कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामदारको स्वास्थ्य जाँच्न ९९ संस्था

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा संस्था छनोट भएको जानकारी आइतबार परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली सरकारलाई पठाउने भएको छ ।

‘मापदण्ड पूरा गरी छनोट भएका स्वास्थ्य संस्थाको सूची मलेसियालाई पठाउँछौं, उसको रेस्पोन्स के आउँछ, त्यसअनुसार अघि बढ्छौं,’ श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले कान्तिपुरसँग भने । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम मन्त्रालयले ९९ संस्थालाई अनुमति दिएको छ । यो अनुमतिसँगै कामदार मलेसिया जान रोकिएको पछिल्लो प्रमुख एक कारण टुंगिएको छ । मन्त्रालयका तर्फबाट खटिएको प्राविधिकसहितको विशेषज्ञ टोलीले २ सय ९० संस्थामध्ये मापदण्ड पूरा गरेकालाई मान्यता दिएको हो ।


मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सम्भवत: एक महिनाभित्र क्वालालम्पुरमै द्विदेशीय संयुक्त संयन्त्रको बैठक बसेर धेरै कुरा निर्क्योल हुने जानकारी दिए । उनले मेडिकल छनोट पनि कामदार पठाउने एउटा प्रमुख आधार भएकाले मलेसिया सरकारले तोकेको मापदण्डअनुसार नेपाल सरकारले छनोट गरेका स्वास्थ्य संस्थाबारे मलेसिया सरकारले निर्णय दिने बताए ।


मलेसिया कामदार पठाउन दुवै देशका टेक्निकल कमिटीको बैठकसहित अझै केही प्रक्रिया बाँकी भएको श्रम मन्त्रालयले जनाएको छ । श्रम सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधनमन्त्री एम. कुलासेगरनको अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलन क्रममा जेनेभामा असार ३ गते (जुन १८) भेट हुँदा एक महिनाभित्र टेक्निकल कमिटीको बैठक बस्ने कुरा भएको थियो । मलेसियासँग कात्तिक १२ गते भएको श्रम समझदारीअनुसार मेडिकलसहित कामदार जाँदा लाग्ने खर्च मलेसियाको रोजगारदाताले व्यहोर्नुपर्छ ।


श्रममन्त्रीस्तरीय निर्णयअनुसार असार १९ गते स्वास्थ्य संस्था छनोट भएको निर्णय शुक्रबार सार्वजनिक भएको थियो । पहिला मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ मेडिकल सूचीकरण भएपछि सिन्डिकेट भन्दै अरू स्वास्थ्य व्यवसायीले विरोध गरेका थिए । मन्त्रालयले चैत १८ गते सूचना संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो । हालको सूचीकरणमा ती ३७ मध्ये ३६ संस्था मादपण्डमा परेका छन् । मापदण्डमा १ सय ३८ संस्था परेका छैनन्, जसमध्ये पहिल्यै मापदण्ड पूरा नभएका ५३ संस्था थिए । मन्त्रालयका अनुसार सूचीकरणका लागि निवेदन दिएकामध्ये ४३ संस्थाले निवेदन फिर्ता लिएका छन् । सूचीकरणका लागि धरौटी जम्मा नगरेका, कुनै पनि सामान नभएका, सम्पर्कमा नआएका र अनुगमन नभएका ४ संस्था छन् । नेपाल मेडिकल व्यवसायी संघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले सिन्डिकेट तोकिएको बताए । मलेसिया सरकारले दिएको तथ्यांकमा अहिले मलेसियामा ३ लाख ६५ हजार नेपाली छन् ।


प्रकाशित : असार २२, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?