कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरसञ्चार प्राधिकरण अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

काठमाडौँ — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । उनी प्राधिकरणका कार्यबाहक अध्यक्ष थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वर्षको लागि प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

दूरसञ्चार प्राधिकरण अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

पुस ११ मा दिगम्बर झाले प्राधिकरण अध्यक्ष पदबाट राजीनामा दिएपछि सरकारले वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो ।


लगत्तै सरकारले दूरसञ्चार नियमावली संशोधन गर्दै अध्यक्षको अधिकारसहितको कार्यकारी अध्यक्षको पद सिर्जना गरी खनाललाई नियुक्त गरेको थियो । दूरसञ्चार नियमावली संशोधन गरी बढीमा ६ महिनाको लागि कार्यकारी अध्यक्ष नियुक्त गर्न सकिने प्रावधान राखिएको छ ।


गत महिना सरकारले सञ्चार सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा अध्यक्ष पदको लागि सिफारिस समिति गठन गरेको थियो । समितिको सिफारिसमा मन्त्रिपरिषद्ले खनाललाई अध्यक्ष नियुक्त गरेको हो ।


दुई सचिव हेरफेर

यसैगरी सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई सरुवा गरेको छ । उनलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सचिवको रुपमा पठाइएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।


सिंहको स्थानमा मधुसुधन अधिकारीलाई सहरी विकास मन्त्रालय सरुवा गरिएको छ । उनी जल तथा ऊर्जा आयोगको सचिवमा कार्यरत थिए ।

प्रकाशित : श्रावण ९, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?