चार घर भाडामा लिएर भारतीयको ‘नेटवर्किङ व्यवसाय’ 

सीमा नाकाबाट फर्काइए केही युवायुवती
माधव ढुंगाना

(भैरहवा) — भारतको गोरखपुरमा सञ्चालित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिले अवैध ‘नेटवर्किङ व्यवसाय’ गर्न रूपन्देहीका विभिन्न ठाउँमा चारवटा घर भाडामा लिएर सेल्टर बनाएको भेटिएको छ । उक्त कम्पनीमा ‘व्यवसाय गर्न’ भन्दै भारत जान लागेका केही युवायुवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चार घरमा सेल्टर बनाइएको खुलासा भएको हो । 

बेलहिया नाका हुँदै भारत जाँदै गरेका आठ जनालाई नियन्त्रणमा लिएर सोधीखोजी गर्दा रूपन्देहीको सियारी गाउँपालिकामा थप चार जना रहेको खुलेपछि उनीहरूलाई फर्काइएको छ । प्रहरीले केहीलाई शुक्रबार अभिभावकको जिम्मा लगाएको छ भने केहीका अभिभावक आइनसकेकाले संरक्षणमै राखेको छ । उनीहरूसँगको सोधखोजकै क्रममा ओरियन्ट्स कम्पनीले व्यवसाय विस्तारका लागि रूपन्देहीमा चारवटासम्म घर भाडामा लिएर गतिविधि सञ्चालन गरेको पत्ता लागेको हो । ‘रूपन्देहीकै सियारी गाउँपालिका–७ हिरागन्जका थप दुई घर भाडामा लिएको भेटिएको छ,’ प्रहरी उपरीक्षक हृदय थापाले भने, ‘यसअघि कम्पनीले सिद्धार्थनगर–७ र देवदह–१० शंखरपुरमा दुई घर भाडामा लिएर सेल्टरका रूपमा प्रयोगमा ल्याएको भेटिएको थियो ।’

कम्पनीले आयुर्वेदिक औषधि व्यवसाय गर्ने भन्दै नेपालका विकट र दुर्गम स्थानका युवालाई सञ्जालमा आबद्ध गराई व्यापार गर्दै आएको छ । ‘सञ्जाल तीव्र गतिमा अघि बढेको देखिन्छ,’ थापाले भने, ‘यही ढंगले विस्तार हुँदै गए ठूलो परिमाणमा स्वदेशी पुँजी पलायन हुनेछ ।’ ठगिने नेपाली युवाको जमातबाट अनेक सामाजिक समस्या निम्तिने खतरा पनि उत्तिकै रहेको उनले बताए । महेन्द्रनगरका महेन्द्र माझी, काभ्रेका गोकुल रामदाम, रुकुम चौरजहारी–१४ का दिनेश वली, चौरजहारीकै नीरञ्जन थापा, करुणा पुनमगर, सुशीला खड्का, गीता केसी र गीता नामकै अर्की एक युवतीको समूह बिहीबार बिहान भारत जाँदै थियो । प्रहरीले सोधखोज गर्दा उनीहरूले ओरियन्ट्समा जान लागेको बताएका थिए । थप सोधखोज गर्दा जिल्लाभित्र भाडामा लिइएका थप दुई घरमा पनि केही व्यक्ति रहेको खुलासा भएको थियो । त्यसपछि सियारी गाउँपालिका–७ हिरागन्जस्थित गोमा अर्याल र अमुवास्थित अर्जुन भट्टराईको घर कम्पनीले भाडामा लिएर नेटवर्क विस्तारका लागि प्रयोगमा ल्याएको प्रहरीले फेला पारेको हो ।

रुकुमका शेरबहादुर बुढाथोकीले व्यापार गर्ने भनेर अर्यालको घर र अञ्जु मल्लले लोकसेवा तयारी कक्षा चलाउने उद्देश्यले भट्टराईको घर भाडामा लिएको प्रहरीको भनाइ छ । अर्यालको घरबाट रुकुम चौरजहारी–१ का खिमराज पुनमगर फेला परे । उनी कम्पनीमा जानका लागि त्यहाँ प्रशिक्षण लिन बसेका थिए । भट्टराईको घरबाट रुकुम सानोभेरी ४ की अञ्जु मल्ल, सल्यान कुबिन्डे–५ की जमुना राना र रुकुम सानोभेरीकी अञ्जना बीसी भेटिएका थिए । उनीहरू प्रशिक्षण सकेर सदस्य बन्न गोरखपुर जाने तयारीमा थिए ।

फर्काइएका मध्ये रामदामले उक्त कम्पनीमा ८ हजार भारु तिरेर एक साताको तालिम लिएका थिए । त्यसपछि १ लाख ५ हजार भारु तिरेर कम्पनीको सदस्य बनेका उनले कम्पनीबाट १५ हजार भारु बराबरको औषधि पाएका थिए । वली पनि तालिम लिई १ लाख २३ हजार भारु तिरेर कम्पनीको सदस्य बनेका थिए । उनले भने १२ हजार भारु बराबरको औषधि पाए । थापाले पनि तालिमपछि १ लाख ५ हजार भारु तिरेर सदस्य बनेको प्रहरीलाई बताए । उनले ३१ हजार भारु बराबरको औषधि पाएका थिए । पुनले पनि १ लाख १४ हजार भारु तिरेर तालिम लिएपछि १४ हजार भारु बराबरको औषधि पाइन् । उनीहरू दोस्रो पटकको तालिम र औषधि थप लिन जाँदै थिए । केसी र अर्की गीता ८ हजार भारु तिरेर तालिम लिएपछि सदस्य बन्न गइरहेको अनुसन्धानपछि प्रहरीले जनाएको छ ।

नवलपुरको कावासोतीस्थित कालीगण्डकी प्राविधिक शिक्षालयमा सँगै अध्ययन गरेका नरेन्द्र बुढाथोकीले आफूलाई बुटवलस्थित एक होटलमा जागिर खुलेको भन्दै उक्त कम्पनीमा पुर्‍याएको वलीले बताए । ‘होटलमा भ्याकेन्सी खुलेको छ, जागिर खाने हो भन्दै यहाँ ल्याए,’ उनले कान्तिपुरसँग भने, ‘सियारीमा ल्याएपछि एउटा फर्म भराएर तालिम लिन जानुपर्छ भनेर गोरखपुर पुर्‍याए ।’ १ लाख २३ हजार भारु तिरेर सदस्य बनेको उनले बताए । त्यसपछि कम्पनीले औषधि सकिएको भन्दै १२ हजार भारुको ओभरिङ, डिडक्सिङ वन, फुडफाइवालगायत औषधि दिएको थियो । प्रशिक्षार्थी र सदस्य बनेकालाई औषधिले शरीर पूरै सफा पार्ने, आँखा तेजिलो बनाउने र तागत दिने भनिएको छ । ‘घरमा पैसा भएर सदस्य बनेको होइन, बुवाआमाले ऋण खोजेर दिएको पैसा हो,’ उनले भने, ‘पछि धेरै तलब पाइने आशाले सदस्य बनियो ।’

उनीहरूलाई बिक्री गर्न दिइएको औषधिको आधिकारिकताबारे पनि केही खुलेको छैन । गुणस्तर परीक्षणतर्फ सरकारले चासो दिएको छैन । औषधि गाउँगाउँ पुगेको छ । आफूलाई सोल्टिना नाता पर्ने जाजरकोटकी रजनी पुनमगरले यस्तो काममा उक्साएको सल्यान कुबिन्डे ५ की जमुना रानाले बताइन् । ‘अरू दुई जनालाई पनि सदस्य बनाएपछि तलब आउने कम्पनीले बताएको थियो,’ उनले भनिन्, ‘त्यहाँ हामीलाई तालिममा सिकाउने सबै नेपाली हुनुहुन्छ ।’

प्रकाशित : असार ७, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै

गोरखपुरमा कार्यालय रहेको एक कम्पनीले ८ हजार भारुमा एक साता तालिम दिई औषधि खरिद गर्न लगाएर गाउँगाउँमा सदस्य बनाउन परिचालन गर्दै, नेपालबाट करोडौं रकम बाहिरिएको अनुमान
माधव ढुंगाना

(भैरहवा) — रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्‍याए ।

त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्‍याएर अरूलाई सदस्य बनाउने ।

दुर्गासिंह भने गोरखपुरको कुडाघाटस्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । दुर्गा पनि ८ हजार भारु तिरी एक साताको तालिम लिएपछि २० हजार भारुको औषधि किनेर गत पुसमा कम्पनीको सदस्य बनेका थिए ।

राजविराज नपा–१४ का रामकृष्ण ठाकुर प्यूठानको भिंग्री भन्ने ठाउँमा कपाल काट्ने व्यवसाय गर्छन् । नजिकको साथीले लोभ्याएपछि उनी पनि त्यस कम्पनीको कार्यालयमा पुगे । तालिम लिए । औषधि किनेर सदस्य बने र अरूलाई सदस्य बढाउन जुटे । सन्तकुमार, दुर्गासिंह, रामकृष्ण अहिले प्रहरी नियन्त्रणमा छन् । प्रतिबन्धित नेटवर्क व्यवसायमा संलग्न भएको र अरूलाई पनि आबद्ध गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको यसमा आबद्धताको सूचना भने प्रहरीलाई ओरियन्टस ग्लोबल मार्केटिङको तालिममा जान लागेकाहरूले दिएका हुन् । गत जेठ १० गते सुनौली नाका हुँदै आउँदै गरेका ८ जना नेपाली युवतीलाई प्रहरीले सोधपुछ गर्दा गोरखपुरको ओरियन्टस ग्लोबल मार्केटिङबाट तालिम लिएर फर्केको जवाफ आयो । प्रहरीले थप चासो देखायो ।

ती युवतीले दिएको सूचनाका आधारमा प्रहरीले भोलिपल्टै सिद्धार्थनगर–७ स्थित एउटा घरमा खनतलासी गर्दा १३ जना युवा भेटिए । ती सबै तालिम लिएर उक्त कम्पनीको सदस्य बन्न गोरखपुर जाने तयारीमा थिए । घरको फ्ल्याट कम्पनीबाटै भाडामा लिइएको थियो । जेठ २४ गते पनि सुनौली नाका हुँदै भारततर्फ जान लागेका आठ/नौ जना नेपाली युवतीको समूह देखेपछि बेलहियामा प्रहरीले रोकेर सोधखोज गर्‍यो । सबैले गोरखपुरको ओरियन्टस ग्लोबल मार्केटिङमा तालिम लिन जान लागेको बताए । प्रहरीले थप सोधखोज गर्‍यो ।

युवतीको समूहबाट प्राप्त सूचनाका आधारमा तत्कालै देवदह–११ शखरपुरस्थित एक घरमा खनतलासी गर्दा १४ जना युवती र १४ जना युवक फेला परे । उनीहरू सबै नेपाली थिए । तीमध्ये कोही अधिकांश ओरियन्टस ग्लोबल मार्केटिङमा तालिम लिन र सदस्य बन्न जाने क्रममा थिए भने कोही तालिम लिएर फर्केका थिए । त्यहाँ पनि एउटा सिंगै घर उक्त कम्पनीले भाडामा लिएर प्रयोग गरेको थियो । फेला परेकामध्ये अधिकांशलाई अभिभावकको जिम्मा लगाएर प्रहरीले घर पठाइदिएको थियो ।

तालिम लिन र सदस्य बन्न उक्साउने तीन जनालाई नियन्त्रणमा लिई कारबाही थालेको छ । ती हुन्, सन्तकुमार, दुर्गासिं र रामकृष्ण । ‘सोधपुछका क्रममा हजारौं नेपाली त्यस कम्पनीमा पुग्ने गरेको थाहा पायौं । सातादस दिनमै करोडौं नेपाली रुपैयाँ त्यहाँ जम्मा भइरहेको अनुमान छ,’ रूपन्देहीका एसपी हृदय थापाले भने । उनका अनुसार उनीहरूले आफू जसरी सदस्य बनेका छन्, त्यसरी नै प्रलोभन देखाएर गाउँका युवालाई कम्पनीमा पुर्‍याउने गरेका छन् ।

नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीय कम्पनीका लागि नेपालमा सञ्जाल विस्तारमा सक्रियको संख्या कति छ भन्ने कतै लेखाजोखा छैन । सदस्य बनिसक्दा पनि धेरैलाई कम्पनी कस्तो हो भन्ने थाहै छैन । ‘जति धेरै सदस्य बनाउन सक्यो उति धेरै कमिसन बढदै जाने भनिएकाले म लोभिएँ,’ भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका सन्तकुमारले सुनाए ।

नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ । तर कारोबारीले भारतको गोरखपुर, बनारस र कुशिनगरलगायतमा विभिन्न नामका कम्पनी खडा गरेर नेपालीलाई नै नेटवर्किङ व्यवसायको जालोमा पारिरहेका छन् । यस्ता कम्पनीले नेपालमा घर नै भाडा लिएर सेल्टरका रूपमा प्रयोग गर्ने गरेका छन् ।

यस्ता सेल्टर कहाँ कति छन्, खुलिसकेको छैन । उनीहरूले औषधि र कपडा व्यवसाय देखाउँछन् । कम्पनी भारतमा रहे पनि त्यहाँका नागरिक सदस्य बनेको पाइँदैन । ‘नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित देखिन्छन्,’ एसपी थापाले भने, ‘उनीहरूले गाउँका सोझासाझा युवायुवतीलाई धेरै कमाइ हुने लोभ देखाएर फसाइरहेका छन् ।’

यसअघि पनि धेरै भारतीय कम्पनीबाट नेपाली ठगिने गरेका थिए । प्रहरीले कुनै एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरेको देखिन्छ । एसपी थापाका अनुसार ओरियन्टसमा सदस्य बन्न नेपालीले ८० हजारदेखि २ लाख भारुसम्म तिरेका छन् । अधिकांशले आफ्ना नातेदार र नजिकका साथीभाइलाई सदस्य बनाउने गरेका छन् । धेरैअघि सदस्य बनेको भए पनि ठूलो परिमाणमा कमिसन र धेरै तलब पाएको कोही पनि भेटिएका छैनन् ।

प्रहरी अनुसन्धानअनुसार रोल्पा, रुकुम, प्यूठान, कालिकोट, दाङ, सप्तरी, नवलपरासी, कपिलवस्तु, धादिङ, गोरखा, स्याङ्जा, अर्घाखाँची, बागुलङ, पर्वत, काभ्रे, झापा, ललितपुरलगायत जिल्लाका युवा भारतीय नेटवर्किङ कम्पनीको सदस्य बनेका छन् । ‘हजारौं नेपाली युवाले करोडौं लगानी गरिसकेका छन्,’ एसपी
थापाले भने ।

पाँच सञ्चालकविरुद्ध मुद्दा
रूपन्देही प्रहरीले डेढ वर्षअघि भारतीय भूमिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी हजारौं नेपालीलाई ठग्दै आएका पाँच जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । ती पाँचैजना नेपाली नागरिक थिए । प्रहरीले संगठित रूपमा ठगी अभियोगमा चलाएको उक्त मुद्दा अदालतबाट फैसला हुन बाँकी छ ।

मुद्दा चलाइएकामध्ये लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा र दाङ लमही नगरपालिका–४ का कुशलराम चौधरी, धादिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर धरौटीमा छुटेका छन् ।

काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–३ का चन्दितसिंह मोक्तानलाई पाल्पा र बाराको निजगढ नगरपालिका–१२ का दावा लामालाई कपिलवस्तु कारागारमा चलान गरिएको छ । लामा र चौधरी गोरखपुरमा ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालि, मगर बनारसमा विन विन ट्रेडमार्ट प्रालि तथा मोक्तान र दावा कुशिनगरस्थित फुलटन ट्रेडमार्ट प्रालिका सञ्चालक रहेको दाबी प्रहरीको थियो ।

एकै व्यक्तिबाट ३ लाखभन्दा धेरै रकम असुल्ने गरेको बयान पीडितले प्रहरीसमक्ष दिएका थिए । दर्पण लामा र कुशलराम चौधरीबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ३९ जनाले जाहेरी दिएका थिए । यस्तै, ज्ञानेन्द्र मगरविरुद्ध २३ र र दावा लामाविरुद्ध १८ जनाले ठगिएको भन्दै पीडितले उजुरी गरेका थिए ।

उनीहरूले ८ हजारदेखि १० हजार भारु लिएर सदस्य बनाउने र साता दिन तालिम दिएर सदस्य खोज्न लगाउने गरेका थिए । उनीहरूलाई थप सदस्य बनाउन सके रकम फिर्ता हुने र नबनाए सबै लगानी फिर्ता नहुने बताइएको थियो । सदस्य बन्न जानेलाई कुनै स्थानको ठूलो महल देखाएर कम्पनीबाट कमिसन आउन थालेपछि खरिद गरेकोभन्ने गरिन्थ्यो ।

५ नम्बर प्रदेश योजना आयोग उपाध्यक्ष प्रकाश श्रेष्ठ नेटवर्किङ व्यवसायमा कसैलाई संलग्न गराउनु गलत रहेको बताउँछन् । ‘नेटवर्किङ व्यवसाय नेपालमा प्रतिबन्ध छ । विदेशी विनिमय ऐनअनुरूप नेपाली नागरिकले बाहिरी देशमा पुँजी जम्मा गर्न पनि मिल्दैन,’ श्रेष्ठले भने । उनले भारतमा रहेका नेटवर्किङ कम्पनीका कारण स्वदेशको पुँजी पलायन हुँदा शोधनान्तर घाटामा असर पुग्ने र लगानीयोग्य पुँजीको अभाव खेपिरहेका स्वदेशी वित्तीय संस्थालाई अझ समस्या हुने बताए ।

प्रकाशित : असार ४, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×