कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाक्टर बिदा बस्दा रोकिन्छ सेवा

रमेशकुमार पौडेल

चितवन — दमको समस्या बढेपछि ८० वर्षीया सोमकुमारी पाण्डे शुक्रबार भरतपुर अस्पताल भर्ना भइन् । मुटुमा समस्या भए नभएको पत्ता लगाउन इको गर्नुपर्ने भयो । चिकित्सकले शनिबार इको गर्न भने । तर उनले सोमबार बिहानसम्म उक्त सरकारी अस्पतालमा त्यो सुविधा पाइनन् । चिकित्सक बिदामा बसेका कारण सेवा बन्द थियो । अन्ततः उनले निजी अस्पतालमा इको गर्नुपर्‍यो ।

डाक्टर बिदा बस्दा रोकिन्छ सेवा

अस्पतालमा इको गर्ने चिकित्सक एक जना मात्रै छन् । ‘शनिबार सेवा बन्द हुन्छ । आइतबार बिहानै जाँदा डाक्टर बिदामा बसेको सूचना टाँसिएको थियो । सोमबार जाँदा २० गतेको मिति राखेर अर्को सूचना टाँसिएछ,’ सोमकुमारीका छोरा दीपक पाण्डेले भने, ‘जसमा आइतबार र सोमबार डाक्टर बिदामा बसेको उल्लेख थियो । अघिल्लो दिनको सूचनामा भने त्यो जानकारी थिएन ।’


मुटुको भल्भ एवं च्याम्बरहरूको अवस्था के छ भन्ने पत्ता लगाउन इको गर्नुपर्छ । सरकारी अस्पतालमा इको गर्न नपाउने भएपछि सोमकुमारीलाई निजी अस्पतालमा लैजानुपर्ने बाध्यता आयो । भरतपुर अस्पतालमा एक हजार दुई सय रुपैयाँमा इको हुन्थ्यो । निजी अस्पतालमा एक हजार आठ सय रुपैयाँ तिर्नुपर्‍यो । सरकारी अस्पतालमा इको गर्ने चिकित्सक डा. मणिप्रसाद गौतमले आफू बिदामा बसेका कारण मंगलबार मात्रै आउन सक्ने बताए ।


एक जनाको भरमा सेवा

भरतपुर अस्पतालको इको कार्डियोग्राफी सेवा सञ्चालन गर्न वैशाखसम्म दुई चिकित्सक थिए । डा. केशव आचार्य अवकाश लिने तर्खरमा भएका कारण गएको वैशाखदेखि बिदामा छन् । ‘खासमा मेरो नियुक्ति यो अस्पतालमा कार्डियोलोजिस्ट (मुटुरोग विज्ञ) का रूपमा भएको होइन । म फिजिसियन हुँ । तर पढेको र जानेको हुनाले यो काम गर्दै आएको छु,’ डा. गौतमले भने ।


दुई जना मात्रै डाक्टर भएको युनिटमा मुख्य चिकित्सक लामो बिदामा बसेका बेला अर्का चिकित्सक पनि बिदामा बस्दा सेवाग्राही मर्कामा छन् । ‘सेवाग्राहीको चाप छ । एक दिनमा २७ जनासम्मको इको गर्नुपरेको छ । तैपनि कुनै बेला बिदा बस्नुपर्ने बाध्यता हुन्छ,’ डा. उनले भने । भरतपुर अस्पतालमा एक जना चिकित्सकको भरमा चलेको यो युनिट मात्रै छैन । न्युरो सर्जरी विभागमा पनि डा. गुणराज पौडेल बिदा बसे शल्यक्रिया हुन नसक्ने अस्पतालका सूचना अधिकारी लीला पौडेलको भनाइ छ । पित्तथैलीको पत्थरीलाई पाइपबाट निकाल्ने ईआरसीपी सेवाको अवस्था पनि उस्तै छ । डा. आशिष पुनको भरले मात्रै यो सेवा चलाउनुपरेको छ । मनोचिकित्सा विभागमा पनि विशेषज्ञ चिकित्सक एक जना मात्रै छन् । भरतपुर जस्तो पुरानो र ठूलो अस्पतालका महत्त्वपूर्ण विभाग र युनिटमा पर्याप्त चिकित्सक छैनन् ।


जनशक्ति कम

२०२० सालमा महेन्द्र आदर्श चिकित्सालयका नामबाट सेवा थालेको अस्पतालमा ५ सय ४० शय्या छन् । सरकारले भने १ सस ५० शय्या बराबरको दरबन्दी मात्रै दिएको छ । अरू खर्च अस्पताल विकास समितिले बेहोर्छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।


बहिरंग विभागमा दैनिक १५ सयको हाराहारीमा बिरामी आउने अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । ‘केन्द्रीय अस्पताल बनाउने घोषणा भए पनि दरबन्दी तोकिएको छैन,’ उनले भने, ‘अहिले सरकारी दरबन्दी निकै कम छ । के–कति दरबन्दी कायम गर्ने भन्ने विषयमा सर्वेक्षण गरेर प्रतिवेदन तयार पार्नुपर्छ ।’


अस्पतालले सरकारलाई दरबन्दी निर्धारण गर्न ओएनएम सर्भेका लागि अनुरोध गरेको उनले बताए । मन्त्रालयका अधिकारी आएर सर्भे गर्नेछन् । ‘त्यसपछि कार्डियोलोजी, न्युरो र ईआरसीपी जस्ता युनिट मात्रै नभई समग्र अस्पताललाई नै राम्रोसँग चलाउन आवश्यक जनशक्ति कति हो भन्ने पत्ता लाग्छ,’ डा. तिवारीले भने, ‘त्यहीअनुसार चिकित्सक राखेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउँछौं ।’

प्रकाशित : असार २४, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?