३१ वर्षमा त्रिशूलीमा खसे २६९ बस

मुग्लिनदेखि आदमघाटसम्मको ६५ किमि दूरीमा चालकको थकान, तीव्र गति र ओभरटेक गर्ने प्रवृत्तिले बढी दुर्घटना
हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गको धादिङ खण्डमा अधिकांश ठूला सवारी दुर्घटना बिहानीपख भएका छन् । काठमाडौं हिँडेका लामो दूरीका सवारी दिवाभन्दा रात्रि सेवाका धेरै परेका छन् । मुग्लिनदेखि बेनीघाट र गजुरी गाउँपालिकाको आदमघाटसम्मको ६५ किमि दूरीमा धेरै ठूला दुर्घटना भएका छन् । अधिकांश दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएका छन् ।

गत शुक्रबार बिहान सर्लाहीको मलंगवाबाट एकैजना चालक जीवन विकले रातभर हाँकेर ल्याएको बस बेनीघाट मालिंगामा दुर्घटना भयो । घटनामा ११ जनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार भयो । बेपत्ता १९ जनाभन्दा बढी यात्रुको अझै खोजी कार्य जारी छ ।

जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार गत आर्थिक वर्ष धादिङ जिल्लाअन्तर्गत पर्ने ८६ किमिको दूरीमा पृथ्वी राजमार्ग खण्डमा १ सय ३८ दुर्घटना भए । त्यसमा ९३ जनाको मृत्यु भयो भने १ सय २३ जना सख्त र २ सय १० जना सामान्य घाइते भए । प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टका अनुसार अधिकांश दुर्घटनाको कारणमा बिहानीपखको निद्रा, चालकको लापरबाही, तीव्र गति, मादक र लागूपदार्थ सेवन र अर्को सवारीलाई ओभरटेक गर्नु आदि छन् ।

‘हालसम्मका नयाँ–पुराना तथ्यांक अध्ययन गर्दा पृथ्वी राजमार्गमा मात्रै २०४५ सालयता २ सय ६९ वटा यात्रुबस दुर्घटना भएको रेकर्ड छ,’ उनले भने, ‘यहाँ बाटो घुमाउरो छ । जोगाएर नकुदाए सोझै त्रिशूलीमा पुगिन्छ, लामो दूरी चलाएर आएका ड्राइभर थाकेर निदाउँदा धेरै दुर्घटना भएका छन् ।’ तीव्र गति र चालकले मादक र लागूपदार्थ सेवन गरेको पनि घटनाको अनुसन्धानमा भेटिएको उनले बताए ।
काठमाडौंबाट धरान जाने क्रममा २०६२ फागुन २३ मा जोगीमारामा खसेको तिलगंगा यातायातको बस। उक्त दुर्घटनामा ५६ जनाको मृत्यु भएको थियो भने शव निकाल्न एक साता लागेको थियो ।तस्बिर सौजन्य : शिव सिलवाल
चीन सरकारले २०३४ मा पृथ्वी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेयता भएका दुर्घटनाको रेकर्ड ट्राफिक प्रहरीमा २०४५ सालदेखिको छ । २०४५ भदौमा जोगीमारामा पहिरो आएर बस त्रिशूलीमा खसेको थियो । तत्कालीन सरकारले बंगलादेशबाट गोताखोर ल्याएर ३५ दिनसम्म खोजतलास गरे पनि ३४ जना यात्रु र बसको पत्तो लागेन । ‘सरकारले त्यतिबेला उद्धारकर्मीका लागि करिब १५ लाख खर्च गरेको थियो,’ त्यसबेला खर्च व्यवस्थापन गर्ने तत्कालीन जिल्ला वन कार्यालयका लेखापाल सीतारामप्रसाद बर्माले भने ।

जोगीमाराकै ज्यामिरेघाटबाट २०६२ फागुन २३ मा भएको बस दुर्घटना हालसम्मकै ठूलो मानिन्छ । काठमाडौंबाट धरान जाँदै गरेको तिलगंगा यातायातको रात्रिबस साँझ ५ बजे त्रिशूलीमा खस्दा ५६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । तत्कालीन अवस्थामा समयमै उद्धार र उपचार नभएका कारण धेरै यात्रुले ज्यान गुमाएका थिए ।

मुक्तिनाथबाट फर्कंदै गरेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे मुग्लिन नजिकैको साबिक दारेचोकको घोप्टेभीरबाट २०७३ असोज १० मा भाइहरू र आमासमेत सपरिवार त्रिशूलीमा खसे । आफैंले हाँकेर ल्याएको उक्त जिप र घिमिरे फेलै परेनन् । उक्त जिप खसेकै स्थानमा तीन दिनअघि चाउचाउ बोकेको ट्रक खस्यो । घोप्टेभीरमा २०६४ भदौ १६ मा ४२ जना बौद्धमार्गी बोकेर धरानबाट काठमाडौं जाँदै गरेको मकालु यातायातको रात्रिबस खस्यो । कोही यात्रु बचेनन्, बस र शव निकाल्न एक साता समय लाग्यो ।

२०६८ दसैंताका काठमाडौंबाट गोरखातर्फ जाँदै गरेका ४८ जना बेलायती सेनाका जवान र परिवारहरू चढेको बस गजुरीको घाटबेंसी नजिकै बांगेमोडबाट खसेको थियो । घटनामा चारजना बाँचे । नदीको भुमरी परेको ठाउँबाट ४४ जनाको शव झिक्न बंगलादेशबाट गोताखोर बोलाइयो । बस र सबैको शव झिक्न चार दिन लागेको थियो ।

काठमाडौंबाट धरान जाने क्रममा २०६२ फागुन २३ मा जोगीमारामा खसेको तिलगंगा यातायातको बस। उक्त दुर्घटनामा ५६ जनाको मृत्यु भएको थियो भने शव निकाल्न एक साता लागेको थियो ।तस्बिर सौजन्य : शिव सिलवाल
सोही स्थानमा २०७४ कात्तिक ११ मा छठ मनाएर सप्तरीबाट काठमाडौं फिर्दै गरेका चढेको बस दुर्घटना भएको थियो । घटनामा उद्धारपछि १५ जना बाँचे भने ३४ जनाको मृत्यु भयो । उक्त यात्रुबसको तेस्रो पक्ष बिमा नवीकरण भएको थिएन । त्यसैले मृतक र घाइते कसैले पनि नियमानुसार पाउनुपर्ने बिमा रकम र औषधोपचार खर्च पाएनन् । उक्त बसका चालक सन्तोष चौधरी अहिले कारागारमा छन् ।

गत जेठ २ को बिहान काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना७ख ४३८७ नम्बरको यात्रुबस गजुरीको जहरेखेतमा त्रिशूली नदीमा खस्दा १५ जनाको मृत्यु भयो । चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भएको थियो । पृथ्वी राजमार्ग भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहर गर्छन् । सडक धेरै ठाउँमा साँघुरो र जीर्ण छ, यसैमा चालकहरू अरू सवारीलाई उछिन्न लागिपर्छन् । तीव्र गतिमा कुदाउँछन् ।

पृथ्वी राजमार्गको मुग्लिनदेखि महेशदोभानसम्मको क्षेत्रमा त्रिशूली नदी पर्छ । सडकको डिलमुनि रहेको नदीमा कुनै गाडी खस्दा त्यसमा सवार मानिस बाँच्न मुस्किल छ । लामो दूरीका सार्वजनिक यातायातमा दुई जना चालक राख्नुपर्नेमा एउटैले चलाउने समस्या त छँदै छ, सडक मर्मत दिगो नहुनु पनि दुर्घटना न्यूनीकरणको बाधक छ ।

२०२४ सालमा देशभरि दुई हजार वटा सवारीसाधन भएका बेला सोही संख्यालाई आधार मानेर निर्माण गरिएको सडकमा हजारौं गाडी थपिए । सडकको क्षमता विस्तार भएन । १० टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढी बोकेर मालवाहक गाडी चल्छन् । दुर्घटनाबाट जोगाउन सडक किनारमा राख्नुपर्ने सुरक्षा उपाय पनि छैनन् । ‘दुर्घटना हुँदा तत्काल उद्धार गर्न संयन्त्र पनि तयार गर्नैपर्छ,’ गजुरी निवासी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य चन्द्रकान्त अधिकारीले भने, ‘थपिएको सवारी चापको तुलनामा सडक विस्तार र ट्राफिक नियममा कडाइ पनि आवश्यक छ ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रम–'भनेजस्तो कामै भएन’

‘खेती लाएर कमाउन जाने यसअघिकै नियति स्वरोजगार कार्यक्रम आउँदा पनि भोग्नुपर्‍यो, परिवारसँग गाउँमै बस्ने वातावरण बन्न सकेन’
हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका ३, का ६ युवाले साउन १० गते गाउँ छाडे । त्योभन्दा केही दिनअघि सोही वडाका ४ युवा केही महिनाका लागि गाउँदेखि टाढा गए ।

बाँफिकोट गाउँपालिका १०, का कलिभान नेपाली, सुमन विक, सुरेन्द्र ओलीलगायतले गाउँ छाडेको पनि महिना दिन पुग्न लाग्यो । जीविकोपार्जनमा समस्या भएपछि उनीहरू मजदुरीका लागि भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लातिर लागेका हुन् ।

भारतमा स्याउको सिजन सुरु भएकाले उनीहरू मात्र होइन, अधिकांश युवा रोजगारीका लागि जाने क्रम बढेको छ । अहिले विद्यालय जाने बालबालिका, व्यवसायी, कर्मचारी र जनप्रतिनिधिबाहेक अन्य युवालाई गाउँमा भेट्न मुस्किल छ । खेतीपातीको काम सकिनेबित्तिकै उनीहरू भारत पसेका हुन् ।

यो अवधिमा उनीहरूले स्याउको गोडमेल, स्याउ टिप्नेदेखि बोक्ने सम्मका काम गर्छन् । हरेक वर्ष विदेश पलायन हुने युवालाई स्वदेशमै रोक्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागू भए पनि प्रभावकारी नहुँदा भारत पस्ने क्रम बढदो छ । स्वरोजगार कार्यक्रमबाट ३ देखि ७ दिनसम्म मात्र काम पाएपछि बेरोजगार युवा भारत पस्न बाध्य भएका हुन् । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिएको स्वरोजगार कार्यक्रमबाट कम काम पाएकाले २ दिन र धेरै दिन काम पाएकाले ७ दिनसम्म मात्रै रोजगारी पाएका थिए ।

‘कम्तिमा एक महिना रोजगार पाउने भन्ने सुनेको थिएँ,’ त्रिवेणी गाउँपालिका ३, का ३५ वर्षीय लोकबहादुर विकले भने, ‘३ दिनमा चानचुन १६/१७ सय रुपैयाँ कमाइयो त्यसले के होला भनेर हिमाञ्चल हिँडियो ।’ उनी हरेक वर्ष असारको खेती लगाएर कात्तिकमा खेती भित्र्याउन आउने गरी भारत पस्छन् ।

४ देखि ५ महिनामा केही कमाएर घर खर्च धान्ने पुरानो चलन प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले नरोकेको उनले सुनाए । हरेक स्थानीय तहले वडागत रूपमै रोजगार दिने भनेर स्वरोजगार कोषको कार्यक्रम बाँडेका थिए । गत आवको अन्त्यमा आएको उक्त बजेटबाट जिल्ला कोही बेरोजगार पनि गत आवमा ३० दिन बराबरको काम पाएनन् ।

बेरोजगार फाराम भरेका सबैलाई काम दिने नाउँमा स्थानीय तहहरूले ३ देखि ७ दिनसम्म मात्रै दिएका थिए । त्यति कामले नपुगेपछि पुरानै नियति दोहारिएको बाँफिकोट गाउँपालिका १०, का कलिभान नेपालीले बताए । ‘खेती लाएर कमाउने जाने यसअघिकै नियतिस्वरोजगार कार्यक्रम आउँदा पनि भोग्नुपर्‍यो,’ नेपालीले भने, ‘कार्यक्रमले गाउँमै परिवारसँग बस्ने वातावरण बनाउन सकेन ।’

प्रधानमन्त्री स्वरोजगार कोषअन्तर्गत १ महिनामा २ करोड ७ लाख रुपैयाँ सकियो । जिल्लाका ६ वटै स्थानीय तहका लागि २ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । ४३ लाख बजेट पाएको मुसीकोट नगरपालिकाले १ सय ९४ जनालाई १ महिनाको रोजगारी प्रदान गर्ने जनाएको थियो । ४० लाख बजेट पाएको आठबीसकोट नगरपालिकाले १ सय ८१ र चौरजहारीले ३६ लाख बजेटबाट १ सय ६२ जनालाई रोजगार दिएको जनाएका छन् ।

गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट सानीभेरीले खर्च गर्‍यो । १ सय ४० जनालाई रोजगारी प्रदान गनुपर्ने दायित्व पाएको सानीभेरीमा ३१ लाख, १ सय ३१ जनालाई रोजगारीमा लगाउन बाँफीकोटले २९ लाख र त्रिवेणीले १ सय २६ जनाका लागि २८ लाख रुपैयाँ पाएका थिए ।

बाँफिकोट गाउँपालिकाका रोजगार संयोजक भीम केसीले फाराम भरेका सबैलाई काममा लगाउँदा ३० दिनसम्म रोजगारी दिन सम्भव नभएको बताए । उनका अनुसार बाँफिकोटमा १ सय ३१ जनाले रोजगार पाउनेगरी बजेट आएकामा ८ सय ३३ जनाले काम गरेका थिए । ढिलो बजेट आउनु र थोरै बेरोजगारका लागि बजेट आउँदा समस्या भएको उनको भनाइ छ ।

प्रधानमन्त्री स्वरोजगार कोषको कार्यविधिमा गोरेटो बाटो, सिँचाइ, सडकको नाली बनाउने, खानेपानी मर्मतमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लाका अधिकांश ठाउँमा गोडेटो, घोडेटो बाटो मर्मत, सडकको नाली निर्माणलगायतमा रोजगारी प्रदान गरिएको थियो । बेरोजगार व्यक्तिलाई न्यूनतम सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगारी नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर हुन आउने निर्वाह भत्ता दिने प्रावधान कार्यक्रममा राखिएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्