिल्लो वर्षको ११ महिनामा बैंकको यस्तो दर औसत १२.२३ प्रतिशत थियो । यसको अर्थ बैंकको आधार ब्याजदर एक वर्षमा औसतमा एकदेखि डेढ प्रतिशतले घटेको छ तर ऋणको औसत ब्याजदर भने ०.३ प्रतिशत विन्दुले मात्र घटेको देखिन्छ । ऋणको ब्याजदर नघटेको उद्योगी व्यवसायीले पनि गुनासो गर्दै आएका छन् ।

यो वर्ष राष्ट्र बैंकले बैंकको कर्जा तथा निक्षेपको ब्याजअन्तर (स्प्रेड) सूत्र परिमार्जन गरेको छ । ऋणको ब्याजदर घटाउनकै लागि यो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ । नयाँ सूत्रअनुसार बैंकले सरकारी सुरक्षणमा गरेको लगानीबापतको प्रतिफल स्प्रेड गणनामा समावेश गर्न पाउँदैनन् । यो व्यवस्थाले प्रत्येक बैंकको मुनाफा करिब १ प्रतिशत विन्दुले घट्ने बताइएको छ ।

यसकारण ऋणको ब्याजदर घटाउनुपर्ला भन्ने डरले वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले स्प्रेड गणनाको नयाँ विधिमा आपत्ति जनाइसकेको छ । संघले विज्ञप्ति निकालेर नयाँ सूत्रअनुसार स्प्रेड गणना गरिए बैंकको आम्दानी करिब २५ प्रतिशतले कमी आउने दाबी संघले गरेको छ ।

त्यसो त यो विषयमा राष्ट्र बैंक केही लचिलो बन्ने संकेत पनि दिइसकेको छ । स्प्रेड गणनाको नयाँ विधिले ठूलो परिणाममा आम्दानी घट्ने भन्दै अत्तालिएका बैंकहरूलाई राष्ट्र बैंक केही चचिलो बन्ने आश्वासन दिएको जानकारी प्राप्त भएको छ ।

हाललाई पुरानै विधिबाट स्प्रेड गणना गर्ने र ०७७ असारसम्ममा नयाँ सुत्र अनुसार स्प्रेड ४.४ विन्दुमा कायम गरे हुने आश्वासन राष्ट्र बैंकबाट प्राप्तभएको बैंकहरू दबी गर्छन् । ‘यो वर्ष पुरानै विधिबाट स्प्रेड गणना हुन्छ,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले कान्तिपुरसँग भने, ‘०७७ असारसम्म ४.४ विन्दुमा झार्नुपर्छ, यो विषयमा बैंक र राष्ट्र बैंक दुबै स्पष्ट छौं ।’

यसअधिको व्यवस्थाअनुसार गत असारसम्म वाणिज्य बैंकहरूले स्प्रेड ४.५ प्रतिशतमा झारिसक्नुपर्ने थियो तर यो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले स्पेडको गणना विधि परिमार्जन गर्‍यो । वित्तीय विकास रणनीतिको व्यवस्था भन्दै बैंकहरूले ०७७ असारसम्म ४.४ प्रतिशत विन्दुमा झारे हुने व्यवस्था राष्ट्र बैंकले गर्‍यो । यो व्यवस्था बैंकहरूलाई चित्त बुझेको छैन ।

यस्तै, गत वर्ष बैंकको खुद नाफा करिब २५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष करिब ५२ अर्ब रूपैयाा कमाएका २८ वटा वाणिज्य बैंकहरूले गत वर्ष कुल ६५ अर्ब रूपैयाँ नाफा कमाएका छन् । उता बैंकको नाफा बढे पनि सेयरधनीको प्रतिफल (आरओई) धेरै बैंकको घटेको छ । गएको दुई वर्षमा बैंकहरूले चार गुणा पुँजी बढाए । एकै पटक धेरै पुँजी बढाएकै कारण पछिल्ला तीन वर्षमा आरओई घटदो क्रममा छ । यसकारण रकमका आधारमा मात्र बैंकको नाफा बढेको रूपमा हेर्न नहुने बैंकरहरूको तर्क छ ।

प्रकाशित : भाद्र ३, २०७६ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT