रोशनले संसार देखेपछि भने, ‘अब म स्कुल जान्छु’

प्रताप विष्ट

(हेटौंडा) — डा. सन्दुक रुइतले जब आँखाको पट्टी खोलिदिए, रोशन थिङ चिच्याए, ‘मैले सबैलाई देखें ।’ डा. रुइतको अनुहार र टाउको मुसारे । डा. रुइतले औंला देखाएर सोधे, उनले फटाफट गने । डा. रुइत दंग देखिए । थिङको अनुहारमा पनि खुसी छचल्किरहेको थियो । 

हेटौंडा उपमहानगरपालिका–१४ स्थित उत्तरपानीका १३ वर्षीय थिङका दुवै आँखा तीन वर्षदेखि बन्द थिए । आँखाले देख्न छाडदा उनी स्थानीय विद्यालयमा २ कक्षामा अध्ययन गर्दै थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालले एक साताअघि सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा हजुरआमा माइलीमाया थिङले रोशनलाई पिठ्युँमा बोकेर ल्याएकी थिइन् । चिकित्सकले परीक्षण गर्दा दुवै आँखा मोतियाविन्दु भएको पत्ता लाग्यो । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनको शल्यक्रिया गरियो । उनका दुवै आँखाको शल्यक्रिया डा. रुइतले नै गरेका थिए । उनको आँखाको पट्टी बुधबार खोलिएको हो ।

आँखा देख्नेबित्तिकै थिङले हजुरआमालाई खोजे । हजुरआमा नजिकै आएपछि दुवै मजाले हाँसे । उनलाई हजुरआमाले नै हुर्काउँदै आएकी छन् । ‘अब म स्कुल जान्छु,’ थिङले भने, ‘आँखा नदेखेर मात्र पढ्न जान नसकेको हो ।’

थिङसँगै शल्यक्रिया गरिएकी ९७ वर्षीया फूलमाया श्रेष्ठ आँखा देख्न थालेपछि खुसीले रोइन् । ‘म २ वर्षदेखि कुजो भएर बसेकी थिएँ,’ उनले डा. रुइतको हात समाउँदै भनिन्, ‘अहिले दुवै आँखा देखें, तिमी भगवान रहेछौं ।’ उनका दुवै आँखाको शल्यक्रिया मंगलबार डा. रुइतले नै गरेका थिए ।

बारा मधुवनकी श्रेष्ठलाई दुवै आँखाको शल्यक्रिया गर्न अस्पताल नै ल्याइएको थियो । हेटौंडा उपमहानगरपालिका–१४ का ७९ वर्षीय वीरबहादुर थोकर पनि आँखा देख्न थालेपछि खुसी छन् । उनले चार वर्षपछि आँखा देख्न पाएका हुन् । ‘घर भित्रबाहिर गर्न पनि सक्तिनथेँ,’ उनले भने, ‘अब बाहिरी संसार देख्ने भएँ ।’

मंगलबार र बुधबार गरेर २ सय जनाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको थियो । दुवै आँखाको शल्यक्रिया भने रोशन, फूलमाया र वीरबहादुरको मात्र गरिएको हो ।

मोतियाविन्दुका रोगी खोजी गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको उत्तरपानी, भार्ता, कालिकाटार, बाराको लालरतनपुर र सर्लाहीको रामानगर नि:शुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार २ सय जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये २ सय जना मोतियाविन्दुका रोगी रहेको अस्पतालका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । रोगीहरूलाई नि:शुल्क शल्यक्रिया गर्न अस्पतालले बसमा हेटौंडा ल्याएको थियो ।

‘अस्पतालले आँखाका बिरामीको मन जितेको छ, अब हाम्रो चुनौती उपलब्धिलाई जोगाउनु र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखारोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु हो,’ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले भने । अस्पतालमा तीन जना नेत्ररोग विशेषज्ञसहित ४० जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत् छन् । अस्पतालले मासिक १६ लाख रुपैयाँ बराबरको रकम शुल्कबापत संकलन गर्ने गरेको छ । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीमध्ये नयाँसँग दर्ता शुल्क ९० रुपैयाँ र पुरानोसँग ७० रुपैयाँ मात्र दर्ता लिने गरिएको छ । अन्य रकम अस्पतालले लिँदैन ।

प्रकाशित : असार १९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

नेदरल्यान्ड्स उपाधि भिडन्तमा

(एएफपी)

लियोन — महिला विश्वकपको फाइनल नेदरल्यान्ड्स र अमेरिकाबीच हुने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार राति नेदरल्यान्ड्सले स्विडेनलाई अतिरिक्त समयको खेलमा १–० ले हरायो । ज्याकी ग्रोनेनले निर्णायक गोल गरिन् । पेनाल्टी एरिया बाहिरबाट ९९ औं मिनेटमा ग्रोनेनले गरेको प्रहारमा स्विडेनी गोलरक्षक हेडभिज लिन्डालले बचाउ गर्न सकिनन् ।

ग्रोनेनको यो प्रतियोगितामा पहिलो गोल हो। दुवै टिमले खेलमा खासै राम्रा अवसर सिर्जना गर्न सकेन। अब आइतबार स्टेड डे लियोनमा अमेरिका र युरोपेली च्याम्यिन नेदरल्यान्ड्सबीच फाइनल हुनेछ। यसपल्ट दुई टिमको फाइनलका अर्थ उपाधि भिडन्त दुई महिला प्रशिक्षकबीचको खेल पनि हुनेछ।

अमेरिकी टिमको प्रशिक्ष्ँक लि एलिस छिन् भने डच टिमको जिम्मा सरिना वेगमनको हातमा छ। नेदरल्यान्ड्सको विश्वकपको फाइनल यात्रा निकै छिटो र नाटकीय रहेको छ। सन् २०१५ मा विश्वकपमा डेब्यु गरेको डच टिमले त्यति बेला अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। सन् २०१७ मा यही टिमले युरोपेली उपाधि जित्न सफल रह्यो।



प्रकाशित : असार १९, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्