कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री आज सिंगापुर जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ । 

प्रधानमन्त्री आज सिंगापुर जाँदै

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ । स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् ।


प्रधानमन्त्रीको के–के परीक्षण गरिने भन्नेबारे सार्वजनिक गरिएको छैन । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । छाउनीमा ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।


चिकित्सकहरूका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ । कहिलेकाहीँ यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ । मिर्गौलाले राम्ररी काम गरेको छ/छैन भनेर सुरुमा परीक्षण गरिन्छ ।


प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो । त्यसपछि निकै लामो समय उपचार गरेर निको भएको थियो । उनले दिल्ली र थाइल्यान्डमा गएर उपचार गरेका थिए । त्यसपछि नियमित फलोअपका लागि थाइल्यान्ड जाने गरेका थिए ।


गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा परीक्षण गराएका थिए । प्रधानमन्त्री भएपछि भने जँचाउन विदेश गएका थिएनन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?