कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माया जालमा पारी फिरौती माग्ने ४ पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — व्यवसायीलाई बन्धक बनाई फिरौती माग गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोडमा फ्ल्याट भाडामा लिएर उनीहरुले व्यवसायीलाई बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग गरेको प्रहरीको भनाई छ ।

माया जालमा पारी फिरौती माग्ने ४ पक्राउ

घटनामा संलग्न रहेको आरोपमा बिर्तामोड नगरपालिका ४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम फाकफोकथुम गाउँपालिका १ घर भई हाल बिर्तामोड २ चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बू र भारत पश्चिम बंगालको दार्जिलिङ थाना खोरीबारी निवासी सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन् ।


उनीहरु चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुलाई साउन ५ गते जिल्लाको चारआलीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनीहरुको साथबाट बा १५ च ७३३ नम्बरको एक थान कार, नक्कली पेस्तोल एक थान र लागूऔषध बरामद गरेको डीएसपी श्रेष्ठले बताए ।


पक्राउ परेका युवकहरुले युवतीको प्रयोग गरी बिर्तामोडका व्यवसायीलाई माया जालमा पारी बन्धक बनाएको बिर्तामोडका डीएसपी मोहन थापाले बताए । डीएसपी थापाका अनुसार सुजन शंकरले भारतको दिल्लीमा बसोबास गर्दै आएकी लिम्बूलाई बिर्तामोडमा बोलाएर उक्त व्यवसायीको फोन नम्बर उपलब्ध गराएका थिए ।


युवतीले आफू जया खान भएको बताउँदै असार २८ गतेदेखि व्यवसायीलाई इमो र मोबाइल फोनबाट नियमित रुपमा सम्पर्क गरेकी थिइन । युवतीले भिडियो तथा फोनकल मार्फत साउन १ गते साँझ साढे ७ बजे व्यवसायीलाई भेट्न बोलाएकी थिइन । भेटेपछि युवतीले व्यवसायीलाई बिर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंकको पश्चिमपट्टी गल्लीभित्र एउटा घरको चार तलामा रहेको साथीको कोठामा लगेकी थिइन ।


युवतीले व्यवसायीलाई कोठामा लगेपछि घटनामा संलग्न भनिएका युवकहरु राति १० बजे हतियारसहित आएका थिए । उनीहरुले व्यवसायीलाई कुटपिट गरी कपडा खोल्न लगाई भिडियो समेत बनाएको डीएसपी थापाले बताए । युवकहरुले नांगो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाईदिन्छु भन्दै व्यवसायीसँग ५० लाख रुपैयाँ माग गरेका थिए ।


५० लाख दिन नसक्ने बताएपछि व्यवसायीलाई उनीहरुले साउन ५ गतेभित्रमा ४० लाख रुपैयाँ दिनुपर्ने भन्दै छोडेका थिए । पीडित व्यवसायीले साउन ३ गते इलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।


पक्राउ परेकाहरुलाई अपहरण, शरिर बन्धक, फिरौती माग र लागूऔषध कसुरअन्तर्गत मुद्दा चलाउन लागेको डीएसपी थापाले बताए । पक्राउ परेकामध्ये सुजन शंकर ०७४ सालमा दुई जना महिलालाई जबरजस्ती यौन धन्दामा लगाएकोले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार सूचीमा रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश मैनालीले बताए ।

प्रकाशित : श्रावण ७, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?