बाढीपहिरो र डुबानले ३० जनाको ज्यान गयो, उद्धार जारी [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् । विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृह सचिव प्रेम राईले देशैभरी बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या प्रस्तुत गर्दै राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिए । 


गृहमन्त्रालयमा शनिबार बिहान बसेको बैठकमा गृह, रक्षा, सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो। सचिव राईले प्रदेश १ र २ वर्षाले बढी प्रभावित पारेको बताए। ती प्रभावित जिल्लाहरुमा तत्काल उद्धार र राहत वितरणको काम तीब्र बनाइएको जानकारी उनले बताए।

बैठकमा गृहमन्त्रीले वर्षा सुरु हुनअघिनै सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी गरिएको जानकारी दिँदै स्थानीय प्रशासन, सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको जानकारी दिए। हिजो मौसमका कारण हेलिकप्टरबाट राहत तथा उद्धारको काम गर्न नसकिएपनि शनिबार हेलिकप्टर प्रयोग गरिएको जानकारी दिए।

आवश्यकता अनुसार डुँगा नहुँदा समस्या परेको पनि उनले बताए। बैठकले अवरुद्ध राजमार्ग तत्काल खुलाउने, महामारी हुन नदिन तथा घाइतेहरुको स्वास्थ उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। तत्काल राहतका लागि स्थानीयतहले मुख्य भूमिका खेल्नुपर्ने ठहर गरेको छ।

प्रकाशित : असार २८, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्

आइतबारसम्म देशभर मनसुन सक्रिय रहने

रासस

काठमाडौँ — मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबारसम्म मनसुन अति सक्रिय रहने जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर मनसुनी वर्षा जारी रही देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू-भागमा केही स्थानमा र पश्चिमी भू-भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रही पूर्वी क्षेत्रका एक–दुई स्थानमा र पश्चिमी पहाडका केही स्थानमा अति भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १८.० मिलीमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २१.९, दाङ २३.४, धनगढीमा २६.५, नेपालगञ्जमा २४.५, वीरेन्द्रनगरमा २४.० र जुम्लामा १५.६ मिलीमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित : असार २८, २०७६ १३:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्