कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेलको टिप्पणीप्रति चीन असन्तुष्ट

लक्ष्मी लम्साल

बेइजिङ — केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएको छ । केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन् ।

रेलको टिप्पणीप्रति चीन असन्तुष्ट

उनको आशयसँग मेल खाने गरी चिनियाँ पक्षले पनि बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसामु यस्तै संकेत गरेको छ । नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो ।


‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्,’ स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यस विषयमा निकै संवेदनशील भएको नेपाली टोलीले महसुस गरेको हुन सक्छ ।’ नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए । कामभन्दा कुरा बढी भइरहेको प्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।


बेइजिङस्थित नेपाली राजदूतावासका तर्फबाट नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी बैठकमा सहभागी मिनिस्टर सुशील लम्सालले भने, ‘केरुङ–काठमाडौं रेलमार्ग भौगोलिक रूपमा निकै जटिल भएकाले धैर्यपूर्वक तयारी गर्नुपर्छ ।’ नेपालले जतिसुकै हतारो गरे पनि अप्ठ्यारो ठाउँमा रेलमार्ग बनाउनुपर्ने भएकाले अध्ययन अझै जारी राख्ने मनस्थितिमा चीन पुगेको उनको भनाइ छ । बिहीबार बेइजिङमा सम्पन्न चौथो सचिवस्तरीय वार्ता टोलीले सम्भाव्यता अध्ययन (फिजिबिलिटी) खर्च, रेलवे सर्भेलगायत विषय पाँचौं चरणको वार्ताले टुंग्याउने निष्कर्ष निकालेको थियो ।


भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोली र चिनियाँ पक्षबीच भएको वार्तामा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा लाग्ने खर्चबारे निर्णय हुने अपेक्षा थियो । तर बैठकले प्राविधिक पक्षमा जोड दिएको छ । बाँकी विषय अर्को बैठकसम्मका लागि थाती राखेको लम्सालले जानकारी दिए ।


‘नेपालमा हुने पाँचौं बैठकमा मात्रै फिजिबिलिटी खर्च, रेलवे सर्भेलगायत कुरा टुंग्याउने सहमति भयो,’ उनले भने । बैठकमा चिनियाँ पक्षले फिजिबिलिटी अध्ययन गर्नुअघि प्राविधिक तयारीको कुरा उठाएको थियो । चिनियाँ पक्ष आफैंले प्राविधिक तयारी गरिरहेको जानकारी दिएको छ । ‘प्राविधिक अध्ययनको काम नसकिएका कारण फिजिबिलिटीको कुरा बिस्तारै हुन्छ,’ लम्सालले भने, ‘पूर्वसम्भाव्यता अध्ययन सकिएपछि र सम्भाव्यता अध्ययन गर्नुअघि प्राविधिक अध्ययन अझै बाँकी छ भन्ने उहाँहरूको बुझाइ थियो ।’


रेलमार्ग निर्माणका लागि प्राविधिक पक्षमा विशेष अध्ययन गर्नुपर्ने भन्दै चीनले सर्भेको गुणस्तर सुधार्ने, इन्जिनियरिङका अप्ठ्याराहरू घटाउने, भौगर्भिक जोखिम न्यूनीकरण गर्ने, सञ्चालन सुरक्षा र वातावरणीय प्रभाव कसरी कम गर्न सकिन्छ भन्नेतर्फ बैठकमा जोड दिएको थियो । यो काम पूरा भएपछि मात्रै फिजिबिलिटीको कुरा अगाडि बढ्ने कुरा चिनियाँ पक्षले राखेको थियो ।


चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुसङले नेपालमा रेलमार्ग विकासका लागि द्विपक्षीय सहयोगबारे हालसम्मका उपलब्धिको जानकारी दिएका थिए । बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता कार्कीले दुई देशबीच यातायात सम्पर्क विस्तारका लागि रेलमार्गको भूमिका महत्त्वपूर्ण रहने र नेपालमा रेलमार्ग क्षेत्रको विकासका लागि चीनले प्रदान गर्दै आएको सहयोगप्रति आभार प्रकट गरेको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


असार २ देखि चीन भ्रमणमा रहेको सचिवस्तरीय टोलीले विभिन्न रेलमार्ग सञ्चालनलगायतबारे अध्ययन पनि गरेको छ । नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी पाँचौं द्विपक्षीय बैठक काठमाडौंमा आयोजना हुनेछ । त्यसको मिति आपसी परामर्शमा तय गरिनेछ ।

प्रकाशित : असार ८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?