हेलचेक्र्याइँले मृत्युका घटना बढे

विनु तिम्सिना

विराटनगर — मोरङको जहदा गाउँपालिकाका १६ वर्षीय आदर्श पोद्धार लोहन्द्रा खोलामा पौडी खेल्न गएका थिए । लगातारको वर्षाका कारण लोहन्द्रा खोलामा पानीको बहाव बढेको थियो । तर लापरबाही गर्दै पौडी खेल्न गएका पोद्धारलाई खोलाले बगायो । केही दिनदेखि भइरहेको वर्षातलाई पनि बेवास्ता गर्दै माछा मार्न गएका सुनसरीका सागर थापालाई पनि खोलाले बगायो ।

आफ्नो कुकुरलाई बचाउन खोलाभित्र छिरेका उदयपुरका ३५ वर्षीय मनकुमार तामाङ न आफू बाँचे न त उनको कुकुर नै ।

झापा दमककी ६ वर्षीया एलिजा न्यौपाने स्थानीय भालु खोलाको कल्भर्टमा जमेको पानीमा खेलिरहेकी थिइन् । एक्कासी पानीमा खसेकी उनको डुबेर मृत्यु भयो । बुढी खोलामा बाढीसँगै बगेर आएको दाउरा झिक्न खोलामा पसेका सुनसरीका खालिद मियालाई तत्काल स्थानीय र प्रहरीले उद्धार गर्न सफल भयो । नत्र दाउराका लागि उनले आफ्नो ज्यान नै दिनुपर्ने हुन सक्थ्यो । अहिले उनको विराटनगरस्थित विराटनगर टिचिङ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेश १ मा २६ जनाको मृत्यु भएको छ । यसमध्ये अधिकांश आफ्नै लापरबाहीका कारण र सावधानी नअपनाउँदा खोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी खोटाङमा ३, झापामा ३, ओखलढुंगामा ४, भोजपुरमा ५, इलाममा १, सुनसरीमा १, उदयपुरमा ४, संखुवासभामा १, पाँचथरमा १ र मोरङमा ३ जनाको मृत्यु भएको छ । यी मध्ये मृत्युहुनेमा ११ जना बालबालिका र ६ जना महिला रहेका छन् । कार्यालयले दिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी खोलाले बगाएका कारण मृत्यु भएको छ । १४ जनाको खोलाले बगाएर मृत्यु भएको छ भने १२ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण खोलामा बहाव बढेको, पोखरीमा पानीको सतह बढेको अवस्थामा पौडी खेल्ने, माछा मार्ने, जबरजस्ती खोला तर्ने, खोलामा बगेर आएका दाउरा समाउन जाने लगायतका आफ्नै लापरबाहीका कारण मृत्युको घटना बढेको प्रदेश एकका प्रहरी प्रमुख प्रहरी.नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताए ।

‘प्रदेश १ मा आएको बाढीपहिरोमा अधिकांश मृत्यु खोलाले बगाएर भएको देखिन्छ,’ उनले भने, ‘खोलामा बाढी आइरहेको छ पौडी खेल्न जाने, माछा मार्न जाने अनि खोलामा आएका दाउरा बटुल्न जाने यस्ता आफ्नै लापरबाहीले गर्दा धेरैले ज्यान गुमाएका छन् ।’ सुनसरीका १० वर्षे बालक अर्पण राईलाई खोलाले बगाएको अझै बेपत्ता नै छन् । ‘माछा मार्न भनेर गएर उनलाई खोलाले बगायो,’ प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भने,‘त्यसै पनि बाढी आएको बेला खोलामा बगाएर आएका माछा खान हुँदैन एउटा माछाको लोभले ज्यान गुमाइरहेका छन् ।’

तराईका जिल्लाहरूमा घर छेउमा पोखरी हुने गरेको र वर्षातको मौसममा पोखरीमा पानी धेरै जम्मा हुने गरेको छ । अभिभावकहरुले राम्रो ध्यान पुर्‍याउन नसक्दा बालबालिकाहरु यस्ता पोखरीमा डुब्ने गरेको प्रदेश प्रहरी प्रमुख ज्ञवालीले बताए ।

प्रकाशित : श्रावण १, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

'सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्न'

रासस

काठमाडौँ — सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानुनी व्यवस्था गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उनीहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानुनमै उल्लेख गर्न आवश्यक रहेको बताए।
निजामती सेवाबाट निवृत्त भई संवैधानिक पदमा नियुक्त कतिपय व्यक्तिले निवृत्तिभरण पनि लिइरहेको गुनासो व्यापक रहेको हुँदा यस्तो दोहोरो सुविधा लिन नपाउने गरी कानुनमा सुधार गर्नु जरुरी रहेको सांसदको भनाइ थियो। नेपाल सरकारका सचिवबाट सेवा निवृत्त भई संवैधानिक निकायमा नियुक्ति पाएको व्यक्तिले नयाँ जिम्मेवारीको पदावधि सकिएपछि पुरानै निवृत्तिभरण पाउने व्यवस्था पनि गलत रहेको भनी त्यसलाई सच्याइनु पर्नेमा केही सांसदले जोड दिए।

समिति सदस्य राजकिशोर यादवले भने, “ भरणपोषणका नाममा जे सुविधा पनि स्वीकार गर्ने प्रवृत्ति ठीक होइन, यसलाई सच्याउनुपर्छ।” सांसद जनार्दन शर्माले निजामती सेवामा रहेका पुराना व्यवस्था देखाएर यही गरौँ भन्ने भन्दा पनि परिवर्तनको अनुभूति कसरी देखाउन सकिन्छ भन्नेतर्फ सोच्न आग्रह गर्नुभयो। सांसद् अन्जना विशङ्खे र प्रेम सुवालले निजामती सेवाबाट अवकाश भइसकेपछि अरु नयाँ जिम्मेवारीमा जान इच्छा गर्नेले पुरानोबाट प्राप्त गर्ने सेवा र सुविधा त्याग्नुपर्छ भने।

सांसद्‌द्वय पम्फा भुसाल र दिलेन्द्रप्रसाद बडूले नयाँ प्रवेशीका लागि तालीम र प्रशिक्षणका नाममा राज्यलाई पर्ने व्ययभार र निवृत्तिभरणको बोझ तत्कालका लागि केही घटाउन निजामती सेवामा उमेरको हद ६० वर्ष पुर्‍याउन सुझाव दिए। समितिका सदस्य रामकुमारी झाँक्रीले घरेलु तथा यौनहिंसा र जातीय छुवाछुतको आरोप लागी सजाय भोगेका व्यक्तिलाई निवृत्तिभरण उपलब्ध गराउन नहुने गरी कानुन तर्जुमा गर्न आवश्यक रहेको सुझाव दिइन्। त्यस्तै बहालवाला कर्मचारीको तलबमान वृद्धि हुँदा निजामतीबाट सेवानिवृत्तलाई पनि निवृत्तिभरण बढ्ने व्यवस्था न्यायोचित नभएको भनी खारेजी गर्न सुझाव दिए। उनीहरुले काम गरेपछि तलब बढ्ने कुरा स्वाभाविक भए पनि कामै नगर्नेको निवृत्तिभरण किन बढाउने भनी प्रश्न गरे।

यसैबीच नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले सेवानिवृत्तले विगतदेखि प्राप्त गर्दै आएको एक महिना बराबरको दसैं खर्चवापतको रकम कटौती गर्ने ढङ्गबाट कानुन नबनाउन राज्य व्यवस्था तथा सुशासन समितिसमक्ष आग्रह गरेको छ। सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालमा परम्परागत रुपले सधैँ बहालवाला र निवृत्तकर्मचारीलाई एक महिना बराबरको चाडपर्व खर्च दिँदै आएकोमा कटौती नहोस्, निरन्तरता दिइयोस्।” केही दिनअघि सेवानिवृत्तलाई चाडपर्व खर्च दिन आवश्यक नरहेको भन्ने कोणबाट समितिमा केही सांसद्ले कुरा उठाएका थिए।

प्रकाशित : श्रावण १, २०७६ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्