पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन
चितवन — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान हृदयघातबाट निधन भएको छ ।
नेता पौडेलका सहयोगी रहेका ओमनाथ पाण्डेका अनुसार बिहान पौने ६ बजे बेहोस भएर लडेका पौडेललाई सवा सातबजे चितवनको माडीस्थित बघौडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
‘उहाँ घर बनाउने क्रममा हुनुहुन्छ । बिहान उठेर आगनमा सामान्य काम गर्दा बोहोस भएर लड्नु भएछ । साथमा रहेका दुईजना साथीहरुले पाँचसय मिटर परेको बघौडा अस्पताल दौडाउनु भयो । चिकित्सकहरुले सवा सातमा उहाँको निधन भएको घोषणा गरे’ पाण्डेले भने ।
२०२३ सालमा स्याङ्जामा जन्मेका पौडेलको परिवार ३४ सालदेखि चितवनमा बसोबास गर्दै आएको छ । उनी नेकपाका केन्द्रीय सदस्य थिए ।
पौडेल दोस्रो संविधान सभामा समानुपातिक सभासद् चयन भएका थिए । पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री भएका थिए । हाल उनको बसोबास माडी–५ नयाँ पिपरियामा थियो । श्रीमती र दुई छोरी रहेका पौडेलको माडीमै दाहसंस्कार हुने नेकपा माडीका नेता नारदमणि पौडेलले बताए ।
दाहसंस्कारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता नारायणकाजी श्रेष्ठ पनि आउने उनले जानकारी दिए ।
प्रकाशित : जेष्ठ ३१, २०७६ ०८:४७