कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलामी कार्यविधिमा ५ प्रकार

काठमाडौँ — मुलुक संघीयतामा गएपछि कसलाई कसरी सलामी र सम्मान दिने भन्ने प्रस्ट भइसकेको छैन । प्रहरी प्रधान कार्यालयले संघीयताको मर्मअनुसार हुने गरी प्रहरीको कवाजसम्बन्धी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसबारे मंगलबारदेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छलफल हुँदै छ । गृह मन्त्रालयसँगको समन्वयमा प्रधान कार्यालयले बनाएको पुरानो कार्यविधिमा भने ५ प्रकारका सलामीको व्यवस्था छ ।


राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र सभामुखलाई दिइने सलामीलाई ‘सम्माननीय सलामी’ भनिएको छ । मन्त्रीदेखि सांसदसम्मलाई दिइने ‘माननीय सलामी’ तोकिएको छ । आईजीपीदेखि डीआईजीसम्मलाई ‘जर्नेली सलामी’, राजदूतहरूलाई ‘महामहिम सलामी’ र सचिवहरूलाई ‘सचिव सलामी’ दिइने कार्यविधिमा उल्लेख छ । गृहसचिवलाई भने प्रहरी महानिरीक्षकसरह सलामीको व्यवस्था छ ।


राष्ट्रपति/उपराष्ट्रपतिलाई १ गुल्मदेखि गण वा बटालियनसम्मको सलामी दिने र यसमा ५० वा यसभन्दा धेरैको संख्यामा रहेको ब्यान्ड उपस्थित हुने कार्यविधि छ । त्यसको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षकले गर्नेछन् ।


प्रधानमन्त्रीलाई १ गुल्मदेखि ३ गुल्मसम्मले सलामी दिने व्यवस्था छ, जसमा ५० जना वा सोभन्दा माथिको ब्यान्ड रहनेछ । यस्तो सलामीको कमान्ड प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षकले गर्ने व्यवस्था छ ।


प्रहरी महानिरीक्षकको हकमा भने विशेष समारोहमा १ गुल्म वा सोभन्दा धेरैले सलामी दिने व्यवस्था छ । जसमा ५० जनाको ब्यान्ड खटिन्छन् । यसको कमान्ड प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षकले गर्छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको सलामीमा २ प्लाटुन वा सोभन्दा धेरै प्रहरी खटिनेछन् भने उपलब्धताअनुसार ब्यान्ड संलग्न हुनेछन् ।


जसको कमान्ड प्रहरी निरीक्षकले गर्ने व्यवस्था रहेको छ । त्यस्तै प्रहरी नायब महानिरीक्षकको सलामीमा एक प्लाटुन वा सोभन्दा बढी प्रहरी खटिने व्यवस्था छ भने ब्यान्डको संख्या उपलब्धताअनुसार रहने व्यवस्था छ । त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षकको हकमा भने सामान्य गारद र १२ जनाको डबल गारद र ६ जनाको सिंगल गारदको ब्यान्ड रहने व्यवस्था छ ।


२०७६ वैशाख १६ मा प्रकाशित राजपत्रले मर्यादाक्रम विभाजन गरेको छ । त्यसअनुसार पहिलो नम्बरमा राष्ट्रपति र अन्तिम अर्थात् २२ औं स्थानमा प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित तृतीय श्रेणी वा सोसरहका तहमा कार्यरत अधिकृत र सहायक सेनानीलाई राखिएको छ ।


मर्यादाक्रमको १६ औं स्थानमा महानगरपालिका उपप्रमुख (काठमाडौं महानगरपालिकाबाहेक), जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपमहानगरपालिकाका उपप्रमुख, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव एवं राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका अधिकृत, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारीहरू र विश्वविद्यालयका सहप्राध्यापक छन् ।


सलामीसम्बन्धी पुरानो कार्यविधिमा स्थानीय तहका अधिकारीलाई कस्तो सम्मान दिने भन्ने प्रस्ट उल्लेख छैन । कार्यविधिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, सभामुखदेखि प्रहरी महानिरीक्षकदेखि डीआईजीसम्म, राजदूतदेखि सचिव र क्षेत्रीय प्रशासकदेखि प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशसम्मलाई सलामीको व्यवस्था गरेको छ ।


राजपत्रअनुसार प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्ष दुवै एकै मर्यादाक्रम (१६ औं स्थान) मा छन् । प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार स्पष्ट व्याख्या नभए पनि सलामी अर्पण गर्ने कार्यविधि र मर्यादाक्रमलाई सँगै राखेर हेर्दा प्रजिअसरह गाउँपालिका अध्यक्षले पनि सम्मान पाउने देखिन्छ । उनले भने, ‘तर यस्तो सम्मानलाई सलामीका रूपमा कसरी अर्थ्याउने भन्नेबारे भने प्रस्टताको खाँचो देखिन्छ ।’


गृहप्रवक्ता रामकृष्ण सुवेदीले समारोह व्यवस्थापन निर्देशिकाले प्रहरी वा अन्य सुरक्षा कर्मचारीले कसलाई सलामी दिने र कसलाई दिन नपर्ने भन्ने व्याख्या गरेको बताए । उनले भने, ‘खेलकुद समारोहमा वा स्काउट लगायतका संस्थाले सलामी दिएको विषय गृह मन्त्रालय बोल्नुपर्ने विषय होइन ।’

प्रकाशित : असार १०, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?