गाउँ डुबानमा परेपछि स्थानीयले भत्काइदिए गण्डक नहर

नारायण शर्मा

रानिनगर,नवलपरासी — लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्काइदिएका छन् । गाउँ नै डुब्ने अवस्थामा पुगेपछि उनीहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् । स्थानीय रामु न्यौपानेका अनुसार बुधबार बिहानै कोदालो, गैंची लिएर उनीहरु नहरको डिल पुगेका थिए ।

त्रिवेणीमा भारतीयले बनाएकोनहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ। त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ। नहरका कारण सयौ‌ बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन्।

भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको छ।बाँधका कारण सधैँ गाउँ डुबानमा पर्ने स्थानीय प्रेम चन्द्र गुप्ताले बताए। नेपाली भू–भाग डुबानमा नपार्न त्यहाँ रहेका पानीको निकासका लागि बनाइएको साइफन भारतले वर्षेनी सफा गर्नुपर्नेमा नगरेका कारण नेपाली बस्ती र खेती डुबानमा पर्ने गरेको उनले सुनाए।

१९ वर्षअघि पनि स्थानीयले त्यही ठाउँमा नहरको डिल भत्काइदिएका थिए। स्थानीयले नहरको डिल भत्काएपछि भारतीय पक्षले ४ वटा ह्युमपाइप राखेर पानीको निकास बनाएको थियो। ४ वटा ह्युमपाइ सानो भएका कारण डिल नै भत्काउन स्थानीय बाध्य भएका हुन्। पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट नहर भत्काएको स्थान २० किलोमिटर पूर्व पर्छ।

हरेक पटक गाउँ जोगाउन डिल भत्काउने गरे पनि पानी भिरालोतिर बग्ने स्थायी संरचना भारतले नबनाउने गरेका कारण समस्या हुने गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए। सम्झौताअनुसार गण्डक नहरले पुग्ने क्षति तत्काल न्यूनिकरण गर्ने र मर्मतको जिम्मा भारत सरकारको हो।

त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिँचाइका लागि लैजाने गरेको छ। त्यहाँको पानीले भारत उत्तर प्रदेश र बिहारका ३ लाख हेक्टरमा सिँचाइ हुन्छ।

प्रकाशित : श्रावण ८, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र निर्माता छवि ओझा र उनकी पछिल्लो पत्नी एवं अभिनेत्री शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको बताए ।

प्रकाशित : श्रावण ८, २०७६ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्