वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले काठमाडौं–ओसाका–काठमाडौं उडान तालिका सार्वजनिक गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहीबेर स्थगन गरिने भएको छ । निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान उडान गर्दै छ ।

विमानस्थलमा दोस्रो चरणको मर्मत कार्य मनसुन सकिएपछि भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुनेछ । जापान उडानको तालिका र विमानस्थल मर्मतसम्भारको समय जुधेपछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई उडानका क्रममा काम रोक्न आग्रह गरेको थियो । भदौ १६ देखि दोस्रो चरणको मर्मत कार्य सुरु हुनेछ ।


धावनमार्गको पहिलो चरणको जीर्णोद्धार असार १६ मा सकिएको छ । मनसुन सुरु भएकाले काम रोकिएको हो । ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मतसँगै अहिले विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा आइसकेको छ ।


‘जीर्णोद्धारमा बाधा नपर्ने गरी निगमका लागि १५/२० मिनेट मर्मत कार्य रोक्ने तयारी गरेका छौं,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘आन्तरिक छलफल जारी छ । निर्माण जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग छलफलपछि आधिकारिक निर्णय आउनेछ ।’ यस विषयमा आइतबार प्राधिकरण र निगमका अधिकारीहरूबीच छलफल भएको थियो । छलफलमा सहभागी एक अधिकारीले जापान उडान रोकिने सम्भावना नरहेको बताए ।


प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख बाबुराम पौडेलका अनुसार मनसुन सकिएलगत्तै धावनमार्गसँग जोडिएका प्यारलल ट्याक्सी–वे, नाली, धावनमार्गको मध्यरेखामा लाइट जडानलगायत कार्य हुनेछन् । यो काम पुस १५ सम्म सञ्चालन हुनेछ ।


निगमले जापान उडानको मिति घोषणा गरेको यो तेस्रोपटक हो । यसअघि मध्य असारदेखि उडान गर्ने घोषणा थियो । असारमा अत्यधिक न्यून बुकिङ देखिएको कारण दर्शाउँदै निगमले भदौमा सारेको हो । काठमाडौं–ओसाका उडानको समय साढे ७ घण्टा हाराहारी हुनेछ । काठमाडौंबाट राति उडेको वाइडबडी कम्तीमा १५ घण्टापछि अर्को दिन बेलुकी मात्रै ओसाकाबाट फर्कनेछ ।


हाल आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा मात्रै उडान गरिरहेको निगमले काठमाडौंबाट बिहान २ः३० मा वाइडबडी ओसाकाका लागि उडाउने र स्थानीय समयअनुसार मध्याहन ११ः५५ मा त्यहाँ पुग्ने भनेको छ । त्यस्तै ओसाकाबाट स्थानीय समयअनुसार १ः५५ मा उडान गरी त्यही दिन साँझ ६ बजे काठमाडौं आइपुग्नेछ । यो रुटमा निगमले एक वर्षअघि फ्रान्सबाट खरिद गरेर ल्याइएका दुईवटा ब्रान्ड–न्यु वाइडबडी ए३३०–२०० बाट मात्रै उडान गर्दै छ । निगमसँग दुइटा एयरबसकै साना ए३२० न्यारोबडी विमान पनि छन् । तर ती विमानबाट जापान उडान हुनेछैन ।


सन् २००७ सम्म निगमले बोइङ ७५७ बाट चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो । उक्त विमानबाट सिधा उडान गर्न नसकिने भएकाले चीनको सांघाईमा इन्धन भर्दै पुनः ओसाका उड्थ्यो । सन् २००७ पछि विमान अभाव र निगमको व्यवस्थापकीय कमजोरीका कारण जापान उडान स्थगन भएको थियो । प्रकाशित : असार २३, २०७६ ०८:३९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

निगमले तिर्न सकेन किस्ता

चारवटा जेट विमान खरिदमा लगानी गरेका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापत २ अर्ब ९६ करोड रूपैयाँ बुझाउन बाँकी, असारको किस्ता पनि तिर्न ‘मुस्किल’ 
सुरज कुँवर

काठमाडौँ — कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।

निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ ।

पुसयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न नसकेको हो । निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ । अर्थ विभागका एक अधिकारीले कान्तिपुरसँग भने, ‘अर्थ मन्त्रालयसँग २० अर्ब रुपैयाँ मागेका छौं । पहिलो चरणमा ५ अर्बमात्रै पायौं भने अहिलेलाई पुसयता तिर्न बाँकी किस्ताका लागि राहत होला ।’

यो दीर्घकालीन ऋण १५ वर्षभित्र चुक्ता गरिसक्ने सम्झौता निगमले गरेको छ । तर किस्ता बुझाउनै नसक्दा ब्याज ऋणमा पुँजीकृत हुँदै गएको छ । यसबाट निगमको आर्थिक अवस्था झन् नकारात्मक बन्दै गएको छ ।

चारवटा जेट विमानमध्ये निगमलाई दुइटा न्यारोबडी (सगरमाथा र लुम्बिनी) र एउटा वाइडबडी (अन्नपूर्ण) जहाजमा कर्मचारी सञ्चय कोषले २० अर्ब ८६ करोड ऋण लगानी गरेको छ भने अर्को एउटा वाइडबडी (नेपाली नाम मकालु) मा नागरिक लगानी कोषले १२ अर्ब ऋण उपलब्ध गराएको छ । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक अर्जुनकुमार गौतमका अनुसार निगमले यस संस्थालाई असार मसान्तसम्म १ अर्ब ९० करोड रुपैयाँ किस्ताबापत बुझाउन बाँकी छ ।

‘निगमले एउटा वाइडबडीको किस्ता असोजपछि तिरेकै छैन । दुइटा न्यारोबडीको चैतयताको रकम भुक्तानी भएको छैन,’ गौतमले कान्तिपुरसँग भने । कर्मचारी सञ्चय कोषले निगमलाई वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋण लगानी गरेको छ । एउटा वाइडबडीमा मात्रै १२ अर्ब लगानी गरेको नागरिक लगानी कोषका अनुसार निगमले ४० करोड त्रैमासिक किस्ता बुझाउनुपर्छ । तर, निगमले पुसमा ९ करोडमात्रै बुझायो । त्यसयता १ अर्ब ११ करोड हाराहारी बाँकी रहेको कोषकी उपप्रबन्धक अञ्जली आचार्यले बताइन् ।

असार मसान्तमा तिर्नुपर्ने जहाजलगायतको किस्ता तिर्न नसक्ने भएपछि यसले ठूला जहाजलगायत खरिदका लागि आधा दर्जनभन्दा बढी निकायबाट लिएको ३२ अर्बसमेत गरी कुल ३७ अर्ब दीर्घकालीन कर्जाको आकार बढदै जाने देखिन्छ । निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत ऋण प्रवाह गर्ने निकायलाई वार्षिक ३ अर्ब ६६ करोड ब्याज भुक्तानी गर्नुपर्छ ।

निगमले चालु आर्थिक वर्षमा चैतसम्म ११ अर्ब ३२ करोड हाराहारी आम्दानी गरेको देखिन्छ । यो टिकट सेल्स, ग्राउन्ड ह्यान्डलिङ, आन्तरिक उडान, कार्गो, भाडा आदिको कुल आम्दानी हो । अर्थ स्रोतले चारवटा जेट विमानको आम्दानी जेठसम्म ८ अर्ब ६४ करोड रहेको भनेको छ । तर, प्रधानमन्त्रीले नियुक्त गरेका कार्यकारी अध्यक्ष मदन खरेलले वाइडबडी जहाज खरिद गलत रहेको प्रमाणित गर्न अर्थात् आम्दानी नदेखाउने र खर्च अन्यत्र गर्ने गरेको निगमको सञ्चालक समितिका एक सदस्यले बताए ।

‘खरेलले कार्यकारी प्रमुख भएर आएपछि पहिलो सञ्चालक समितिको बैठकमै वाइडबडी जहाज किन्नु ठीक नभएको अभिव्यक्ति दिएका थिए,’ ती सदस्यले भने, ‘कार्यकारी अध्यक्ष जहाजलाई अधिकतम उपयोग नगरी धराशायी बनाउन लागिपरेको व्यवहारमा देखिन्छ ।’

कार्यकारी अध्यक्षले आउनेबित्तिकै पहिलो निर्णयबाट चार जना चार्टर्ड एकाउन्टेन्टलाई अन्यत्र सारेर अर्थ विभागमा साहित्य र कानुन पृष्ठभूमिका युवराज अधिकारीलाई पदस्थापना गरेका थिए । यसको सञ्चालक समिति तथा कर्मचारी संगठनहरूले विरोध गर्दै आएका छन् ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी अध्यक्ष खरेललाई नियुक्त भइसकेपछि भएका उपलब्धिलगायत कार्ययोजनाबारे जेठ ३० मा तीनदिने स्पष्टीकरण सोधेको थियो । कार्यकारी अध्यक्ष खरेलले निगमको अवस्था नसुध्रिएको अभिव्यक्ति दिएपछि मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले सोधेका हुन् ।

‘कार्यकारी अध्यक्षलाई उनी आइसकेपछिको उपलब्धि, उडान संख्या तथा ऋण तिर्ने कार्ययोजना लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ,’ मन्त्रालय मातहतको हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यले भने । १० दिन बितिसक्दा पनि निगमले मन्त्रालयलाई स्पष्टीकरण नबुझाएपछि मंगलबार पुनः अर्को ताकेता पत्र पठाइएको छ । कार्यकारी अध्यक्षले भने निगमको हवाई सञ्चालन विभागका प्रमुख रवीन्द्र शेरचनको नेतृत्वमा जवाफ दिन समिति बनाएका छन् ।

वाइडबडी विमान थपिएपछि जेट विमानको संख्या चार (दुइटा वाइडबडी/दुइटा न्यारोबडी) पुर्‍याएको निगमले हाल काठमाडौंबाट दिल्ली, मुम्बई, बैंग्लोर, क्वालालम्पुर, हङकङ, बैंकक, दोहा र दुबईमा उडान गर्दै आएको छ । यसले ३० वर्ष पुरानो एउटा बोइङ लिलामका लागि राखेको छ ।

उडान थप्दै
निगमले सातामा १४ उडान गर्दै आइरहेको दिल्ली रुटमा २१ उडान पुर्‍याउने भएको छ । उसले सोमबार विज्ञप्ति जारी गर्दै दिल्लीका लागि थप स्लट प्राप्त भइसकेको जनाएको छ ।

निगमले दिल्ली रुटमा प्रतिसाता ११ उडानमा हालै तीनवटा थपेर १४ पुर्‍याएको थियो । १४ उडानमध्ये ७ उडान न्यारोबडीमार्फत तथा ७ उडान वाइडबडीमार्फत हुने गरेको छ । त्यस्तै युनाइटेड अरब इमिरेट्सको दुबईमा सातामा ३ उडान गर्दै आएकामा एक उडान थपिने भएको छ ।

प्रकाशित : असार ११, २०७६ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×