नारायणगढकाे तरकारी बजारमा आँप बाेकेकाे भारतीय ट्रक ताेडफाेड

रमेशकुमार पौडेल

चितवन — नारायणगढ क्षेत्रपुरमा रहेकाे महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बाेकेकाे भारतीय ट्रकमा ताेडफाेड भएकाे छ ।

बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवेरै सवा तीन बजे तिर ट्रक ताेडफाेड भएकाे हाे। ट्रककाे अगाडिकाे शिसा फुटेकाे छ। ट्रकमा चार टन भारतीय आँप थियाे। स्कुटरमा चढेर आएका युवाले ताेडफाेड गरेकाे प्रत्यक्षदर्शी व्यवसायीहरूले बताए।

उनीहरूले पानीकाे बाेतलमा पेट्राेल ल्याएका थिए। पेट्राेल छर्केर आगाे लगाउन सलाइ काेर्दा सलाइ नबलेपछि उनीहरू भागेकाे व्यवासायीहरूले बताए।

प्रबन्ध निर्देशक धितालका अनुसार याे समयमा भारतबाट आँप र अनार आउने गर्छ। नारायणगढकाे तरकारी बजारमा दिनमा १०/१२ वटा भारतीय ट्रक तरकारी र फलफूल ल्याएर आउने गर्दथे। विषादी परीक्षणकाे सन्दर्भ पछि फाट्ट फुट्ट मात्रै आउने गरेका छन्।

प्रकाशित : असार २६, २०७६ १०:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बजेट सक्न बर्खामा मुख्यमन्त्री कप

सहिद मैदान जलमग्न भएपछि धरान सारियो
विनोद भण्डारी

(विराटनगर) — बजेट सक्न मुलुकभर असारे विकासका काम धमाधम भइरहँदा आलोचना बढिरहेको छ । प्रदेश १ मा पनि बजेट सिध्याउनकै लागि असारे विकास मात्र नभएर खेलकुदमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता भइरहेको छ । 

प्रतियोगिताको लागि प्रदेश सरकारले १ करोड र अखिल नेपाल फुटवल संघ (एन्फा) ले ३३ लाख रुपैयाँ आयोजक समितिलाई दिएको छ । आयोजक समितिले यो बजेट असार मसान्तसम्म सिध्याउनै पर्नेछ ।

बजेट सिध्याउनै आयोजकले असार १६ देखि प्रदेशका १४ जिल्लाका १४ क्लबबीच पहिलो चरणको लिग आयोजना गर्‍यो । गाईघाटमा असार १६, धरानमा असार १७ र इलाममा असार १८ देखि पहिलो चरणको लिग सकेर दोस्रो चरणको लिगका लागि ६ टिम छनोट गरेको छ ।

दोस्रो चरणका लागि छनोट भएका धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लव झापा, बाक्सिला फुटबल क्लव खोटाङ र रेडहर्स फुटबल क्लब इलामबीचको सुपर सिक्स बिहीबारदेखि विराटनगरस्थित सहिद रंगशालामा गर्ने आयोजकको तयारी थियो ।

तर मंगलबार रातिको भारी वर्षाले सहिद रंगशालामा बुधबार एक फिटभन्दा बढी पानी जमेपछि शुक्रबारदेखि धरानमा खेलाइने निर्णय आयोजकले गरेको छ । सहिद मैदानमा खेल सञ्चालन गर्न आयोजकले करिब डेढ लाख रुपैयाँ मैदान मर्मतमा खर्च गरेको थियो ।
प्रदेश सरकारले कार्यविधि ढिलो तयार गर्दा प्रतियोगिता मध्य असारमा गर्नुपरेको आयोजक समितिका अध्यक्ष एवं एन्फाका प्रवक्ता किरण राईको भनाइ छ ।

‘प्रतियोगिता नगर्दा बजेट नै फ्रिज हुने भयो,’ प्रवक्ता राईले कान्तिपुरसँग भने, ‘त्यसैले बजेट फ्रिज हुन नदिन प्रतिकूल मौसममा पनि प्रतियोगिता गर्नैपर्‍यो ।’ मौसमले प्रतियोगितालाई खासै प्रभाव नपारेको राईको दाबी छ ।

‘बर्खा हो पानी पर्छ नै,’ उनले भने, ‘पहिलो चरणको लिगबाट छनोट ६ टिमबीचको लिग विराटनगरमा गर्ने तयारी थियो । तर मैदानमा पानी जमेकाले धरानमा गर्ने निर्णय गरिएको हो ।’ उनले यो प्रतियोगितालाई असारे विकाससँग दाँज्न नमिल्ने बताउँदै प्रतिकूल मौसममा पनि प्रतियोगिता गर्नु खेलकुदमा गौरव विषय भएको बताए ।

उनका अनुसार आगामी वर्षदेखि प्रतियोगिता अनुकूल मौसममा आयोजना गरिने छ । प्रतिकूल मौसमकै कारण यस वर्ष आयोजना गर्ने भनिएको मुख्यमन्त्री अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता भदौ–असोजमा सारिएको छ । राईले भने, ‘पैसा सक्न प्रतियोगिता गरिएको भए मुख्यमन्त्री अन्तर्राष्ट्रिय नकआउट फुटबल पनि अहिले नै हुन्थ्यो त ।’

प्रतियोगिताका लागि प्रदेश सरकारको १ करोड र एन्फाको ३३ लाख बजेटबाट १४ टिमलाई खानबस्न र यातायातका लागि ३३ लाख, टिम तयारी खर्च ७ लाख, १४ टिमलाई १५ थानका दरले बल उपलब्ध गराउँदा ५ लाख, चार स्थानको खेलस्थल मर्मतका लागि १२ लाख, प्रचारप्रसार, स्वयंसेवक परिचालन, आकस्मिक स्वास्थ्य र मसलन्द खर्चमा ५ लाख, पुरस्कारतर्फ २० लाख, रेफ्री र अन्य प्राविधिक परिचालनमा १० लाख, पदाधिकारी यातायात र परिचालनमा ५ लाख र अतिथि सत्कारमा ३ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष राईले बताए ।

पहिलो चरणको लिग म्याचमा गाईघाटमा मोरङ, खोटाङ, उदयपुर, ओखलढुङगा र सोलुखुम्बु, धरानमा सुनसरी, धनकुटा,तेह्रथुम, भोजपुर र संखुवासभा तथा इलाममा झापा, इलाम, पाँचथर र ताप्लेजुङले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो चरणबाट छनोट ६ टिमबीचको सुपर सिक्सको पहिलो र दोस्रो स्थानमा रहने टिमबीच असार ३१ मा फाइनल गरिने खेलतालिका छ । प्रतियोगितामा सबै विधामा गरी २० लाख रुपैयाँ पुरस्कार वितरण गरिने छ । उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट डिफेन्स, फरवार्ड, गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिग विजेताले ५ लाख र ४ किलो चाँदीको रनिङ कप जित्ने छन् ।

प्रकाशित : असार २६, २०७६ १०:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×