पुल नचल्दा थुनिए ठोरीवासी

शंकर आचार्य

पर्सा — ठुटे खोलामा एक वर्षअघि नै पुल बने पनि सञ्चालनमा नआउँदा बर्खामा ठोरीवासी गाउँमै थुनिएका छन्  । भारतीय पक्षले एप्रोच सडक निर्माणमा अवरोध गरेपछि पुल प्रयोगमा नआएको हो  ।

वर्षाले ठुटे खोला उर्लिएपछि बुधबारदेखि ठोरीबाट सदरमुकाम वीरगन्ज चल्ने सवारीसाधन ठप्प छन् । बाघमोर्चासहितका खोलामा बहाव बढेपछि चितवनको माडी हुँदै नारायणघाटसम्म चल्ने सवारी पनि रोकिएका छन् । ठोरीबाट वीरगन्जसम्म दैनिक ३ बस, हेटौंडा हुँदै काठमाडौंसम्म २ वटा सुमो र माडीतर्फ दैनिक ८ देखि १० वटासम्म सवारी चल्थे ।

स्थानीय प्रकाश खनाल अहिले टापुमा बसेजस्तै अनुभव भएको बताउँछन् । ‘न आफ्नै सदरमुकाम जान सक्छौं न त छिमेकी जिल्लातर्फ,’ उनले भने । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख केदार पन्तले ठुटे र बाघमोर्चा खोला ठोरीवासीका लागि समस्या बनेको बताए । उनका अनुसार गाउँमा बाढी पस्ने सम्भावना उच्च छ । बाघमोर्चा खोला यसअघि जेसीबी लगाएर खारिएकामा भेलसँगै आएको ग्राभेलले फेरि पुरिसकेको छ ।

वडा नं. २ र ३ जोड्ने ठुटे खोला पुल एक वर्षअघि बनेको हो । तर पुलको पूर्वतर्फ एप्रोच सडक बन्न सकेको छैन । सीमापारि भिखना ठोरीका बासिन्दाले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद झिकेका छन् । भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहानबाट वर्षौंदेखि २ वटा कुलो सिँचाइमा प्रयोग गर्दै आएको छ । तीनवटा कुलो रहेकामा नेपाली पक्षले एउटा मात्र प्रयोग गर्छ ।

नेपाली पक्षले सडक बनाउन कुलो पुर्न दिन सहमति जनाए पनि भारतीय पक्षले मानेको छैन । कुलो सञ्चालन गर्न दिँदा पुल जोखिममा पर्ने भन्दै पुरेर एप्रोच रोड बनाउन स्थानीयले दबाब दिएका छन् । भारतीय पक्षले साबिक स्थानबाटै ह्युम पाइप राखेर पानी लैजान पाउनुपर्ने अडान राखेको छ ।

नेपाली पक्षले ह्युमपाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुल जोखिममा पर्ने तर्क अघि सारेको छ । ठेकेदार कम्पनी अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न नेपाल सरकारको निर्णय कुरेको थियो । विवाद समाधान नभएपछि काम रोकेको छ । उसले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा ठेक्का पाएको हो ।

४ वटा स्पान रहेको १ सय २ मिटर लामो पुल ७ दशमलव २ मिटर चौडा छ । नेपाल–भारत सीमा सर्वेक्षण टोलीले २ वर्षअघि सीमा विवाद टुंगो लगाएसँगै पुल बनेको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रकविको रथारोहण

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनकी पत्नी महाकाली घिमिरे आइतबार बिहान बेहुला–बेहुलीझैं सिँगारिएका थिए  । सय वर्षका राष्ट्रकवि दौरा, सुरुवाल र खैरो कोटसँगै बिर्खे टोपी चिटिक्क सजिएका थिए भने पत्नी महाकाली रातो साडीमा देखिएकी थिइन्  ।

नेपाली सेना र प्रहरीको ब्यान्ड बाजाले पछ्याउँदा माला पहिरिएर बग्गीमा विराजमान दुवै जनाको मुहार उज्यालो देखिन्थ्यो ।


२०६ औं भानुजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले राष्ट्रकवि घिमिरेको रथारोहणसँगै प्रभातफेरी गरेका हुन् । विभिन्न स्कुलका विद्यार्थीको सांस्कृतिक झाँकीसहितको रथारोहण र प्रभातफेरी सहरका विभिन्न थलो परिक्रमा गर्दै कमलादीस्थित प्रज्ञा भवन पुगेपछि राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको ताम्रपत्रसहित अभिनन्दन गरियो ।


अभिनन्दनपछि घिमिरेले भानुलाई सम्झे । उनले भानुजयन्ती मनाउने परम्परा भारतको दार्जिलिङबाट सुरुवात भएको रोचक तथ्य स्मरण गर्दै संसारभर फैलिएका नेपालीको मनमुटु जोड्ने प्रतीकका रूपमा भानुलाई लिन सकिने बताए ।


म्यान्मारबाट आएका स्रष्टा ओम बगाले थापाले नेपाली भाषा नरहे नेपाली जाति, संस्कृति र संस्कार नरहने, आफूहरूले विदेशमा बसेर पनि भाषा जगेर्नाका लागि काम गरिरहेको जनाए ।

प्रकाशित : असार ३०, २०७६ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्