मलेसिया बन्दका १५ महिना : सरकारले पठायो स्वास्थ्य संस्थाको सूची

बायोमेडिकलमार्फत परीक्षण भएका कामदारको स्वास्थ्य प्रतिवेदन अनलाइनमा पठाएपछि मात्रै मलेसियाको अध्यागमन विभागले कलिङ भिसा जारी गर्छ । श्रम सम्झौताअघि छानिएका ३६ वटासहित १ सय २२ स्वास्थ्य संस्थालाई सरकारले नयाँ प्रक्रियाअनुसार छानेको छ । यी संस्थालाई मलेसियाले आफ्नो संयन्त्रमा राख्नासाथ नयाँ कामदार जाने बाटो खुल्नेछ । 
होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र स्वास्थ्य परीक्षण निर्देशिका (एसओपी) पूरा गरेको विशेषज्ञ समितिको सिफारिसमा मन्त्रालयले ती संस्थालाई सूचीकृत गरेको हो । मन्त्रालयले संस्थाको नामावली मलेसिया पठाइसकेको छ । 

मलेसियाले यी संस्थालाई आफ्नो संयन्त्रमा समावेश गरे श्रम सम्झौताअनुसार नयाँ कामदार मलेसिया जाने बाटो खुल्नेछ । दुई देशका संयुक्त प्राविधिकको बैठकको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिए । ‘नेपालले पूरा गर्नुपर्ने प्रक्रिया सकिएको छ,’ उनले भने, ‘अब मलेसियाले पनि सक्दो छिटो प्रक्रिया टुंग्याउनेमा म विश्वस्त छु ।’ मलेसियाको ढोका खुल्न सबैभन्दा पहिले कामदारको स्वास्थ्य परीक्षण हुनुपर्छ । बायोमेडिकलमार्फत त्यसमा उत्तीर्ण भएको रिपोर्ट अनलाइनबाट पठाएपछि मात्रै मलेसियास्थित अध्यागमन विभागले ‘कलिङ भिसा’ जारी गर्छ ।

श्रम सम्झौताअघि ३७ वटा स्वास्थ्य संस्थाले मात्रै कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । २ जेठ २०७५ मा श्रम मन्त्रालयले ‘एकपक्षीय रूपमा तोकिएका ३९ स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाई स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकी श्रम मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थामार्फत गरिने जाँच मान्य हुने व्यवस्था लागू गर्ने’ निर्णय गरेको थियो ।

बायोमेडिकल गर्ने स्वास्थ्य संस्था नछानिएकै कारण मलेसियाको बाटो लम्बिएको हो । श्रम मन्त्रालयका अनुसार अब मलेसिया धेरै टाढा छैन । १ सय २२ स्वास्थ्य संस्थाभित्र श्रम सम्झौताअघि छानिएका ३६ संस्था परेका छन् । उनीहरू श्रम मन्त्रालयको नयाँ प्रक्रियामा सामेल थिए । ‘पारदर्शी एवं स्वस्थ किसिमले विशेषज्ञ समितिबाट संस्था छानिएका हुन्,’ मन्त्री विष्टले भने, ‘समितिले कसैलाई गुनासो राख्ने ठाउँ दिएको छैन ।’

१५ महिनाको कष्टकर बाटो
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २०७३ असोज १० मा ‘मलेसिया जाने नेपाली कामदारमाथि भइरहेको चरम आर्थिक शोषण रोक्न’ परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरायो । संघले चरम आर्थिक शोषण हुनुमा मुख्य ५ कारण औंल्याएको थियो– कामदारको स्वास्थ्य परीक्षण (बायोमेडिकल), माइग्राम्स, भीएलएन, वान स्टप सेन्टर र इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) ।

१ नोभेम्बर २०१३ बाट भीएलएन, १ मे २०१६ बाट माइग्राम्स, १५ सेप्टेम्बर २०१६ देखि ओएससी र जीएसजी लागू भएको थियो । बायोमेडिकलमार्फत कामदारको स्वास्थ्य परीक्षण गर्न भने २०७२ असार २५ गतेबाट श्रमले अनुमति दिएको थियो, बाँकी चार संयन्त्रलाई थिएन ।

व्यवसायी संघको दाबी थियो, मलेसियाबाट एकतर्फी चलिरहेका यी संयन्त्रका कारण कामदारको आर्थिक लागत बढिरहेको छ । यी संयन्त्रकै कारण कामदारले १७ हजार ६ सय रुपैयाँ तिर्न बाध्य भए । यसैकारण सरकारले तोकेको १० हजार रुपैयाँमा कामदार पठाउन सकिएन । सबै जोडदा लागत शुल्क एक लाख रुपैयाँ नाघ्यो ।

२०७५ जेठ २ मा श्रममन्त्री विष्टले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिइँदै आएको शुल्क अवैध भन्दै खारेज गरिदिए । काठमाडौंस्थित मलेसिया दूतावासमा भिसा लगाउन म्यानपावर कम्पनीले सीधै राहदानी लिएर जान पाउँदैनथे । राहदानी ओएससीलाई बुझाउनुपर्थ्यो । त्यसबापत ओएससीले प्रतिराहदानी ३ हजार रुपैयाँ लिन्थ्यो । राहदानीमा भिसा स्ट्याम्पिङ गरेबापत ७ सय र त्यसलाई डाटामा राखेबापत ३ हजार २ सय गरी ३९ सय रुपैयाँ भीएलएनले लिन्थ्यो । स्वास्थ्य परीक्षणबापत लिइने ४ हजार ५ सय रुपैयाँ शुल्क स्वास्थ्य मन्त्रालयको विशेषज्ञ समितिले निर्धारण गरेबमोजिम थियो ।

यो निर्णयलगत्तै नयाँ कामदारको श्रमस्वीकृति बन्द भयो । बिदामा आउने कामदार पुनः त्यही कम्पनीमा जान भने पाउने भए । संघले सरकारले चालेको कदमलाई स्वागत गर्दै मलेसियामा कामदार पठाउने व्यवसायीलाई धैर्य गर्न भन्यो । ‘नेपालको बदलिँदो परिस्थितिबारे रोजगारदातालाई जानकारी दिइसकेका छौं,’ त्यतिखेर संघका अध्यक्ष रोहन गुरुङले भनेका थिए, ‘यो कदम कामदारको हितमा चालिएको छ । सरकारको निर्णयप्रति हाम्रो साथसमर्थन रहनेछ ।’

यो निर्णयबाट वार्षिक रूपमा मलेसिया जाने कामदारको १ अर्ब ७१ करोड रुपैयाँ ठगी हुनबाट जोगिएको संघको दाबी थियो । यसमा म्यानपावरको शुल्क जोडिँदैन । ०७५ मंसिर १२ मा मलेसियन श्रममन्त्री श्रमसम्झौता गर्न काठमाडौं आए । नेपाल पक्षकै चाहनालाई सम्बोधन हुने गरी श्रम सम्झौता भयो । सम्झौताको मुख्य पक्ष कामदारको सबै खर्च रोजगारदाताले नै बेहोर्ने भन्ने थियो ।

संयुक्त प्राविधिक बैठकले पुरुष कामदार ल्याउन ६ हजार ३ सय २२ देखि ७ हजार ९ सय ३२ रिंगेट र महिला कामदार ल्याउन ६ हजार ३ सय ३२ देखि ७ हजार ९ सय ४२ रिंगेट लाग्ने तय गरियो । यसबाहेक नेपाली कामदारले अभिमुखीकरण, बिमा र कल्याणकारी कोषबापत ५ सय ५ रिंगेट भने आफैंले तिर्नुपर्छ ।

नेपालले कामदार लैजाने मलेसियाका संयन्त्र हटाउन प्रस्ताव गरे पनि सम्झौता अवधि बाँकी रहेकाले मलेसिया तुरुन्तै हटाउन सक्ने वा नयाँ संयन्त्र राख्न सक्ने अवस्थामा थिएन । काठमाडौंमा रहेका आफ्ना संयन्त्र पुनरावलोकन गर्न भने ऊ तयार भयो । ती संयन्त्रबाट लिइने सेवाशुल्क कामदारबाट नलिई रोजगारदाताबाटै बेहोरिने भयो ।

स्वास्थ्य परीक्षणको २ सय ६० रिंगेट र सुरक्षा जाँचको १ सय ५ रिंगेट भने नेपालमा कामदारले तिर्ने र मलेसिया गएपछि रोजगारदातालाई पहिलो महिनाको तलबमा त्यो फिर्ता गराउन मलेसिया तयार भयो । यो सम्झौताले नेपालका म्यानपावर व्यवसायीलाई सीधै रोजगारदाता कम्पनीसँग पहुँच बनाई कामदार आपूर्ति गर्न पाउने बाटो खोलिदियो ।

यसअघि नेपालका म्यानपावर मलेसियाका म्यानपावर कम्पनीसँग भर पर्नुपर्थ्यो । अब रोजगारदाताले म्यानपावरलाई प्रतिकामदार १ हजार ५० रिंगेट सेवा शुल्क दिनुपर्ने उल्लेख छ । म्यानपावर व्यवसायीले भने कामदारको एक महिनाको तलब बराबर पाउनुपर्ने माग गरिरहेका थिए । सम्झौतामा सीधै रोजगारदातासँग पहुँच बनाए १ हजार ५० रिंगेट तर मलेसियाको म्यानपावर कम्पनीबाट मागपत्र ल्याए ५ सय २५ रिंगेट पाउने उल्लेख छ ।

यसको प्रभावकारी कार्यान्वयन भए भिसा खरिदबापत हरेक वर्ष बाहिरिने करोडौं रूपमा जोगिन्छ । म्यानपावर व्यवसायीले एउटा भिसाका लागि ४ सय ५० अमेरिकी डलर कमिसन बुझाउने गरेका छन् ।श्रम सम्झौताअनुसार नयाँ कामदार पठाउने प्रक्रिया भने मेडिकलमै आएर अल्झियो ।

मेडिकल छनोटमा ५ महिना
सम्झौताको २२ दिनपछि मंसिर ५ गते काठमाडौंस्थित मलेसिया दूतावासले अर्को निर्णय नभएसम्म पुरानै संयन्त्रले काम थाल्ने भन्दै कलिङ (प्रवेश) भिसा जारी भइसकेका कामदारलाई नरोक्न नेपाललाई पत्र लेख्यो ।

कलिङ भिसालाई स्वीकृति दिएर सम्झौता कार्यान्वयनको थालनी गर्नुपर्ने थियो । प्राविधिक बैठकमा मलेसियाले पूर्वश्रम स्वीकृति पाई स्वास्थ्य परीक्षण र सुरक्षा जाँच भई म्याद गुज्रेका कामदारको पुनः निःशुल्क स्वास्थ्य परीक्षण र सुरक्षा जाँच गरी भिसा प्रक्रिया थाल्ने र नेपालले कलिङ भिसा जारी भइसकेकालाई अन्तिम श्रम स्वीकृति दिने सहमति जनाएको थियो । मलेसियाले कलिङ भिसाको म्याद गुज्रेका कामदारलाई कालोसूचीमा नराख्ने जनाएको थियो ।

बायोमेडिकल र सुरक्षा जाँचमा उत्तीर्ण कामदारको मात्रै कलिङ भिसा जारी हुन्छ । यसलाई मलेसिया जान पाउने पहिलो अनुमतिपत्र (प्रि–भिसा) पनि भन्ने गरिन्छ । कलिङ भिसा आएका कामदारलाई मात्रै काठमाडौंस्थित मलेसियन दूतावासबाट प्रवेश भिसा दिइन्छ । यसपछि मात्रै श्रमस्वीकृति दिइन्छ ।

मलेसियाले परराष्ट्रलाई मात्र होइन, आफ्ना संयन्त्रलाई पनि काम थाल्न पत्रपठाएको थियो । व्यवसायी संघले मलेसिया कामदार सूचार गर्न श्रम मन्त्रालयलाई आग्रह गर्‍यो । श्रम मन्त्रालयले कलिङ भिसा जारी भइसकेका कामदारलाई श्रमस्वीकृति दिन राजी भयो । संघले म्यानपावर र वैदेशिक रोजगार बिभागबीच सहजीकरणको भूमिका निर्वाह गर्‍यो । साउन पहिलो हप्तासम्म कलिङ भिसा पाएका झन्डै २१ हजार कामदारले श्रम स्वीकृति पाइसकेका छन् । बिदामा समेत आएकालाई जोड्ने हो भने एक वर्षमा ५० हजार नेपाली कामदार मलेसिया गएका छन् ।

५ चैत २०७५ मा मलेसियाले सरकारलाई एसओपी पठायो । चैत १८ गते श्रम मन्त्रालयले एसओपीअनुसार कामदारको स्वास्थ्य परीक्षण गर्न सक्ने इच्छुक स्वास्थ्य संस्थालाई सूचीकृत हुन १५ दिनको प्रस्ताव आहवान गर्‍यो । नेपाल मेडिकल व्यवसायी संघले विदेशबाट १ करोड बराबरको स्वास्थ्य सामान आयात गर्नुपर्ने र हाई भोल्टेजको विद्युत् जोहो गर्न १५ दिनको समय नपुग्ने भन्दै ३ महिनाको समय मागेको थियो । त्यसले मलेसिया महिनौं दिन लम्बियो । मन्त्रालयमा पहिले छानिएका ३६ सहित २ सय ९० स्वास्थ्य संस्थाले प्रस्ताव पेस गरे । प्रस्ताव दिने काठमाडौंबाहिरबाट पनि आए । सरकारी अस्पताल भने सहभागी भएनन् ।
मन्त्रालयबाट खटिएको प्राविधिकसहितको टोलीले ती संस्थाको स्थलगत अनुगमन एवं निरीक्षण गरी प्रतिवेदन तयारगर्‍यो । प्रतिवेदनका आधारमा विशेषज्ञ समितिबाट असार १९ मा पुराना ३६ सहित ९९ संस्था छनिए ।

श्रमले छनोटमा चित्त नबुझेका संस्थालाई पुनः उजुरी गर्न समय दियो । उजुरी गर्नेहरूका संस्थामाथि छानबिन गर्न उसले पुनः साउन ६ देखि टोली खटायो । टोलीले ५८ वटा संस्थामा पूरक अनुगमन गर्‍यो, जसमा ३१ वटा संस्था छानिए । २२ वटा संस्थाको मापदण्ड पुगेन । ५ वटा संस्थाको कार्यालय बन्द थियो । ९९ मा छानिएकामध्ये ८ वटा संस्था दोस्रो पटकको अनुगमनबाट असफल देखिए । यसरी कुल १ सय २२ वटा स्वास्थ्य संस्था छानिए । मलेसिया पुगेको सूची यही हो ।

व्यवसायी भने जेठअघि मलेसियाका कम्पनीलाई कामदार आपूर्तिको अन्तर्वार्ता गर्न दिइसकेको मागपत्रअनुसार कामदार पठाउन पाउनुपर्ने माग गरिरहेका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

के वन्यजन्तुले आत्महत्या गर्छन् ?

गोविन्द पोखरेल

काठमाडौँ — भवितव्यका कारण धेरैजसो जीवजन्तुको ज्यान जाने विज्ञहरू बताउँछन् । कहिलेकाहीँ ज्यान बचाउने क्रममा भाग्दा लडेर ती मर्ने गरेका घटना धेरै पाइन्छन् । यहाँ सँगै अर्को जिज्ञासा जाग्छ, के वन्यजन्तुले पनि आत्महत्या गर्छन् ? 


‘समूहको नाइकेको पछिपछि जाने क्रममा अन्य जनावरको ज्यान जान सक्छ,’ त्रिवि केन्द्रीय जीव विज्ञान क्याम्पसका प्राध्यापक तेजबहादुर थापाले भने, ‘समूहको नाइके कुनै कारणले लडयो भने उसको पछिपछि गएका अन्य जनावर पनि लड्न सक्छन् ।’ यस्ता घटनाबारे नेपालमा डकुमेन्टेसन नभएको उनले बताए । भेडा जस्तो स्वभाव हुने जीवको मृत्यु पनि यस्तै कारणले हुने उनको भनाइ छ ।

वन्यजन्तुहरूमा आत्मविनाशकारी व्यवहार (सेल्फ डिस्ट्रक्टिभ बिहेभियर) हुन सक्ने उनले बताए । ‘जीवनको कुनै अवस्थामा पुगेपछि जीवहरू देहत्याग गर्न सक्छन्,’ थापाले भने, ‘तर यो उनीहरूको आचरणको कुरा हो । स्तनधारीहरूमा देहत्याग गरेका घटना विरलै पाइन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता घटना कहिलेकाहीँ सुनिए पनि अध्ययन भएको छैन ।’

वन्यजन्तुहरूले आत्महत्या गर्ने सम्बन्धमा संसारमा अनुसन्धान धेरै भएका छन् । इकोलोजिस्ट एवं त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका उपप्राध्यापक मनकुमार धमला भन्छन्, ‘स्तनधारी जीवले कुनै हिंस्रक एवं आफूभन्दा शक्तिशाली जीवको अगाडि प्राण त्याग्न सक्छन् । तर त्यसलाई आत्महत्या नै भनेर यकिन गर्न भने सकिन्न ।’ डल्फिन, बाँदर, हात्तीजस्ता स्तनधारी जीव आफ्नो परिवारका कुनै सदस्यको मृत्यु हुँदा शोकमा बस्छन् । शोकमा रहेका बेला खानै नखाँदा उनीहरू मर्न सक्ने धमलाको भनाइ छ ।

यी जीवले समूहका कुनै सदस्यको मृत्यु हुँदा नजिकै जाने, सुमसुम्याउने जस्ता व्यवहार देखाउँछन् । वन्यजन्तुहरूले सामूहिक आत्महत्या नै गरेका घटना भने दुर्लभ रहेको उनले बताए । समूहको कसैलाई बचाउन खोज्दा वन्यजन्तुहरूको ज्यान जान सक्ने उनले सुनाए । मानिसले जस्तो अन्य जीवले आत्महत्या गर्न नसक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञानका प्राध्यापक एवं बाँदर विज्ञ मुकेश चालिसेको भनाइ छ । ‘संसारमा बुद्धि भएको प्राणी मानिस मात्रै हो । आर्थिक, सामाजिक, राजनीतिक एवं वंशानुगत कारणले उसले आत्महत्या गर्छ । यस्तो स्वभाव मानिसमा मात्रै हुन्छ ।’

कहिलेकाहीँ आत्तिएर, हिँड्दा, भाग्दा वा भीरपाखा, रूख आदि स्थानबाट खसेर वन्यजन्तु मर्ने गरेको विज्ञहरूको भनाइ छ । सारसको जोडीमा कुनै एकको मृत्यु हुँदा अर्कोले खानै नखाई पीडामा बस्ने गरेको भेटिन्छ । यसले पनि उनीहरूको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । धमिरालगायत अन्य स–साना कीराको सामूहिक मृत्यु हुने गरेको पाइन्छ ।

मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ को एक पोखरीमा १६ वटा बाँदर हामफाल्दा डुबेर मरेको घटना सन्दर्भमा विज्ञहरूको एउटै मत छ– यो आत्महत्या होइन । बाँदरहरू पौडी खेल्न सक्ने भएकाले पोखरीमा केही दूषित पदार्थ वा विष मिसिएको हुन सक्ने उनीहरूको भनाइ छ । यस विषयमा अनुसन्धान आवश्यक रहेको उनीहरू बताउँछन् । ‘यो घटनामा पोखरी कस्तो थियो, बाहिर जाने ठाउँ थियो कि थिएन, तापक्रम कस्तो थियो भन्ने कुराले पनि ठूलो अर्थ राख्छ,’ चालिसेले भने ।

१० वर्षअघि पनि मरेका थिए बाँदर
१० वर्षअघि पशुपतिमा २० देखि ३० वटा बाँदेर मरेका थिए । पशुपतिस्थित एक बिजुलीको पोलमा एउटा बाँदरलाई करेन्ट लागेको थियो । कराउँदाकराउँदै उसको मृत्यु भएपछि अन्य बाँदर उसलाई बचाउन गएका थिए । त्यस क्रममा करेन्ट लागेर सबैको मृत्यु भएको थियो । ‘एउटालाई बचाउन जाँदा त्यसबेला २० देखि ३० वटा बाँदर करेन्ट लागेर मरेका थिए,’ चालिसेले भने ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : श्रावण २३, २०७६ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्