अन्तरजातीय विवाहले ‘सामाजिक बहिष्कार’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धनकुटा — ‘दलित’ सँग विवाह गरेको भन्दै आफ्नै बाबुको मृत्यु हुँदा साहित्यकार तथा कलाकार मुकुन्द सुवेदी ‘प्रयास’ सामाजिक बहिष्कारमा परेका छन् । पाख्रिबास नगरपालिका ७ थाक्ले टोलका ८४ वर्षीय यज्ञप्रसाद सुवेदीको चार दिन पहिले निधन भयो । चार छोरामध्ये कान्छा प्रयासबाहेक अन्यले पुर्ख्यौली थलोमा नै काजकिरिया गर्दै आएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![अन्तरजातीय विवाहले ‘सामाजिक बहिष्कार’](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2019/miscellaneous/cp1-10081-1-img2007-1282019051843-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
तर समाजले अस्वीकार गरेको भन्दै प्रयासलाई दाजु–भाउजू तथा आफन्तजनले घरमा जान बन्देज गरेपछि उनी एक्लै सदरमुकाममा बस्दै आएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रयासका दाजु तथा भाउजूले समेत घरमा बन्देज गरेका छन् । उनका माइला दाजु दुर्गाप्रसाद र भाउजू मातृका दुवै पार्टीको जिम्मेवार पदमा कार्यरत छन् । जेठा दाजु गोविन्द नेकपाका स्थानीय नेता हुन् ।
यसअघि पार्टीले आयोजना गरेको सहभोज र सामाजिक कुरीति हटाउने अभियानमा सक्रिय दाजु–भाउजूले समाजले नरुचाएको काम गरेकाले घरमा आउन बन्देज गरेको प्रयासले बताए । साहिँला दाजु चन्द्रमणि स्थानीय शिवालय मन्दिरका पुजारी हुन् । इष्टमित्र आफन्तजनले घरमा एकैसाथ काजकिरिया गर्न नदिने भनेपछि बन्देज गर्नुपरेको दाजु दुर्गाप्रसादले बताए ।
‘सबै आफन्त र समाजले उसलाई घरमा बोलाए नआउने भनेपछि बाध्य भएर काजकिरियामा सामेल नगराइएको हो,’ उनले भने, ‘आफूले मात्र सकारात्मक सोचेर नहुने रहेछ ।’ ०५३ मा स्थानीय मैया रसाइलीसँग प्रेमविवाह गरेका प्रयास स्थापित कवि तथा कलाकार हुन् ।
विवाहपछि परिवारले २०६१ सालमा घर भित्र्याएका थिए । रकभा आर्ट कला केन्द्रका सञ्चालक उनी डेढ दशकदेखि सदरमुकाम बस्दै आएका छन् । घर जाँदा बाबुआमा तथा परिवारसाथ एउटै भान्छामा खाना खाने तथा दसैंमा सामूहिक टीका लगाउनेदेखि अन्य धार्मिक क्रियाकलापमा एकैसाथ सहभागी हुँदै आएका थिए ।
तर बाबुको निधनपछि अकस्मात् बहिष्कारमा परेको भन्दै उनले आफूमाथि अन्याय गरिएको बताए । ‘एकातर्फ बुवाको निधनले शोकमा डुबाएको छ,’ उनले भने, ‘अर्कोतर्फ घरपरिवार र समाजले बहिष्कार गरेकाले असाध्यै अन्यायमा परेको महसुस भएको छ ।’ एकै ठाउँमा काजकिरिया गर्न पाउनुपर्नेमा बहिष्कार गरिएको उनले बताए ।
बुवा बितेको खबर छिमेकी भूपेन्द्र थापाले जानकारी दिए । थापाले ‘तिमी घर नआउ भन्ने समाजले निर्णय गरेको छ’ भन्दै प्रयासलाई खबर गरेका थिए । दाहसंस्कारका क्रममा मूलघाटस्थित तमोर नदीमा पुग्दा दाजुहरू तथा आफन्तजनले उपेक्षा गरेको उनले बताए । ‘मसँग कोही बोलेनन्,’ उनले भने, ‘तीन दाजुले दागबत्ती दिएको टुलुटुल हेर्नुबाहेक केही गर्न सकिनँ ।’
अरूको विभेद र अन्यायबारे आवाज उठाउँदै आएपछि आफैं सामाजिक बहिष्कारको सिकार हुनुपरेकामा चरम पीडा भएको उनी बताउँछन् । प्रयास पत्नी मैया धनकुटा ९ गुठीटारस्थित थानी आधारभूत विद्यालयकी शिक्षिका हुन् ।
वर्षौंसम्म घरपरिवारसाथ सामूहिक रूपमा बिताउँदै आए पनि पछिल्लो समय गरिएको बहिष्कारले अझै समाज कुन स्थानमा छ भन्ने स्पष्ट भएको मैयाले बताइन् । आफूहरूमाथि गरिएको बहिष्कारप्रति कानुनी उपचारका लागि जाने प्रयास तथा मैयाले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)