मन्त्रालयको संख्या थप्न सुझाव

प्रतीक्षा काफ्ले

गण्डकी — मुख्यमन्त्रीको कार्यालयसहित ७ मन्त्रालय रहेको गण्डकी प्रदेशमा थपेर १० पुर्‍याउन सुझाव दिइएको छ । मन्त्रालयको संख्या र संगठनात्मक स्वरुप निर्धारण गर्न गठित टोलीले यस्तो सुझाव दिएको हो । प्रदेश सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) लाई अध्ययनको जिम्मा दिएको थियो । 

टोलीले निष्कर्षसहितको प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गर्दै मन्त्रालयको संख्या १० पुर्‍याउन सुझाएको हो । हाल रहेका मन्त्रालयमा जिम्मेवारी थपघट भइरहेकाले मन्त्रालयको संख्या थप्न सुझाव दिइएको कलेजका कार्यकारी निर्देशक पुण्य न्यौपानेले जानकारी दिए । गण्डकी प्रदेशले आफ्नो मातहतका सरकारी कार्यालयको संगठन संरचना र दरबन्दीसमेत हेरफेर गर्ने भएको छ ।

कर्मचारीतन्त्रको अहिलेको संयन्त्रबाट प्रदेशले राखेको समृद्धि कठिन देखिएपछि प्रशासनिक संरचनामा केही फेरबदल गर्न लागिएको प्रदेश सरकारको भनाई छ । संगठन संरचना र दरवन्दी कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझावसहित विकल्प दिन प्रदेशले टोली बनाएको हो । टोलीले पहिलो चरणको सुझाव आइतबार प्रदेश सरकारलाई बुझाएको छ । आइतबारै मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ्सहित मन्त्रीहरु र सुझाव कार्यदल टोलीवीच छलफल भएको छ । सातै मन्त्रालयका सचिवसमेत छलफलमा सहभागी थिए । न्यौपाने नेपालको संविधान, अन्तराष्ट्रिय अभ्यास र प्रदेश सरकारको लक्ष्य र योजनालाई ध्यान दिएर प्रतिवेदनमा सुझाव पेश गरिएको बताए ।
यसैगरी प्रदेशका ११ वटै जिल्लामा एकीकृत सेवा केन्द्र लागु गर्दा सेवा प्रभावकारी हुने प्रतिवेदनमा उल्लेख छ । हरेक मन्त्रालयमा महाशाखा र शाखासमेत हेरफेर गर्न सकिने प्रतिवेदनले सुल्झाएको छ । प्राविधिक र विशिष्टकृत कर्मचारी निश्चित समयका लागि आवश्यक हुने भएकाले यसलाई करारमा राख्न सुझाव दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सवै मन्त्रालयलाई एक साताभित्र प्रतिवेदनमाथिको मन्त्रालयगत सुझाव दिन निर्देशन दिएका छन् ।

प्रतिवेदनमाथि अन्तिम छलफल गरेर स्वीकृतिका लागि संघीय सरकारसमक्ष पठाउने प्रदेशको तयारी छ । छलफलमा मुख्यमन्त्री गुरुङ्ले विद्यमान कर्मचारी संरचनामा नयाँपन आवश्यक रहेको बताए । पुरानो मानसिकताका कारण संरचना बदल्ने कुरामा केही आशंका देखिए पनि यो विस्तारै हटदै जाने मुख्यमन्त्रीको बताए ।

प्रकाशित : श्रावण २०, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्

‘अमेरिकामा घृणालाई स्थान छैन’

एजेन्सी

वासिङटन — अमेरिका भएका पछिल्ला दुई गोलीकाण्डबारे प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आफ्नो देशमा घृणालाई कुनै पनि स्थान नरहेको’ बताएका छन् । शनिबार र आइतबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २९ जनाको ज्यान गएको थियो । टेक्सासको एक सपिङ मलमा भएको आक्रमणमा २० तथा ओहायोमा ९ जनाको ज्यान गएको थियो । आक्रमणमा ४२ जना घाइते भएका थिए । 

‘हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन। हामीले हिंसा रोक्न आवश्यक कदम चाल्ने छौं,’ ट्रम्पले संवाददाताहरूसँग भने, ‘वर्षौंदेखि भइरहेका यस्ता घटना हामीले रोक्नै पर्छ।’ राष्ट्रपति ट्रम्पले अल पासो र डेटनमा भएका घटना ‘मानसिक रोगको समस्याको परिणाम’ भएको दाबी गरे।

राष्ट्रपति ट्रम्पले ‘यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्नेबारे आफूले महान्यायाधिवक्ता, गुप्तचर निकाय (एफबीआई) र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको जनाए। त्यसबारे उनले सोमबार आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन्। ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नुपर्ने बताए।

विपक्षी दल डेमोक्र्याट नेताहरूले राष्ट्रपति ट्रम्पले अश्वेत जनाताबारे उत्तेजना फैलाउने खालका टिप्पणी गर्ने गरेको भन्दै आलोचना गरेका छन्। अल पासोमा भएको नरसंहारमा ‘गोरा सर्वोच्चता’ का पक्षधर जिम्मेवार रहेको कतिपयको दाबी छ। उक्त नरसंहारलाई ‘आन्तरिक आतंकवाद’ को घटनाको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

उक्त घटनाअघि सन्दिग्ध व्यक्तिको अनलाइन स्टाटसमा टेक्सास राज्यमा हिस्पानिक दक्षिण अमेरिकी मूलका आप्रवासीहरू आधिपत्य जमाएको उल्लेख गरेका थिए। त्यसैगरी, ९ जनाको ज्यान जाने गरी ओहायोको डेटनमा प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गरिरहेको छ। प्रहरी अधिकारीका अनुसार उक्त घटनामा आक्रमणकारीकी बहिनीको पनि ज्यान गएको छ।

टेक्सासको अल पासोमा भएको गोलीकाण्ड मेक्सिकोबाट आएका मानिसप्रति लक्षित रहेको भन्दै मेक्सिकोले भर्त्सना गरेको छ। अल पासोमा मारिएकामध्ये ६ जना मेक्सिकोका नागरिक थिए। मेक्सिकोका परराष्ट्रमन्त्री मार्सेलो एब्राडरले ‘घटनाप्रति कानुनी बाटो अवलम्बन गर्ने र सन्दिग्धलाई सुपुर्दगी गराउन अनुरोध गर्नेबारे सोचविचार गरिरहेको’ जनाए।

प्रकाशित : श्रावण २०, २०७६ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्