सीमाक्षेत्रको बाँधको ढोका भारतले बन्द गर्‍यो, गौर डुबानमा 

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौरस्थित सिमाक्षेत्रमा भारतले एक पक्षीय रूपमा निर्माण गरेको बाँधको ढोका (साईफन) बन्द गरेको छ । यही कारण पानीले निकास नपाउँदा सदरमुकाम गौर डुबानमा पारेको हो । भारतीय पक्षसित ढोका खोल्न अनुरोध गर्न प्रमुख जिल्ला अधिकारीले सम्पर्क गरे पनि भारतको सितामाढी जिल्लाका प्रमुख (डीएम)ले फोन रिसिभ गरेका छैनन् । यस बारे जिल्ला प्रशासनले गृहलाई जानकारी गराएको छ । 

भारतले आफ्नो भूमि डुबानमा पर्नबाट जोगाउन दुई दशकअघि नेपाल भारत सिमाक्षेत्रमा ठुलो बाँध निर्माण गरेको थियो । त्यही बाँध अहिले गौरवासीको लागि काल बनेको छ । बाँधका कारण पानीले निकास नपाउँदा वर्षेनी गौर डुबानमा पार्दै आएको हो ।अहिले बैरगनिया क्षेत्रको पूर्वी भागमा भारतले निर्माण गरेको ३ वटा ढोका (साइफन) बन्द गरेको छ ।

नेपाली क्षेत्रमा पानीको सतह बढी भयो भने इमरजेन्सी रूपमा ढोका खोल्नुपर्छ । तर भारतीय पक्षले ढोका बन्द गरेको छ । ढोका खोलेको भए डुबान कम हुन्थ्यो । एक वर्षअघि यस्तै डुबानमा परेको बेला सिमाक्षेत्रको बाँध फुटेको थियो । त्यसपछि गौरमा मानवीय क्षति हुनबाट जोगिएको थियो ।

भारतीय सुरक्षाकर्मीहरु अहिले बाँधमा सुरक्षा दिइरहेका छन् । २०५० सालअघि सम्म गौरमा पानी जमे पछि ढोका खोल्ने गरिन्थ्यो । अहिले आएर ढोका बन्द गरिएको नेकपाका नेता शभ्मु साहले बताए ।‘गौरको डुबान हेरेर पानीको सतह ५ फिट माथि भयो भने ढोका खोल्ने सहमति भएको हो,’ उनले भने, ‘अहिले सहमतिको बर्खिलाफ भारतले ढोका खोल्न मानेको छैन ।’ भारतीय पक्षले बाँधको उचाइ समेत थपेको थियो ।

साहले माथिल्लो निकायबाट चाडै पहल गरी ढोका खोल्न लगाउनुपर्ने सुनाए । भारतको सितामाढीका डीएम डा.रन्जितकुमार सिंहसित सम्पर्क गर्दा फोन रिसिभ नगरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ‘हामी निरन्तर सम्पर्कमा छौ । भारतीय पक्षले बाँधको ढोका खोलेको भए राहत हुन्थ्यो, ’ उनले भने, ‘गृह मन्त्रालयले पहल गर्नुपर्छ ।’ गौर डुबानमा फसेकाहरुलाई उद्धार गर्न सशस्त्र प्रहरीको प्रदेश २ का डीआइजी राजु अर्यालले २ वटा रबर बोट सहितको तालिम प्राप्त उद्धार टोली गौर पठाएका छन् ।

अविरल वर्षापछि बाग्मती र लालबकैया नदीको पानी पसेपछि सदरमुकाम डुबेको हो । अहिले बजार र भन्सार क्षेत्रमा झन्डै ७/८ फिट पानी छ । डुबानमा परेपछि कैदीहरु छतमा बसेका छन् ।घरभित्र पानी पसेपछि स्थानीयले हारगुहार गरिरहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य सुरु गरिएको जनाए । ‘डुबानमा फसेकाहरुलाई उद्धार सुरु गरेका छौँ,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनीहरूलाई सुरक्षित स्थानमा लैजाने काम सुरु गरेका छौँ ।’

अहिले सदरमुकाम गौरको जनजीवन अस्तव्यस्त छ । सरकारीका कार्यालयको कागजपत्रमा क्षति पुगेको छ । बाढीले सदरमुकाम गौर सहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।

बकैया र बाग्मतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानी बस्तीमा प्रवेश गरेको हो । वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिब एक हजार भन्दा बढी घर भत्केको छ । स्थानीयहरु सामुदायिक पक्की भवन र छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

प्रकाशित : असार २८, २०७६ १६:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोले वसन्तपुर-म्याङलुङ सडक अवरुद्ध

चन्द्र कार्की

तेह्रथुम — अविरल वर्षाको कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । पहिरो खस्दा वसन्तपुर म्याङलुङ सडक खण्डको काँडेमा सडक शुक्रबारदेखि अवरुद्ध छ ।

स्काभेटरको मद्दतबाट पहिरो हटाउने काम भइरहेपनि माथिबाट निरन्तर पहिरो बगिरहेकाले सवारी खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । सो सडक खण्डमा २० भन्दा बढी स्थानबाट पहिरो खसेको छ ।

यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई म्याङलुङ सडक खण्ड पनि ४ दिनदेखि अवरुद्ध भएको छ । सिधुवा शुक्रबारे, शुक्रबारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायत सदरमुकाम जोड्ने १० बढी सडक अवरुद्ध भएका छन् । यी सडकका दर्जनौँ स्थानमा सवारी फसेका छन् ।

पहिरोका कारण विभिन्न स्थानमा घर भत्किएका छन् । लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारका ७ बढी घरमा पहिरोले क्षति पुगेको छ । बसपार्क छेउमा रहेका रत्न बहादुर कार्की, खेम कार्की, डिल्ली कार्की र नाम नखुलेका सोही स्थानको अर्को घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

आसपासका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीय खेम कार्कीले बताए । त्यस्तै वसन्तपुर बजार क्षेत्रकै प्रगति टोलका ५ बढी घरपनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । उच्च जोखिममा रहेका घरपरिवारलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सर्न भनिएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×