धनगढी विष्फाेट घटना : घाइते मध्ये एककाे मृत्यु
धनगढी — बिहीबार साँझ धनगढीको शहिदगेट नजिक निलम होटलमा भएको बिस्फोटकाे घटनामा घाइते मध्ये एकजनाको मृत्यु भएको छ ।
विष्फाेटमा घाइते भएका राम सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक सिंह नेत्रविक्रम चन्द समूहका मुख्य कार्यकर्ता हुन् । होटलमा चिया पिउने क्रममा उनले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिँदा विस्फोट भएको थियो ।
अर्का कार्यकर्ता लक्ष्मण सेराला अझै अचेत छन् । उनको अवस्था गम्भीर छ । घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको पनि उक्त अस्पतालमै उपचार भइरहेको छ । घटनास्थलमा एउटा चाइनिज पेस्तोलसमेत भेटिएको थियो ।
घटनास्थलमा एउटा मोटरसाइकल, मृतक सिंहको झोलाबाट एउटा टेस्टर र सानो डायरी समेत भेटिएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । घटनापछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
पढ्नुहाेस्
चन्द कार्यकर्ताले बोकेको बम विस्फोट, घाइते ५ मध्ये २ गम्भीर
प्रकाशित : श्रावण ३, २०७६ ०८:३०