ओखलढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ डडुवामा बुधबार बिहान बस दुर्घटना हुादा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी छन् । 

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब साढे तीन बजेतिर सडकबाट ५० मिटर तल खसेको हो । बसमा सवार अन्य १७ जना घाइते छन् ।

त्यसमध्ये गम्भीर चारजनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीवकुमार श्रेष्ठले बताए ।

घाइतेहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उदयपुर घुर्मीस्थित आस्था र जनसेवा मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २५, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

सौर्य ऊर्जाका लागि लगानी सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले बुटवलमा निर्माण गर्न लागेको ८.५ मेगावाटको सौर्य आयोजनाका लागि सहवित्तीयकरण सम्झौता भएको छ । आयोजना र बैंक अफ काठमान्डुको अगुवाइमा सिटिजन बैंक र नेपाल बंगलादेश बैंकबीच सहवित्तीयकरण सम्झौता भएको हो ।

आयोजना निर्माण गर्न ६५ करोड ४६ लाख लागत अनुमान गरिएको छ । यसमध्ये ४९ करोड बैंक ऋण र बाँकी रिडी हाइड्रो पावरको स्वलगानी हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणले तराईका विभिन्न जिल्लाहरूमा अवस्थित सबस्टेसनमा जडान गर्ने गरी ६४ मेगावाट क्षमता सोलार प्लान्टका लागि आह्वान गरेको बोलपत्रमा भाग लिएर रिडीले यो आयोजना निर्माणको जिम्मा पाएको हो । आयोजना साउनदेखि सुरु गरी चैतमा सक्ने लक्ष्य छ ।

प्रकाशित : असार २५, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्