पोखरीमा हाम फालेर १६ बाँदर मरे

अनिश तिवारी

सिन्धुपाल्चोक — यहाँको एक पोखरीमा म‌ंगलबार १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा घटना भएको हो । बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए ।

सिन्धुपाल्चोकको चौतारा–१३ अर्चेलेगाउँको पोखरीमा मरेका बाँदर । तस्बिर सौजन्य ः कमल केसी

‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।

क्षेत्रबहादुरको आवाज सुनेर आएका छिमेकी कुश्माखर दुलाल पनि सुरुमा त छक्क परे। त्यसपछि जम्मा भएका गाउलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए। डुबेर छटपटाइरहेकालाई बाहिर निकाले।

‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी अचम्ममा पर्‍यौं,’ स्थानीय कुलप्रसाद दाहालले भने, ‘९ वटालाई बचाउन सकियो। १६ वटा मरेछन्। अरुलाई धपाउन पनि गाह्रै भयो।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दु:खी बनाएको उनले बताए। ‘गाउँले मिलेर बाँसले बाँदर निकालेका हौं,’ उनले भने, ‘पोखरी बर्खाले आधाआधी भरिएको छ।’ गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए।

एउटा बाँदर आएर पहिलेदेखि नै पोखरी छेउ उभिएर घोरिएर हेर्ने गरेको देख्दैआएको केहीले बताएका छन्। त्यसैले हाम फालेपछि अरुले पनि हाम फालेको हुनसक्ने गाउँलेको भनाइ छ। आफ्नै छाँया देखेर डुबेको बाँदर बचाउने भन्दै बाँदर हाम फालेको या अग्रज बाँदरको अभिनय गरेको हुनसक्ने अनुमान छ। ‘जे पनि हुन सक्छ तर, घटना एक प्रकारले रहस्य नै बनेको छ,’ चौतारा साँगाचोकगढी–१३ का वडाध्यक्ष रामप्रसाद गौतमले भने, ‘यो अघि यस्तो घटना हामीले सुनेका पनि थिएनौं।’

सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा सयभन्दा बढि समुहमा राता बाँदर छन्। बाँदर विशेषज्ञ मुकेश चालिसे भने यसरी बाँदरले छायाँ देखेर हाम फालेको हुने कुरा लगभग असम्भव रहेको बताए। ‘बाँदर पानीमा मज्जाले पौडन सक्छ। पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्छ,’ उनले भने, ‘या पोखरीमा करेन्ट लगाइएको हुनसक्छ। त्यत्तिकै बाँदरले हाम फाल्दैनन्।’ यसरी बाँदरले सामूहिक रुपमा हाम फालेको कुरा पहिलोपटक सुनेको उनले बताए। ‘अनुसन्धान गर्न जरुरी छ,’ उनले भने।

यो पनि पढ्नुहोस्ः
के वन्यजन्तुले आत्महत्या गर्छन् ?

प्रकाशित : श्रावण २२, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्

४ सिमेन्ट उद्योगलाई कारबाही

‘नेपाल अल्ट्राटेकको ओपीसी सिमेन्टमा बिक्री बितरण रोक्का, चितवन सिमेन्टको पिपिसि सिमेन्टको इजाजत पत्र रद्द, अम्बुझा सिमेन्टको ओपीसीमा इजाजत पत्र स्थगन र जानकी सिमेन्टको ओपीसी बिक्री बितरणमा रोक’
कान्तिपुर संवाददाता

काठमाडौँ — गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने ४ सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल अल्ट्राटेक सिमेन्ट, चितवन सिमेन्ट, अम्बुझा सिमेन्ट र जानकी सिमेन्टलाई कारबाही गरेको हो ।

‘ती उद्योगले उत्पादन गरेका ओपीसी र पीपीसी सिमेन्टमा आइआर र एमजिओको मात्रा उच्च पाइयो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘जसले गर्दा कारबाही प्रक्रिया अघि बढाएका छौं।’

विभागले असारमा २५ सिमेन्ट उद्योगको नमुना संकलन गरेको थियो। जसमध्ये नेपाल अल्ट्राटेकको ओपीसी उत्पादन आइआर नेपाल गुणस्तर अनुसार थिएन। उक्त सिमेन्टलाई बिक्री बितरणमा रोक गरी स्पष्टीकरण माग गरिएको उनले बताए। चितवन सिमेन्टको पीपीसी उत्पादनमा पनि आइआरको समस्या रहेको इजाजत पत्र रद्द गरिएको छ।'

पटक-पटक परीक्षण र निर्देशन दिँदा पनि सुधार भएन,’ उनले भने, ‘उक्त सिमेन्टको इजाजत रद्द गरेका छौं।’ विभागका अनुसार आइआर भनेको मिसावटलाई जनाउँछ। धेरै मिसावट हुँदा बलियो हुँदैन। यस्तै, अम्बुझा सिमेन्टको पनि इजाजत पत्र स्थगन भएको छ। उक्त उद्योगले उत्पादन गर्ने ओपीसी सिमेन्टमा एमजिओको प्रतिशत उच्च फेला परेको थियो। ‘ओपीसीमा एमजिओको अधिकतम मात्र ६ प्रतिशत मात्रै हो। तर, नमुना परीक्षण गर्दा ७.३ प्रतिशत फेला पर्‍यो,’ महानिर्देशक पुडासैनीले भने, ‘जसले गर्दा इजाजत पत्र स्थगन गरेका छौं।

सुनसरीमा रहेको जानकी सिमेन्ट इन्डष्ट्री प्रालिको ओपिसी उत्पादनमा पनि बिक्री वितरण रोक लगाइएको छ। विभागका अनुसार ओपीसीमा आइआर, एलएसएफको मान नेपाल गुणस्तर अनुसार थिएन। ‘कैफियत भेटिएकाले बिक्री वितरणमा रोकगरी स्ष्टीकरण माग गरेका छौं,’ उनले भने।

प्रकाशित : श्रावण २२, २०७६ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्