कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्री एयरलाइन्सलाई पनि अन्तर्राष्ट्रिय उडान अनुमति, बनारसमा गर्‍यो परिक्षण फ्लाइट

सुरज कुँवर

काठमाडौँ — दुई वर्षदेखि नेपालको आन्तरिक आकाशमा व्यावसायिक उडान भर्दै आएको निजी क्षेत्रको श्री एयरलाइन्सले सोमबार काठमाडौंदेखि भारतको बनारसमा परीक्षण उडान गरेर आफ्नो अन्तर्राष्ट्रिय उडानको सुरुवात गरेको छ ।

श्री एयरलाइन्सलाई पनि अन्तर्राष्ट्रिय उडान अनुमति, बनारसमा गर्‍यो परिक्षण फ्लाइट

श्रीका अनुसार, सोमबार दिउँसो साढे ४ः२५ मा श्रीको ‘अल्फामाइकअल्फा’ कलसाइन भएको ‘सीआरजे–२००’ इआर जेट विमान काठमाडौंबाट बनासरकालागि उडेको थियो ।


५० सिट क्षमताको उक्त विमान साँझ काठमाडौं फर्किएको छ । यो उडानसँगै श्रीलाई अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने बाटो खुला भएको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रीलाई ६ महिनाअघि ‘अन्तर्राष्ट्रिय चार्टर उडान’ अनुमति दिएको थियो । श्रीका प्रबन्धक अनिल मानन्धरका अनुसार, यस वायुसेवा कम्पनीलाई क्यानेडियन बम्बार्डियर कम्पनीका दुईवटा सीआरजे–२०० र एउटा सीआरजे–७०० जेट विमानबाट चार्टर अनुमति दिइएको छ । अब कुनै पनि ट्राभल एजेन्सीले श्रीका यी जहाज चार्टर गरेर काठमाडौंदेखि ४ घण्टासम्मको हवाई दूरी भएका एसियाली सहरसम्मको उडान गर्न पाउनेछन् ।


श्रीबाहेक हाल निजी क्षेत्रको बुद्धसँग अन्तर्राष्ट्रियतर्फ नियमित उडानको अनुमति छ । निजी क्षेत्रमा बुद्ध र कस्मिकपछि अन्तर्राष्ट्रिय उडानको अनुमति पाउनेमा श्री तेस्रो कम्पनीको सूचिमा परेको मानन्धरले बताए । ‘बनारसको परीक्षण उडानपछि हामी एसियाभरका क्षेत्रीय सहरमा चार्टर उडान गर्न सक्नेछौं,’ उनले भने ।


सोमबारको परीक्षण उडान श्रीका प्रशिक्षक पाइलट प्रफुल्ल वैद्य र राजुसिंह महर्जनले गरेका थिए । जहाज निरीक्षणमा नागरिक उड्डयन प्राधिकरणका निरीक्षक पाइलट डीआर निरौला, विनय गिरी, इन्जिनियर रितेश पन्त, जानुका खनाल लगायत २० जनाको टोली यस उडानमा सहभागी भएका थिए । श्रीले काठमाडौंदेखि ६ वटा आन्तरिक रुटमा सीआरजे विमानबाट उडान गरिरहेको छ । यसले आन्तरिक उडानका लागि क्यानडामा दुइटा टर्बोप्रोप बम्बार्डियर ड्यास एट–४०० विमान खरिद गरिसकेको छ । नेपाल ल्याउन रुट अनमुति नपाएका कारण ती विमान क्यानडामै छन् ।


दुई विमान थपिएपछि श्रीसँग ६ वटा विमान हुनेछन् । बुद्ध र यतीपछि सर्वाधिक यात्रु सेवा दिने तेस्रो कम्पनी हो, श्री । २० वर्षअघि हेलिकप्टरबाट सेवा थालेको श्रीसँग ६ वटा एमआई १७ र दुई एयरबसका बीथ्री गरी ८ हेलिकप्टर छन् । हेलिकप्टरमा अन्तर्राष्ट्रिय चार्टर उडान अनुमति पाउने यो पहिलो कम्पनी हो । यसको एउटा हेलिकप्टर संयुक्त राष्ट्रसंघले अफ्रिकामा उडाइरहेको छ ।


प्रकाशित : श्रावण २७, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?