कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाको आरोप, 'सरकार निरंकुश बन्दै गयो'

कान्तिपुर संवाददाता

(भक्तपुर) — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै गएको बताएका छन् । शनिबार मध्यपुर थिमिमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक विधाता कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए । 

देउवाको आरोप, 'सरकार निरंकुश बन्दै गयो'

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको उनको आरोप छ । देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको देउवाले कार्यक्रममा आरोप लगाए ।


कार्यक्रममा सभापति देउवाले प्रेस स्वतन्त्रताको महत्त्वपूर्ण जग र नागरिकको महत्त्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको आरोप लगाए । सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा संघर्षरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने उनले बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै देउवाले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे ।


कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुंगाना, डा. गोविन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताएका छन् ।

प्रकाशित : श्रावण १८, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?