सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

रासस

काठमाडौँ — सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ वृद्धि भएको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।


कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट घटाएर दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।


कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो ।


उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी 'क' वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको बताइएको छ ।


उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब रुपैयाँ खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक छ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको बताइएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १६:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ

रासस

काठमाडौँ — नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×