अतिक्रमित ३२ रोपनी हलेसी गुठीकै 

डम्बरसिं राई

खोटाङ — दशकअघिदेखि बसोबास र किनबेच गर्दै अतिक्रमणमा परेको हलेसी गुठीको जग्गा फिर्ता हुनुपर्ने ठहर भएको छ । हलेसी मन्दिर समितिले आफ्नो जग्गा अतिक्रमणमा परेपछि गुठी संस्थानलाई जानकारी पठाएको थियो । संस्थानले साबिक हलेसी महादेवस्थान गाविस–४ को ३२ रोपनी गुठीकै रहेको पत्राचार गरेपछि त्यसविरुद्ध स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए । 

जिल्ला न्यायाधीश किशोर घिमिरेको इजलासले गुठीकै निर्णयलाई सदर गरेको खोटाङ जिल्ला अदालतका स्रेस्तेदार लालबहादुर कार्कीले बताए । ‘गुठी संस्थानले हलेसीको जग्गा व्यक्तिको होइन गुठीको हो भनेको थियो । त्यो निर्णय चित्त नबुझाएकाको निवेदनमा अदालतले सबुत प्रमाणका आधारमा संस्थानकै निर्णय सदर गरेको छ,’ उनले भने, ‘स्वामित्वका विषयमा अदालतले प्रस्ट पारेपछि अब जग्गा संरक्षणको जिम्मा गुठीकै हो ।

हलेसी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राईका अनुसार हलेसी महादेव गुठीको नाममा भएको साबिक हलेसी महादेवस्थान गाविस–४ का कित्ता नम्बर ५०, ५२, ७०, ७२, ३५१, ३७९, ८८, ८९, ९०, १७३, ३७१, २६८, ३७८, ३८३, ७९८, ८०१, ३७३, १०५७, १०५८, २८३, ३८२, ९८४, ९९५, ३२, १८८, २२५, २९७, १०४६, ८००, र ३६८ गरी ३२ रोपनी जग्गा अतिक्रमणमा परेको हो । ‘जग्गा फिर्ता गराउन समितिले लामो समयदेखि मुद्दा मामिला खेप्दै आएको थियो,’ उनले भने, ‘अब अदालतले पनि स्वामित्व प्रस्ट पारिदियो ।’ उक्त जग्गाबाहेक पनि हलेसी मन्दिरको नाममा २६ रोपनी १ आना जग्गा रहेको कागजातबाट देखिने उनले बताए ।

मन्दिरको जग्गा अतिक्रमण भएयता झन्डै एक दशकदेखि चल्दै आएको मुद्दाले बल्ल निकास पाएको स्थानीय गजुरमान राईको भनाइ छ । अदालतले स्वामित्वका विषयमा फैसला दिएकोबाहेक पनि जग्गाहरू विभिन्न कालखण्डमा अतिक्रमणमा परेकाले त्यसको समेत छिनोफानो हुने हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।

‘हामी अहिले गुरुयोजना बनाइरहेका छौं,’ उनले भने, ‘त्यसअनुसार हलेसीथान वरपरको दुई सय मिटरभित्रका घरजग्गाको उचित मुआब्जा दिएर अन्यत्र व्यवस्थान गर्छौं ।’

धेरै वर्षअघि राजा वीरेन्द्रको हलेसी भ्रमणका बेला गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका आठ घरघडेरीलाई मुआब्जा दिएर बाहिर पठाइएको थियो । त्यसबेला मुआब्जा लिएर पनि घरजग्गा खाली नगरेकाहरूका कारण अहिलेसम्म समस्या रहेको स्थानीयलेबताएका छन् ।

त्यसबेलाको गुरुयोजनाका लागि रोक्का गरिएका जग्गा पनि पछि फुकुवा गरेर किनबेच भएको हलेसी विकास समितिका पूर्वनिर्देशक तामन राईले बताए । ‘त्यसबेलाको समितिले कडाइ गर्न नसक्दा अहिलेसम्म गुठीको जग्गाबाट अतिक्रमण हट्न नसकेको हो,’ उनले भने ।

त्यसो त हलेसी मन्दिर आसपासमा घर तथा सडक निर्माणले समेत हलेसी महादेवस्थानको क्षेत्र साँघुरो पार्दै लगेको छ । हलेसी गुफाको मुखैमा बौद्धमार्गीको विशाल गुम्बा पनि बनाइएको छ । गत बिहीबारदेखि हलेसी महादेव गुफाका संरचना पुनर्निर्माण सुरु भएको छ । करिब ७३ लाखको बजेटमा गुफाभित्र भर्‍याङ र घेराबारा पुनर्निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : असार ३, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विदेशबाट फर्किएर चप्पल उद्योग

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले घरमै चप्पल कारखाना सञ्चालन गरेका छन् । वैदेशिक रोजगारबाट २१ वर्षमा फर्केका विश्वकर्माले चप्पल उद्योग खोलेका हुन् । उद्योगबाट उनले मासिक ४५ हजार कमाउँछन् ।

विश्वकर्माले २०५४ सालदेखि साउदी र कतारमादुई दशक बढी समय बिताएका थिए। घरमै उद्योग सञ्चालन गरेपछि सबैले हौसला दिएको विश्वकर्माले सुनाए। यसबाट आम्दानी पनि राम्रो भएकाले घरपरिवारसमेत खुसी भएको विश्वकर्माले बताए। ‘अब भने घरमै राम्रो आम्दानी गर्न सुरु गरेको छु’ उनले भने।

समृद्धि बहुआयामिक उद्योग नामको चप्पल उद्योग सञ्चालनले आफन्तसमेत खुसी भएको विश्वकर्माको भनाइ छ। ‘आफन्तबाट टाढिएर विदेशमा कमाउनु भन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द मिलेको छ’ विश्वकर्माले भने–‘अहिले वास्तविक जिन्दगीको अनुभूति भएको छ।’ उनले उत्पादन गरेको चप्पल दिक्तेलबजार लगायत बजारहरुमा बिक्रीका लागि पठाइन्छ। अन्य पालिकाहरुमा समेत बजार विस्तार गर्ने उनको योजना छ।

आइतबार उक्त उद्योगको उद्घाटन कार्यक्रममा बौल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले राजनको मेहनतले अरुलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने बताए।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले विश्वकर्माको चप्पल उद्योग नमुना उद्योगको रुपमा विकास गर्नु पर्ने तर्क राखे। यसका लागि नगरपालिकाले सहयोग गर्नु पर्ने राईको धारणा छ। ‘औद्योगिक क्षेत्रको विस्तार नै समृद्धिको पूर्वाधार भएकाले यसलाई प्रबर्द्धन गर्नु पर्छ’ राईले भने–‘यसका लागि नगरपालिका लगायत सबै पक्षको सहयोग खाँचो छ।’

प्रकाशित : असार १, २०७६ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×