कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत र उद्धार प्रभावकारी बनाउने निर्णय

काठमाडौँ — सरकारको विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले मुलुकभर बाढीपहिरो तथा डुबानपीडितको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा शनिबार बसेको बैठकले आवश्यकतानुसार राज्यका सबै अंग परिचालन गरी बाढीपहिरो तथा डुबानको जोखिम न्यूनीकरण र उद्धार कार्यलाई अघि बढाउने निर्णय गरेको हो ।

राहत र उद्धार प्रभावकारी बनाउने निर्णय

बैठकले अवरुद्ध राजमार्गहरू तत्काल खुलाउने, खानेपानी र खाद्यान्नको व्यवस्थापनमा सबै निकाय चुस्त भएर लाग्ने तथा आवश्यक परेमा हेलिकप्टरको समेत उपयोग गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीहरू सहभागी थिए ।

बैठकले बाढीपहिरो र डुबानबाट उत्पन्न समस्या समाधान गर्दै दैनिक जीवनयापन सहज बनाउन थप क्रियाशील हुन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । डुबान तथा जलमग्न क्षेत्रमा रोगव्याधी फैलिन नदिन तत्कालै स्वास्थ्यकर्मी परिचालन गर्ने, क्षतिग्रस्त पुल, सडक, पोललगायत भौतिक संरचना तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने तथा घर, कार्यालयलगायत अन्य संरचना निर्माणका लागि योजना बनाएर काम अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।


गृहमन्त्री थापाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गरिएको जानकारी दिँदै घटनालगत्तै जोखिम न्यूनीकरण, उद्धार तथा राहतमा सबै संयन्त्र परिचालन भएको जानकारी गराए । उनले लगातारको वर्षाका कारण शुक्रबार हेलिकप्टर उडान गर्न समस्या भएको र पर्याप्त डुंगा नहुँदा उद्धारमा केही कठिनाइ परेको बताए । उनले एकद्वार प्रणालीमार्फत राहत वितरणको व्यवस्था मिलाउन लागिएको समेत जानकारी दिए ।

प्रकाशित : असार २८, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?