पूर्वराजाबारे दाहालको अभिव्यक्ति आपत्तिजनक : थापा

नगेन्द्र अधिकारी

काभ्रे — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् ।

केन्द्रीय प्रशिक्षण विभागले धुलिखेलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई पूर्वप्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति ‘आपत्तिजनक, संविधाननको मर्मविपरीत र अधिनायकवादको घोतक’ भएको तर्क गरे। ‘दुई पटक प्रधानमन्त्री भइसकेका, महत्वपूर्ण पार्टीको अध्यक्षको त्यो अभिव्यक्तिको भाषा र शैली उपयुक्त भएन,’ अध्यक्ष थापाले भने, ‘यो हतास र असुरक्षित मनस्थितिको उपज रहेको मैले बुझेको छु।’ रामेछापको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले राजालाई धेरै बकबक नगर्न चेतावनी दिँदै राजसंस्थाको वकालत गर्नेलाई ‘दास’ को संज्ञा दिएका थिए।

नेपाली राजनीतिका ‘केन्द्रीय पात्र’ दाहालले कांग्रेस र एमालेलाई आफ्नो सिद्धान्तबाट च्युत गराउन सफल भएको तर्क गर्दै उनले सिद्धान्त च्युत गर्न नसकेको एकमात्र पार्टी राप्रपा भएको दाबी गरे। २०७६ साललाई संगठन वर्ष घोषणा गरेको राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियानका साथै २०७६ मंसिरमा राष्ट्रिय स्वाभिमान यात्रा र गाउँ फर्क अभियान सञ्चालन गर्ने थापाले जानकारी दिए।

वरिष्ठ नेता दिपक बोहराले हिन्दुराष्ट्र कायम गर्दै राजालाई कुनै न कुनै रुपमा स्पेस दिनुपर्ने पक्षमा आफू रहेको भन्दै जनता आफ्नो एजेण्डाको पक्षमा रहेको दाबी गरे। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेस कम्युनिष्टसँग जनता निरास भइरहेको तर्क गर्दै प्रतिपक्षले समेत भूमिका निर्वाह गर्न नसकेको माहोल आफूले उपयोग गर्नुपर्ने तर्क गरे।
प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता छ। पार्टी अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन्। केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात् भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७ सय ५३ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने राप्रपाको तयारी छ।

प्रकाशित : श्रावण २४, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्जमा बिहीबार मध्यरातमा भीषण आगलागी

डेन्टल अस्पतालसहित एक दर्जन फर्निचर उद्योग जलेर ध्वस्त
ठाकुरसिंह थारु

नेपालगन्ज — बिहीबार मध्यराति आगलागी हुँदा नेपालगन्जको बीपी चोक नजिकै रहेको डेन्टल अस्पतालसहित एक दर्जन फर्निचर उद्योग जलेर ध्वस्त भएका छन् ।

प्रहरीका अनुसार, सरदार डेन्टल क्लिनिकसहित सानिया स्टिल, स्टार फर्निचर, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, प्रताप फर्निचर, न्यू रुवी फर्निचर, आलिया, हिमाल, एवान, वावा फर्निचर, वावा ट्रेड्समा आगलागी भएको हो । ढिलागरी दमकल पुग्दा आगलागी नियन्त्रणमा समस्या भएको प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्