गाउँपालिका र विद्यालय एउटै भवनमा

लीलावल्लभ घिमिरे

पाँचथर — आठ कोठा भएको एक तले भवन । माथिल्लो तलाको चार कोठामा गाउँपालिका कार्यालय त्यसको ठिक तल विद्यालयका कक्षा कोठा । माथिल्लो तलमा दैनिक सेवाग्राहीको घुइँचो हुन्छ । सभाहलमा कुनै न कुनै बैठक, सेमिनार, गोष्ठी र कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । त्यस ठिक तल शिक्षकहरु खचाखच भरिएका कोठामा अध्यापन गराइरहेका हुन्छन् । 

दुई वर्षदेखि फाल्गुनन्द गाउँपालिका कार्यालय र पञ्चमी माध्यमिक विद्यालय यसरी नै चलिरहेका छन् । गाउँपालिकाको केन्द्र राख्ने विवादका कारण कार्यालय भवन बन्ने सुरसार अहिलेसम्म छैन । स्थानीय तहको निर्वाचन सकिएसँगै जनप्रतिनिधिहरु आएर यही विद्यालयको भवनमा बसे । २ वर्षसम्म नि:शुल्क बसेको गाउँपालिकाले यो साउन महिनादेखि मासिक भाडा बापत २० हजार दिने निर्णय त गरेको छ तर विद्यालयको चार कोठे पुरानो भवन वर्षाले भत्किएपछि कक्षा सञ्चालनमा समेत कठिनाइ हुन थालेको छ ।

‘विद्यालय र गापा दुवैलाई बाधा पुगेको छ’, फाल्गुनन्दका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले भने, ‘तर हामीसँग विकल्प नभएका कारण विद्यालयकै भवनमा बस्न बाध्य छौँ ।’ विद्यालयका भएमध्येका नयाँ र ठूलो भवनमा गाउँपालिका कार्यालय बसेसँगै पठनपाठनमा समेत प्रभावित हुने गरेको छ । विद्यालयको माथिल्लो तलाको चार कोठामा गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै काम सञ्चालनमा छन् । त्यसको तल पञ्चमी माविका कक्षा ८, ९ र १० सञ्चालनमा छन् । विद्यार्थी बढी भएकाले एउटै कक्षालाई २ सेसन बनाएको छ ।

दैनिक कामका लागि गाउँपालिकामा ७० जनाभन्दा बढी सेवाग्राहीहरु आउने गर्छन् । केही समयअघि आर्थिक वर्षको अन्त्यतिर त सेवाग्राहीको मेला नै लागेको थियो । यसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा बाधा पुग्ने गरेको छ । यो विद्यालयमा ४ सय ८५ भन्दा बढी विद्यार्थी छन् ।

यो गाउँपालिका प्रमुख अमर कुमार नेम्बाङको गएको माघ महिनामा एक कार्यक्रममा सहभागी भएकै अवस्थामा हृदघातका कारण मृत्यु भएको थियो । आउने मंसिरमा निर्वाचनको तयारीसँगै गाउँपालिकातिर पनि चहलपहल बढेको छ । यसले झनै विद्यार्थीको पठनपाठनमा बाधा पुग्ने पक्का छ ।

गाउँपालिकाले भवन बनाउनका लागि आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन त गरेको छ तर भवन कहाँ बनाउने भनेर विवाद लामो समयदेखि चलिरहेको छ । एकपक्ष अहिले रहेको घुर्विसे पञ्चमीमा नै भवन बनाउनु पर्ने भन्दै आएका छन् भने अर्को पक्ष कोलबुङमा सार्नु पर्ने माग गर्दै आएका छन् ।

‘भवन भत्केपछि कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ’ शिक्षक सुरेन्द्रप्रसाद लामिछानेने भने, ‘पुरानो भवन भत्कियो अब गापाले अर्को भवन बनाइ दिनुपर्छ ।’ गाउँपालिका कहाँ राख्ने विवाद भएका कारण भवन बनाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए । ‘पछिल्लो समय पञ्चमी र कोलबुङकोबीचमा राख्ने सहमति त भएको छ’, तिखत्रीले भने, ‘अहिले हामी जग्गा खोज्ने क्रममा छौं । सात वडा रहेको यो गाउँपालिकाका वडा ३ र ६ समेत कार्यालय विहीन छन् । ती वडाहरु भाडाका भवनमा राखिएको छ । पाँचथरको तेस्रो ठूलो पालिका भनिएको फाल्गुनन्दमा २५ हजारको हाराहारीमा जनसंख्या छ । गाउँपालिका प्रमुखको निधनसँगै गापाको केन्द्र कहाँ राख्ने भन्ने विवादको पनि टुंगो लाग्न सकेको छैन ।

यसैगरी जिल्लाको अर्को हिलिहाङ गाउँपालिकामा पनि केन्द्रको विवाद छ । उक्त गापामा वडा ३ मा रहेको गोपेटारमा केन्द्र बनाउने कि हाल रहेको वडा ४ पञ्चमीमा नै बनाउने भन्ने विवादले अहिलेसम्म कार्यालय भवन बन्न सकेको छैन ।

प्रकाशित : श्रावण २७, २०७६ १६:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रदर्शनकारीको भीडका कारण हङकङ विमानस्थलबाट हुने सबै उडान रद्द

कान्तिपुर संवाददाता

काठमाडौँ — सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा गरिएको प्रदर्शनका कारण हङकङ अस्तव्यस्त भएको छ । प्रदर्शनकारीहरुको उपस्थिती धेरै भएपछि सोमबार अपरान्हदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द गरिएको छ ।

प्रदर्शनकारीहरुको भीडले विमानस्थल नै भरिएपछि सबै उडान रद्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रहरीले आइतबार प्रदर्शनकारीहरुलाई अश्रु ग्यास प्रहार गरेपछि आक्रोशित भीड सोमबार बिहानैदेखि विमानस्थलमा प्रवेश गरेको थियो।प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रुग्यास तथा रबरका गोली प्रहार गरेपछि उनीहरुले प्रहरी विरुद्ध नाराबाजी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विमानस्थलको टर्मिनल पनि प्रदर्शनकारीहरुका कारण भरिएको छ।

सयभन्दा बढी उडान रद्द गरिएको छ। विमानस्थलमा ट्राफिक धेरै भएको र पार्किङ पुरै भरिएको अधिकारीहरुले जनाएका छन्। स्थानीय प्रहरीका अनुसार सोमबार मात्रै ५ हजार प्रदर्शनकारीहरु विमानस्थलमा प्रवेश गरेका छन्।

आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै प्रदर्शनकारीले शुक्रबारदेखि विमानस्थलमा विरोध सुरु गरेका थिए। एएफपीका अनुसार प्रदर्शनकारीले ‘तानाशाही शासन र प्रहरी दमनबाट हङकङलाई बचाऊ’ भन्दै नारा लगाइरहेका छन्। गतसाताको आमहडतालका कारण पनि २ सयभन्दा बढी हवाई उडान रद्द भएका थिए।

संसारकै व्यस्त विमानस्थलमध्ये एक पर्ने हङकङ विमानस्थलमा सन २०१८ ७ करोड ५० लाख यात्रुहरु आएका थिए।विरोध प्रदर्शन चर्कंदै गएपछि अधिकारीहरूले हङकङको वित्तीय जिल्लाका सरकारी कार्यालयहरू बन्द गरिएको जनाएका छन्।

प्रकाशित : श्रावण २७, २०७६ १५:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT